हुवावेको प्रविधिमा बेलायत चिन्तित



लन्डन, (एजेन्सी)
बेलायती रक्षा मन्त्री गेविन विलियम्सनले बेलायतको ५ जी टेलिकम नेटवर्कका लागि प्रविधि उपलब्ध गराइरहेको चिनियाँ कम्पनी हुवावेलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको टाइम्स अखबारले जनाएको छ।

विश्वकै सबैभन्दा ठूलो टेलिकम उपकरण उत्पादक हुवावेलाई चिनियाँ सरकारसँग यसको सम्बन्धका कारण पश्चिमा राष्ट्रहरूमा सघन जाँचबाट गुज्रनु परिरहेको छ। पश्चिमी राष्ट्रहरूले उसको उपकरण बेइजिङले जासुसका लागि प्रयोग गरेको हुन सक्नेमा चिन्ता व्यक्त गरिरहेका छन्। तर कम्पनीले भने ती आरोपहरूलाई लगातार अस्वीकार गर्दै आइरहेका छन्।

बेलायतको मोबाइल नेटवर्क अपग्रेडमा हुवावेलाई सहभागी हुन अनुमति दिनु अगाडि सुरक्षा खतराको सघन परीक्षण हुन आवश्यक भएको विलियम्सनले बताए। हुवावेको विषयमा यसरी सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्ने उनी बेलायतका पहिलो वरिष्ठ मन्त्री भएको टाइम्सले जनाएको छ।

बेलायतमा ५ जी नेटवर्क उपलब्ध गराउने हुवावेलाई लिएर म अत्यन्तै चिन्तित छु, केही कुराहरू छन् जसमा हामीले अत्यन्तै निकटबाट हेर्नुपर्ने हुन्छ,’ उनलाई उद्धृत गर्दै अखबारले जनाएको छ।

आफ्ना साझेदारहरू अस्ट्रेलिया र अमेरिकाले ५ जी नेटवर्कको अत्यधिक सुरक्षा सुनिश्चित गर्न के गरेका छन् भन्ने कुरा हेर्नुपर्ने उनले बताए। हालै खुलासा भएअनुसार चिनियाँ राज्यबाट कुनै प्रकारको गतिविधि भइरहेको छ वा छैन भन्ने कुराको पहिचान हुनुपर्ने उनले बताए।

अमेरिकी बजारबाट हुवावेलाई वञ्चित गराउन अमेरिकाले कदम चालिसकेको छ भने अस्ट्रेलियाले गत अगस्टदेखि नै ५जी नेटवर्कका लागि उपकरण आपूर्ति गर्न प्रतिबन्द लगाइसकेको छ।

बेलायतको गुप्तचर निकाय एमआई ६ प्रमुख अलेक्स योगरले यसै महिनाको पूर्वाद्धमा ५जीमा चिनियाँसँगको साँठगाँठलाई लिएर बेलायतले केही विषयमा छलफल गर्नुपर्ने बताएका थिए। यद्यपि यो विषय उदयमान प्रविधिमा चिनियाँ भावी प्रभुत्व ठूलो मुद्दाका रूपमा रहेको छ।

चीनले हुवावेलाई लिएर बेलायतले देखाएको सुरक्षाकोे चिन्ता ‘जरासम्म पुगेको गौरव र पक्षपाति‘ भएको आरोप लगाएको छ। उक्त कम्पनीका प्रमुखले पनि आफ्नो फर्म विरुद्ध विदेशमा भइरहेको व्यवहार अत्यन्तै पक्षपातपूर्ण भएको बताएका छन्।

हुवावेको प्रविधिमाथि चिन्ता व्यक्त गर्ने अन्य राष्ट्रहरूमा जापान, न्युजिल्यान्ड र क्यानाडा पनि परेका छन्।

प्रतिक्रिया दिनुहोस्