अमेरिकाका सबैभन्दा पाको उमेरका ओभर्टनको निधन



वासिङ्टन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाका सबैभन्दा पाको उमेरका तथा दोस्रो विश्व युद्धका सैनिक योद्धाको १ सय १२ वर्षको उमेरमा टेक्सासमा निधन भएको छ। रिचर्ड ओभर्टनले विश्व युद्धको दौरान तीन वर्षसम्म काला जातिको मात्र सेना सम्मिलित सैनिक युनिटमा काम गर्ने क्रममा प्रशान्त क्षेत्रमा कमब्याट अपरेसनमा सरिक भएका थिए। उनलाई सन् २०१३ मा भेटरान डेमा तत्कालिन राष्ट्रपति बाराक ओबामाले सम्मान गरेका थिए।

उनले स्थानीय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा भनेका छन्– ‘मेरो लामो आयुका लागि म भगवानलाई धन्यवाद दिन चाहन्छु। तर यसमा व्हिस्की र सिगारको पनि केही हात छ। मैले अठार वर्षको उमेरदेखि सिगार खाँदै आएको छु। म अझै पनि दिनको १२ वटा सिगार पिउँछु।’ सन् १९०६ मा जन्मेका उनी विश्वका भने तेस्रो सबैभन्दा पाको उमेरका व्यक्ति भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। उनले करिव तीस वर्षको उमेरमा १८८७औं काला जातिका मात्र सरिक एन्जिनियर एभिएसन बटालियनमा स्वयंसेवक सैनिकको रूपमा सेवा गरेका थिए।

सन् १९४१ मा जापानले आक्रमण गर्दा उनी पर्ल हार्वरमा तैनाथ थिए। सन् २०१३ मा राष्ट्रपति ओबामाले भनेका थिए– ‘उनले पर्ल हार्वर, ओकिनावा र आईओ जिममा पनि काम गरेका थिए। उनले भगवानको कृपाले मात्र त्यहाँको युद्धबाट आफू बचेको बताएका छन्। ओभर्टनले एउटा अन्तर्वार्तामा आफ्नो स्मरण यसरी सुनाएका थिए, ‘हामी फक्सहोलमा फसेका थियौं। हाम्रा टाउका माथिबाट गोली गइरहेका थिए। युद्ध भूमिबाट थुप्रै लाश थान्को लगाउने काम पनि गरियो।’ उनले आफ्नो जीवनकालको अधिकांश समय अस्टिनमा बिताएका थिए। गत वर्ष उनको १ सय ११ औं जन्मदिनको उपलक्ष्यमा अस्टिन नगरपरिषद्ले सत्तरी वर्षभन्दा लामो समयदेखि उनी बसोबास गर्दै आएको स्ट्रिटको नाम रिचर्ड ओभर्टन एभेन्यु राखेको थियो।

टेक्सासका गर्भनर ग्रेग एब्बोटले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘दयालु र रमाइलो तथा मिलनसार बानी बेहोराका उनलाई चिन्न पाएकोमा म आफूलाई गौरान्वित ठान्दछु। उनी अमेरिकी आदर्श र टेक्सासका लिजेन्ड हुन्।

प्रतिक्रिया दिनुहोस्