समालोचना क्षेत्रका कुशल शिल्पी गोपीकृष्ण



मोहन दुवाल
तानसेन नगरपालिका–१०, गैह्रागाउँ, पाल्पामा जन्मेका गौतम थरका गोपीकृष्ण शर्माले नेपालबाट एम.एड. नेपाली विषयमा र वाराणसीबाट संस्कृतमा व्याकरणाचार्य उत्तीर्ण गरी स्वर्णपदक प्राप्त गरिसकेका छन्। वि.सं १९९७ माघ २२ गते पिता पं. रुद्रनाथ शर्मा तथा माता नन्दकुमारीका छोरा भई जन्मेका यिनी शिवकुमारीको प्रेमप्रसङ्ग पाएर छोरा रामचन्द्र गौतम र छोरीहरू उमा, मञ्जु, रमा र पद्मा पाएर दङ्गदास छन्। भानुभक्तको रामायण पढ्न पाएर साहित्यको अनुभूति गर्न पाएका यिनी लेखनाथका बुद्धिविनोद र सत्य–कलि संवादजस्ता काव्यहरूको स्वाध्यायनका साथै बेलाबखत हुने साहित्य गोष्ठीबाट लेखनमा प्रेरणा प्राप्त भएको सन्दर्भ सुनाउने गर्छन्।

२००९ सालतिर नै साहित्यिक मन बोकेर देखा परेका यिनी संस्कृत भाषामा पनि कविता लेख्ने गर्छन्। वि.सं. २०१८ सालतिर नेपालको चहलपहल पद्यकविता छात्रदूत पत्रिकामा प्रथमचोटि प्रकाशित गराएर साहित्य जगत्मा देखा परेका यिनी बनारसमा रहँदाबस्दा संस्कृत व्याकरण र साहित्यको अध्ययनमा तल्लीन थिए। निबन्ध, प्रबन्ध, समालोचना, भाषाविज्ञानका पारखी लेखक गोपीकृष्ण शर्माका यसै विषयका थुप्रै पुस्तकहरू प्रकाशित पनि छन्।

नेपाल परिचयका सहलेखक भई २०३० सालतिर झुल्केका यिनका प्रकाशित कृतिहरूमा नेपाली निबन्ध परिचय (२०४०), सरल निबन्ध परिचय (२०४८), नेपाली निबन्ध भाग–२ (२०४८) र मेरो अमेरिका यात्रा (२०६३) प्रकाशित छन्। अवलोकन र विवेचना (२०४४), संस्कृत साहित्यको इतिहास (२०५३), डा. शास्त्रदत्त पन्तका केही ऐतिहासिक कृतिहरू (२०७०) र पर्यवेक्षण (२०७५) मा प्रकाशित समालोचनाका उल्लेख्य कृतिहरू हुन्। केही भाषा केही साहित्यको पनि सहलेखन गर्न पाएका यिनको सम्पादनमा सम्झनाका छालहरू पुस्तक पनि प्रकाशित छ। पाठ्यक्रम पत्रिकाको समेत सम्पादक भई सेवा पुर्याइसकेका यिनका थुप्रै लेख–रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

निबन्धकार र विवेचकका रूपमा चर्चा गर्नयोग्य लेखक गोपीकृष्ण सरल मात्र छैनन्, अध्ययनशील व्यक्तित्वका रूपमा चिरपरिचित छन्। बनारसको संस्कृत विश्वविद्यालयबाट स्वर्णपदकसमेत प्राप्त गरिसकेका यिनी महेन्द्र विद्याभूषण, अर्जुन पदक, झपट पुरस्कार आदिबाट सम्मानित भइसकेका साहित्यकार व्यक्तित्व हुन्। नेपाली बृहत् शब्दकोशको सहसम्पादनमा सक्रिय रहेका यिनले नेपाली निबन्ध भाग २ को सम्पादन कार्यमा पनि सक्रिय रहेर सिर्जनशील सेवा पुर्याएको देखिन्छ।

वि.सं. २०१९ मा वाराणसेय संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्यमा सर्वप्रथम भएबापत स्वर्णपदक पाएका यिनले वि.संं २०२० मा महेन्द्र विद्याभूषण प्राप्त गरेका हुन्। वि.सं. २०४५ मा झपट पुरस्कार लिन सफल यिनले वि.सं. २०५४ मा दीपा–जनमत पुरस्कारबाट बनेपामा सम्मान प्राप्त गरेका हुन्। वि.संं. २०१८ तिर पद्मोदय हाइस्कुल, तानसेनमा नेपाली तथा संस्कृतका शिक्षक भएका यिनी २०१९ सालमा त्रिभुवन कलेज, पाल्पामा आंशिक शिक्षक र २०२१ सालदेखि स्थायी लेक्चरर भएका हुन्। २०३० सालदेखि सो कलेजमै तथा त्रिभुवन क्याम्पस, पाल्पामा उपप्राध्यापक २०३८ सम्म भएर पछि सहप्राध्यापक अनि २०५३ सालदेखि प्राध्यापक भई २०५९ माघसम्म त्रिविवि कीर्तिपुरमा सेवारत भएको देखिन्छ।

सरल, शिष्ट र अध्ययनशील भन्न सुहाउने गोपी सरका भावनाहरू सुन्दर र मनोरम देखिन्छन् मात्र होइन, यिनका भावनाहरू कोरा र भावनात्मक पनि छन्। आदिकवि भानुभक्तका कविताहरू पढेर कविता मन परेका यिनी लेखनाथ, लक्ष्मीप्रसाद र बालकृष्ण समका साहित्यिक भावना र चेतनाबाट आफू विशेष प्रभावित भएका कुराहरू सुनाउने गर्छन्। विजय मल्लका नाटकहरू र माधव घिमिरेका कविताहरूबाट पनि विशेष प्रभावित यिनी विदेशी साहित्यकारहरूमा अरस्तु, सेक्सपियर, इब्सन, बर्नार्ड शा, स्ट्रिन्वर्ग, आचनेस्को, रिचर्डस् र ओलिनबाट विशेष प्रभावित छन्।

रातो रङ्गका पारखी गोपीकृष्ण शर्मा सात्विक खाना प्रायः दूध, दही, घिउ र सागपात खान पाउँदा रमाउँछन्। पढ्नु र लेख्नु नै यिनको अम्मल हो। समालोचनाको गहकिलो कृति र काव्य रचना गर्ने यिनको धोको हो। जीवनप्रतिको दृष्टिमा यिनको टिप्पणी यस्तो छ– ‘जीवन गतिशीलताको पर्याय हो। राम्रो विचार र सुधारमुखी चिन्तनले यसलाई सुधार्नुपर्छ र आफ्नो क्षेत्रबाट परोपकारमा संलग्न हुनुपर्छ। धार्मिक जीवन उत्तम।ु यस्तै भावना र तरङ्गमा रम्न जानेका यिनी मनमनमा सधैँ विश्वास साट्न रमाउँछन् र सुधारकै लागि जीवनलाई डोर्याउन रुचाउँछन्।

जीवनका ऊर्जाशील क्षणहरू शिक्षण र प्राध्यापनमा समर्पित गरेका यिनी फुर्सदका क्षणहरूमा साहित्य लेखेर, साहित्य भनेर, साहित्य गरेर र साहित्य बनेर साहित्य सेवा गर्न रुचाउँछन्। ‘साहित्य भावनाको कलात्मक अभिव्यक्ति होु, यिनी आफ्नो राय यसरी जाहेर गर्छन् र पछि यस्तो विचार व्यक्त गर्छन्– ‘साधारणीकृत रूपान्तरणमा साहित्यको मर्म निहित हुन्छ।ु साहित्य मन पराएर जीवनलाई साहित्यमय बनाउन जानेका यिनी ‘साहित्य खारिएको मस्तिष्कको उपज होु भन्छन्। ‘यो नारा होइन, व्यर्थ प्रलाप पनि होइन। कलात्मकरूपले सत्यको अभिव्यञ्जना गर्नु साहित्य होु, यिनका यस्तै खालका दृष्टि साहित्यमा व्याप्त छन्।

पाल्पामा पनि शिक्षणसेवा पुर्याएर आफ्नो नाउँ र भाउ छोड्न सफल गोपीकृष्ण नेपाली वाङ्मयको क्षेत्रमा चिरपरिचित हुँदै नेपालभर परिचय बाँड्न सफल व्यक्तित्व पनि हुन्। नेपाली वाङ्मय क्षेत्रमा सधैँ, सबै बेला लागिरहन गाह्रो छ तर गोपीकृष्ण शर्मा यस्तो गाह्रो क्षेत्रमा आफ्नो बर्कतले भ्याएर लागिरहेका प्रतिभा हुन्। नेपाली साहित्यको उत्थानमा लागिरहेका यिनी निबन्धकार र समालोचकका रूपमा विद्यालयदेखि विश्वविद्यालयसम्म परिचय बाँड्न सफल छन्।

यिनै गोपीकृष्ण शर्माले नेपाली भाषा र साहित्यको उत्थानका लागि यस्तो विचार व्यक्त गरेका छन्, जुन सन्दर्भमा उल्लेखयोग्य छ– ‘नेपाली भाषा र साहित्यको निरन्तर विकासका लागि अरू थप प्रयासहरू अपेक्षित छन्। यसका निम्ति संस्थागतरूपमा र सरकारी तहबाट समेत भए–गरिएका काम अपर्याप्त छन् र यिनले प्रायः पुराना तथा चर्चित प्रतिभालाई मात्र समेट्ने गरेको पाइन्छ। नेपाल भनेको काठमाडौं मात्र होइन, मेची र महाकाली पनि हो। अझै भाषिक दृष्टिले हेर्दा नेपाली भाषाको विस्तार भौगोलिक सीमामा बाँधिएको छैन पनि। अतः उपत्यकाबाहिरका प्रतिभालाई पनि प्रोत्साहित गर्ने वातावरण जिम्मेवार निकायबाट तयार हुनुपर्यो।ु भावनाका धनी लेखक गोपीकृष्णका इच्छाहरू साकार हुनु भनेको भाषा–साहित्यको उत्थान हुनु पनि हो।

स्मृतिविम्ब (२०६७) मा प्रकाशित कविताकृति हो। यिनले ‘उमाु (छोरी) को सम्झनामा २०७० मा शोककाव्य लेखे। ८० वर्ष पुग्न लागिसकेर पनि सिर्जनामा मन दिन पाउँदा, कृति प्रकाशन गर्न पाउँदा यिनी गौरवबोध गर्छन्। जीवनका अधिकांश क्षणहरू शिक्षण÷प्राध्यापन सेवामा समर्पित रहेका यिनी भाषा–साहित्य क्षेत्रमा पनि कसैका लागि नबिझ्ने खालका व्यक्तित्व बन्न सफल छन्। तीतामीठा कुरा (२०६७) र नीति विचार (२०६७) ले यिनको व्यक्तित्व र दृष्टि–चिन्तन प्रस्ट्याउँछन्।

 

पौराणिक बालकथा र पुराण प्रसिद्ध बालकथाहरूको कृतिले यिनी बालकथाकारका रूपमा पनि चिनिएका छन्। आरोहण (महाकाव्य) लगायत केही भाषा–साहित्य, कथा, उपन्यास, कविता–काव्यमा आफ्नो दृष्टि फुकाउन यिनले थुप्रै लेखकहरूसँग सहलेखनमा पुस्तकहरू प्रकाशित गराएका छन्। विशेष गरी भाषा समालोचना क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल समालोचक गोपीकृष्ण शर्मा यस विधाका कुशल शिल्पी हुन्।

प्रतिक्रिया दिनुहोस्