चिसो मौसममा पनि भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका



प्रताप बानियाँ, म्याग्दी ।

विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।

यस्तै समस्या झेलिरहेको छ, म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा अवस्थित डिम्ब आधारभूत विद्यालय । जिल्ला सदरमुकामदेखि नजिकै र नगरपालिका भित्रको विद्यालयले आवश्यक मात्रामा शिक्षक दरबन्दी नपाउनु, आर्थिक अभाव, फर्निचर तथा पूर्वाधारको कमीका कारणले गर्दा विद्यालय सञ्चालनमा समस्या भैरहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएको छ ।

विद्यालय तह अनुसार कम्तीमा पनि १ देखि कक्षा ५ सम्मको विद्यालयमा ४ जना शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि हाल ३ जना मात्रै हुँदा अध्ययन अध्यापन तथा विद्यालयको दैनिक कार्यसम्पादनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गुनासो गरे । चिप्लेटी गाउँको मध्य भागमा रहेको विद्यालयमा बालशिक्षा सञ्चालनको टड्कारो आवश्यकता रहेपनि सम्बन्धित संस्थाबाट कोटा सहयोग नहुँदा त्यसमा पनि समस्या उत्पन्न भएको उनले गुनासो पोखेका छन् ।

प्रअ पौडेलका अनुसार अनुमति नपाए पनि विद्यालयको चाहना र आवश्यकता अनुसार बाल शिक्षाको कक्षा सञ्चालन गरिएको छ । उक्त बालकक्षामा आवश्यक बेन्च र ओछ्याउने कुसन नहुँदा चिसो मौसममा पनि बालबालिकाहरु भुइँमै बसेर पढ्न बाध्य छन् । हाल उक्त विद्यालयमा बाल शिक्षाको कक्षासहित ५ सम्म कुल ४६ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । विद्यार्थी सङ्ख्या अनुसार कुनै किसिमको आवश्यक सहयोग नभएको हुँदा समस्या झन् बल्झिँदै गैरहेको छ । विद्यालयको जनप्रतिनिधि, स्रोतव्यक्ति र अन्य सरोकारवाला निकायले अनुगमन र निरीक्षण पनि गर्न सकेका छैनन् ।

अहिले उक्त विद्यालयमा निजी स्रोतका दुईजना शिक्षकहरु भर्ना गरिए पनि आर्थिक स्रोतको अभावले समस्या झन् थपिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । मासिक १८ हजार रुपैयाँका दरले शिक्षकको तलब÷भत्ता व्यवस्थापन गर्नुपर्ने भए पनि विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन । स्थानीय तह नगरपालिका र वडा कार्यालयले समेत आर्थिक रुपमा कुनै सहयोग गर्न सकेका छैनन् ।

जिल्लाका अन्य ठाउँमा रहेका विद्यालयहरुमा पक्की भवन र पुस्तकालयको कार्यक्रम पर्दा पनि अहिलेसम्म यस विद्यालयमा भवन र लाइब्रेरीको कार्यक्रम परेको छैन । २०७२ सालमा आएको विनाशकारी भूकम्पले विद्यालय भवन चर्किएको र ग्राउण्ड भासिँदै गएपनि भूकम्प प्रभावितको सुचीमा सुचीकृत नहुँदा पूनर्निर्माण प्राधिकरणको सहयोग लिनबाट बञ्चितीमा परेको छ ।

विद्यालयमा खेलकुदका सामग्रीहरु नहुँदा विद्यार्थीहरु खेल खेल्नबाट बञ्चित भएका छन् । यसका साथै विद्यालयमा व्यवस्थित खानेपानी, बालशिक्षाका खेलौना, साउण्ड सिस्टम, डिक्सनरी, ग्लोब, डस्टबिन, बाल्टिन, बालशिक्षाका लागि एबिसिडी, कखगघ, चराचुरुङ्गी र जनावरहरु अङ्कित पोष्टर एवं पम्पलेट नहुँदा पठनपाठन प्रभावकारी हुन नसकेको प्रअ पौडेलको भनाइ छ । विद्यार्थी सङ्ख्या अनुसारको आर्थिक स्रोतको सहयोग तथा उपलब्ध नहुँदा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्