वृद्धद्वारा ब्यारेलबाट एटलान्टिक महासागरको यात्रा



पेरिस, (एजेन्सी)
फ्रान्सका एकजना पुरुष एउटा ब्यारल आकारको सुन्तला रंगको क्याप्लुमा बसेर एटलान्टिक महासागर पार गर्ने साहसिक यात्रामा निस्केका छन्। उनलाई महासागरकै छालले अघि बढ्न सघाउने बताइएको छ। स्पेनको क्यानरी टापुको एल हिएर्रोबाट यात्रा शुरू गरेका ७१ वर्षीय जिन ज्याक साभिन चाँडोमा तीन महिनाभित्र क्यारिवियन पुगिसक्ने बताइएको छ।

उनको यस क्याप्सुलभित्र स्लिपिङ ब्याग, भान्छा र भण्डार रहेका छन्। ओसियनोग्राफरहरुलाई एटलान्टिकको छाल अध्ययन गर्न मद्दत पु¥याउने उद्देश्यले उनले आफ्नो जलमार्गमा चिन्हहरु छाड्ने भएका छन्।

उनले आफ्नो यात्राको पछिल्ला विवरणहरु फेसबुकमा पोस्ट गर्ने भएका छन्। पछिल्लो सन्देशमा उनले ब्यारलले राम्ररी काम गरिरहेको उल्लेख गरेका छन्। एएफपीलाई टेलिफोनमार्फत् अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्– ‘मौसम राम्रो छ। एकएक मिटरको फड्को मार्दै म प्रतिघन्टा २ देखि ३ किलोमिटर दूरी तय गरिरहेछु। मौसम भविष्यवाणीअनुसार आइतबारसम्म मेरो पक्षमा रहनेछ।’ पूर्वसैनिक प्याराट्र«पर रहेका साभिनले पार्क रेन्जर र पायलटको भूमिका पनि निभाएका थिए।

उनी आफू एक्लै सवार रेजिन पेन्ट गरिएको प्लाइवुडको सो ब्यारल करिब ४ हजार ५ सय किमि तय गरेर क्यारेवियन पुग्ने कुरामा ढुक्क छन्। ६ वर्ग मिटर बस्ने स्थान भएको सो ब्यारेलको लम्बाइ ३ मिटर र चौडाइ २ दशमलव १० रहेको छ।

त्यसमा रहेको पार्टहोलबाट साभिनले वरपरका माछा हेर्न सक्नेछन्। यस ब्यारेललाई छालको प्रहार खप्न र व्हेलको सम्भावित आक्रमणबाट बच्न सक्ने खालले बनाइएको छ। त्यसैगरी सञ्चार र जीपीएस पोजिसनिङका लागि यसमा सोलार प्यानल जडान गरिएको छ।

मानिसहरुले चन्दा संकलन गरी उनलाई यस यात्राका लागि आवश्यक खर्च करिब ६८ हजार अमेरिकी डलर जुटाइदिएका छन्। उनले यसमा नयाँ वर्ष मनाउन एक बोटल व्हाइट वाइन र १४ जनवरीमा आफ्नो ७२औं जन्मदिन मनाउन एक बोटल रेड वाइन साथमा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्