‘विकास निर्माणको काममा जुटेका छौं’



विष्णु श्रेष्ठ
वडाध्यक्ष, खाँडादेवी गाउँपालिका–१, रामेछाप

स्थानीय तहमा अपेक्षाअनुसारको विकास निर्माणको कामले गति लिन नसकेको गुनासो व्याप्त छ। विकास निर्माण गर्ने काममा जनप्रतिनिधिहरू रातदिन नभनी लागे पनि परिणाम निकाल्न भने सकिरहेका छैनन्। निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम हुन नसकेकोप्रति नागरिकहरूले चिन्ता र चासोको साथ हेर्न थालेका छन्। सडक, खानेपानी, विद्युतीकरण, स्वास्थ्य शिक्षालगायतका क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरूले योजना र नीति अगाडि सारेका छन्। तर अपेक्षाअनुसारको काम भने हुन सकेको छैन। यसै विषयमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडाध्यक्ष विष्णु श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानी ः–

वडाभित्र सडकको अवस्था  कस्तो छ ?
वडाभित्र सबै क्षेत्रमा सडक पुगेको छ। सडक विकासको मुख्य मेरुदण्ड पनि हो। राकाथुमभित्र हिउँद वर्षाको समयमा पनि सहजरूपमा यातायात सञ्चालन हुन सक्ने अवस्था छ। अब हामीले सडकको स्तरोन्नतिका लागि ध्यान दिएका छौं। गाउँपालिकाको निर्णयले पनि नयाँ सडक निर्माण नगर्ने भनिएको छ। अब नयाँ सडक निर्माण गर्नेतिर भन्दा पनि भएका सडकलाई व्यवस्थित र राम्रो बनाउने योजना अगाडि सारिएको छ। १२ महिना सहजरूपमा यातायात सञ्चालन गर्ने गरी गाउँपालिकाभित्र सडकको स्तरोन्नतिको काम भइरहेको छ।

सडकमा बजेट खर्चिए पनि अपेक्षाकृतरूपमा परिणाम देखिन नसकेको गुनासो छ नि ?
गाउँको सबै धुले सडक हो, व्यवस्थित सडक छैन। यातायात सञ्चालन गर्नका लागि हिउँदमा सडकको स्तरोन्नति त ग¥यो। तर वर्षाको समयमा पानीले बगाउने र ठाउँठाउँमा पहिरो जाने भएका कारणले जनताले परिणाम नदेखिएको हुन सक्छ। जबसम्म सडकको पहुँच वडाको टोलटोलसम्म हुँदैन, तबसम्म वडाको विकास असम्भव छ। टोलटोलमा सडक पुगेको छ। अब भएको सडकलाई राम्रो बनाउनका लागि हाम्रो ध्यान गएको छ। सडक निर्माणमा अब परिणाम देखिन्छ।

विद्युतीकरणको कामको प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?
ग्रामीण विद्युतीकरणको कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढेको छ। त्यसैगरी डेढ सयभन्दा बढी घरपरिवारलाई सुविधा दिने उद्देश्यले तार तान्ने काम भइरहेको छ। मेन लाइनको तार पनि सुनापती गाउँपालिकाको खनियापानीबाट तान्ने काम भइरहेको छ। वडाभित्रको सबै क्षेत्रमा विद्युतीकरण गर्नका लागि हामी लागिरहेका छौं। करिब दुई वर्षभित्र वडाको साविक नौवटा वडाभित्र नै विद्युतीकरण हुन्छ।

खानेपानीको समस्या पनि निकै छ भन्ने गुनासो छ नि ?
राकाथुममा मात्र नभई खानेपानीको समस्या खाँडादेवी गाउँपालिकाभित्रकै हो।। यस आर्थिक वर्ष नै सवा २ करोड रुपियाँमा बृहत् सुनकोसी खानेपानी आयोजनाको काम अगाडि बढाएका छौं। अहिले लुभ क्षेत्रबाट चापडी, बेलघारीबाट गोठपानीको हाइटमा लिफ्ट खानेपानी आयोजना अगाडि बढाइएको छ।

कृषि क्षेत्रको विकासका लागि केकस्ता योजनासहित काम गर्दै हुनुहुन्छ ?
कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले सबै वडाको पकेट क्षेत्र घोषणा गरेर नै काम भइरहेको छ। कुन वडामा कुन खालको खेती प्रणाली लगाउने भन्ने विषयमा ध्यान दिएका छौं। कृषि क्षेत्रमा आवधिक योजना बनाएर नै अगाडि बढेका छौं। राकाथुमको कुरा गर्ने हो भने दलहन बाली, फलफूल खेती, बाख्रा पालन, पशुपालनहरूलाई मुख्यरूपमा अगाडि बढाएका छौं। हाम्रो वडामा आकाशे पानीको भरमा नै कृषकहरूले खेतीपाती गर्नुपर्ने बाध्यता छ।

खैरेनीघाटको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेन नि रु यसका लागि तपार्इंले के पहल गरिरहनुभएको छ ?
विगतमा निर्माण सम्पन्न भइसक्नुपर्ने पुल निर्माणमा निश्चितरूपमा ढिलाइ भएको हो। पुल निर्माणको जिम्मेवारी लिएको ठेकेदारलाई पनि अहिले बहानाबाजी गर्ने छुट छैन। किनकि हामी निर्वाचित भएर आएपछि महिनामै पटक–पटक ठेकेदारलाई भेटेर पुलको बारेमा जानकारी लिने काम भएको छ। पुल निर्माणका लागि ट्रस्टको सामान निर्माणस्थलमा ल्याएर अहिले निर्माणकार्य पनि धमाधम भइरहेको छ। हामीले अनुगमन पनि गरिरहेका छौं। विगतको वर्षमा जनतालाई आश्वासन दिने छुट पनि अब ठेकेदारलाई छैन। वैशाखसम्म पुल निर्माण सम्पन्न गरेर गाडी सञ्चालन गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ।

गाउँघरमा नै युवाहरूलाई रोजगारी दिने योजना नि ?
हामीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यावसायिकरूपमा तरकारी खेती गर्ने गरी योजनाको साथ अगाडि बढनुपर्छ। साँच्चिकै गाउँको मुहार फेर्ने हो भने अब युवा पनि गाउँ फर्किनुपर्छ। समाजलाई अगाडि बढाउनका लागि युवा नै चाहिन्छ।

मापदण्ड विपरीत रामेछाप–सिन्धुली जोड्ने कलर्भट निर्माण भएको गुनासो छ नि ?
सित्खा–लुभ खण्डमा मध्यपहाडी सडकको काम निर्माण भइरहेको छ। हाल यस सडक हुँदै रामेछापका ३ गाउँपालिकाका बासिन्दा आवतजावत गर्दै आएका छन्। मध्य पहाडी लोकमार्गले निर्माण गर्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने भन्दै वडामा निवेदन दिएपछि हामीले ३ गाउँपालिकाका बासिन्दाको सेवालाई ध्यानमा राखेर अस्थायी कल्र्भट निर्माण गर्न अुनमति दिएका हौं। विगतमा पनि सुनकोसी नदीमा अस्थायी कल्र्भट बनेका थिए। अस्थायी कल्भर्टमार्फत ३ गाउँपालिकाका बासिन्दाले ६ महिना सुविधा पाउनेछन्। यसै वर्ष फेरि खैरेनीघाटको पक्की पनि निर्माण हुँदै छ।

प्रतिक्रिया दिनुहोस्