सामुदायिक विद्यालयमा घट्दै बिद्यार्थी, राज्यको लाखौँ खर्च बालुवामा पानी



दुर्गाप्रसाद शर्मा, पर्वत ।
दुर दराजका गाउँमा मात्रै होइन पर्वतको सदरमुकाम रहेको कुश्मा नगरपालिका भित्रैका सामुदायिक बिद्यालयमा समेत बिद्यार्थी संख्या निरन्तर ओराली लागिरहेका छन । बिद्यार्थी संख्या घट्दै जाँदा कतिपय बिद्यालयमा शिक्षक भन्दा बिद्यार्थी थोरै हुन थालेका कारण राज्यको लाखौं रुपैया बालुवामा पानी भैरहेको छ ।

कुस्मा वडा नम्बर १० स्थित लाकुरी आधारभुत बिद्यालयमा तीन जना उपस्थित थिए तर बिद्यालयमा चार जना शिक्षकको दरबन्दी नै कायम छ । बिद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले बिद्यालयमा जम्मा छ जना बिद्यार्थी रहेको दाबी गरे पनि संख्या भने पाँच जना भन्दा बढी छैन । ‘आज नआएर हो, छ जना बिद्यार्थी नियमित पढ्छन्’ उनले भने ।

बिद्यार्थी हाजिरी रजिष्टरमा भने १५ जना बिद्यार्थी भर्ना भएको देखिन्छ । यहाँका बिद्यार्थी निजीमा पढ्छन र सामुदायिक बिद्यालयमा हाजिर गर्दै परिक्षा पनि दिदै आएको भेटिन्छ । कक्षा १ र ३ मा एक जना पनि बिद्यार्थी छैनन् । कक्षा–२ मा दुई जना, कक्षा–४ मा एक जना र कक्षा ५ मा एक जना बिद्यार्थी भएको प्रधानाध्यापक शर्माले जानकारी दिए । बालकक्षामा दुई जना बालबालिका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर १० कै पिपलटारी आधारभुत बिद्यालयमा बालकक्षासहित छ जना बिद्यार्थी छन् । कक्षा–१, ४ र ५ बिद्यार्थीबिहिन रहेको यो बिद्यालयको कक्षा २ मा दुई र कक्षा–३ मा तीन जना बिद्यार्थी छन् । बालकक्षामा एक जना छन् । स्थापनाकालमा ९५ जनासम्म बालबालिका रहेको यो बिद्यालयमा बिद्यार्थी हरेक बर्ष घट्दै गएर अहिले छ जना बिद्यार्थीमा सीमित भएको हो । यो बिद्यालयमा बिद्यार्थी नभएपनि बालकक्षासहित चार शिक्षक कर्मचारी रहेका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको गायत्री आधारभुत बिद्यालयमा पुग्दा ११ जना मात्रै बिद्यार्थी उपस्थित थिए । कक्षा १ मा तीन जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा तीन जना, कक्षा ४ र ५ मा एक/एक जना बिद्यार्थी रहेको यो बिद्यालयमा पाँच जना शिक्षक रहेका छन् । अंग्रेजी माध्यममा पढाएपनि बिद्यार्थी आकर्षित गर्न नसकिएको बिद्यालयका प्रधानाध्यापक पिताम्बर अधिकारीले बताए । शैक्षिक गुणस्तरमा कमी नभएपनि बिद्यार्थी घट्दा आफु पनि चिन्तित भएको अधिकारीले जानकारी दिए । ‘६०/६१ सालमा ९० जनासम्म बालबालिका यो बिद्यालयमा पढ्न आउने गरेका थिए’ उनले भने ।

ठुलीपोखरीकै बसन्त आधारभुत बिद्यालयमा कक्ष १, २ र ४ मा एक जना पनि बिद्यार्थी छैनन् । कक्षा ३ मा तीन जना र कक्षा ५ मा दुई जना बिद्यार्थी मात्रै रहेका छन् । बालकक्षामा पाँच जना छन् । बिद्यार्थी घटेपनि यो बिद्यालयमा बालकक्षा शिक्षकसहित पाँच शिक्षक रहेका छन् ।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जहाँ बिद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको बताउँछन् । ‘कतै बिद्यार्थी धेरै छन्, शिक्षक अभाव छ तर कतै बिद्यार्थी नै छैनन, शिक्षक मात्रै छन, त्यसैले पनि जहाँ बिद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको छ’ क्षेत्रीले भने । सामुदायिक बिद्यालयका शिक्षकले अझैपनि अभिभावकको मन जित्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्