म भात जोरूँ कि कविता लेखूँ मञ्चन ३८ वर्षअघिको कविता मञ्चमा



काठमाडौं, (नेस)
कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरूँ कि कविता लेखूँरु’ कविता–नाटकको रूपमा काठमाडौंमा मञ्चन भएको छ।
३८ वर्षअघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले केदार श्रेष्ठ र सञ्जिता पराजुलीको निर्देशनमा मञ्चन गरेको हो।
४० मिनेट लामो कविता–नाटकमा कवि विश्वविमोहनको अर्को कविता ‘सडक बोल्छ’ पनि मञ्चन गरिएको थियो।

कला साहित्यमा समर्पित जीवन बाँच्नेले दैनिक पारिवारिक जीवनमा भोग्ने कठिनाइ र संघर्ष कवि विश्वविमोहनको कविताले बोल्छ। चार दशकअघि लेखिएको भए पनि वर्तमान नेपाली समाजमा कला साहित्यमा लाग्नेहरूको जीवनमा उस्तै संघर्ष रहेको र यो कविता समसामयिक र सान्दर्भिक रहेकाले नाटकको रूपमा मञ्चन गरिएको हो।

अर्को कविता ‘सडक बोल्छ’ले हाम्रो सामाजिक, राजनीतिक दुर्दशाले आम मानिसले भोग्ने पीडालाई संकेत गर्छ। नाटकको रूपमा मञ्चन गर्दा वर्तमान समयमा बलात्कारजस्तो घृणित र जघन्य अपराध नियन्त्रणमा सरकार फितलो रूपमा प्रस्तुत भएको दृश्यलाई समेत नाटकमा राखेर व्यंग्य मात्र होइन मञ्चनलाई सान्दर्भिक पनि बनाइएको थियो।
कविता–नाटक हेरिसकेपछि संस्कृतिविद् तथा कवि तुलसी दिवसले कविताको शक्ति सर्वकालिक हुनुपर्छ भन्ने उदाहरण ‘म भात जोरूँ कि, कविता लेखूँरु’ भएको बताउँदै कवितालाई दृश्यमा देख्दा कविताको भाव अझ ओझिलो भएको बताउनुभयो।

त्यस्तै कवयित्री उषा शेरचनले कवितालाई मञ्चन गर्नु जटिल भए पनि मञ्चमा कविताका अक्षर बगेको अनुभूत गरेको सुनाउनुहुँदै विगतमा गरिएका साहित्यिक गतिविधिलाई सम्झिनुभयो। त्यस्तै हालै मात्र अमेरिकाबाट फर्किएका कवि वसन्त श्रेष्ठले भन्नुभयो– ‘कविता सामान्यतया पढ्ने, सुन्ने र सुनाउने विधा हो, तर आज कविता हेर्न पाउँदा कविताको व्यापकता र महŒव झनै बढ्दै गएको छ।’

कविता–नाटकमा सवीर चुरौटे, सञ्जिता पराजुली, शंकर भण्डारी, अर्जुन पौडेल, गणेश पौडेल, सुगुन शर्माले अभिनय गरेका थिए। थिएटर मलले यसरी कवितालाई पढ्ने मात्र नभई हेर्ने कविताका रूपमा अरू स्रष्टाका कवितालाई पनि मञ्चन गर्ने योजना बनाएको निर्देशक केदार श्रेष्ठले बताउनुभयो।

कविता–नाटक ‘म भात जोरूँ कि कविता लेखूँरु’ शनिबार पर्यटन बोर्डमा दुई पटक मञ्चन भएको हो। यसलाई पोखरा र विराटनगरमा पनि मञ्चन गर्ने योजना रहेको एपेक नेपालले जनाएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलो संस्करण प्रकाशित कविता संग्रह ‘म भात जोरूँ कि कविता लेखूँरु’ को दोस्रो संस्करण हालै साझा प्रकाशनबाट प्रकाशित भएको छ।

प्रतिक्रिया दिनुहोस्