प्रियासनको उपन्यास खेती



सन्तोष खनाल
पत्रकारिता तथा साहित्यमा सविन प्रियासन एउटा चर्चित नाम हो। घोराही उप–महानगरपालिका १५ मिलनचोक घर भएका प्रियासनले हालसम्म ७ वटा उपन्यास, १ कथा संग्रह र १ वटा सम्पादकीयको संग्रह प्रकाशित गरिसकेका छन्। उनको प्रारम्भिक शिक्षा घोराहीकै सरस्वती निम्न माध्यामिक विद्यालय काठेकोलबाट शुरु भएको थियो। माध्यामिक तहको अध्ययनका लागि उनी पद्योदय पब्लिक नमुना माध्यामिक विद्यालय भरतपुर पुगे। एसएलसीपछि उनी सिभिल ओभरसिमा अध्ययनका लागि दाङ, काठमाडौंलगायतका ठाउँमा पुगे। सिभिल ओभरसियर विषय अध्ययन गरेर प्रियासन दाङ फर्के। २०५८÷६० सालतिरबाट उनलाई साहित्य र पत्रकारिताको मोहले छोयो। दाङको घोराहीबाट प्रकाशित हुने गाउँघर सातदिने पत्रिकामा उनले काम गर्न शुरु गरे। पत्रिकामा काम गरेपछि उनले साहित्यले पछ्याउन छाडेन। कथा, उपन्यास लेख्न त्यति बेलादेखि नै शुरू गरेको प्रियासन बताउँछन्।

गाउँघर सातदिनेमा काम गर्दागर्दै उनी नयाँ युगबोध दैनिक प्रत्रिकामा संवाददाताका रूपमा काम गर्न पुगे। दैनिक पत्रिकामा काम गर्दा उनको पत्रकारिता अझै निखारियो। साहित्यमा पनि उनी उत्तिकै लगनशील भएर लाग्दै थिए। पत्रकारिताको शुरू गर्दाकै समयमा उनको पहिलो साहित्यिक कृति ‘रोदनपछिको’ उपन्यास बजारमा ल्याइसकेको थियो। केही समय युगबोध दैनिकमा कामगरेपछि उनी दाङबाटै प्रकाशित हुने राप्ती समाचारको विभिन्न पद हुँदै सम्पादक हुन पुगे।

कलमको माध्यमबाट आवाजविहीनहरूका आवाज बनेर जिल्लामा स्थापित भए पत्रकार सविन प्रियासन। उनको लेखन यात्रामा निखारता आउँदै गर्दा उनको अर्को कृति सपनाभित्रको सपना कथा संग्रह र उपन्यास ‘भुमरी’ पनि प्रकाशित भइसकेको थियो। २०६५ सालमा उनी गणतन्त्र दैनिकको प्रकाशक सम्पादक भएपछि उनी राप्ती समाचार र युगबोध दैनिकबाट बिदा भए। पत्रकारितासँग सम्बन्धित संस्थाहरूको जिम्मेवार पदमा पुगेपछि प्रियासनको साहित्यिक यात्राले विश्राम लियो। करिब ८ वर्षजति प्रियासन पत्रकारितामा क्रियाशील बने। त्यसपछि प्रियासन २०७३ सालबाट पुनः साहित्यमा फर्किए। अर्थात् उनको साहित्यमा पुनरागमन भयो। उनी ‘पुनरागमन’ नामक उपन्यास लिएर साहित्यिक फाँटमा पुनः उदाए। त्यसपछि प्रियासनका लगातार हालसम्म चारवटा उपन्यास प्रकाशित भएका छन्। उनले पल्लवी, सहनशीला, सेल्फी र हालै लक्कीचार्म उपन्यास लिएर यति बेला उनी पाठकका माझ उपन्यास लेखनका हिरोकारूपमा देखा परेका छन्। ‘पत्रकारिता र साहित्य क्षेत्र दुवै एक–अर्काका परिपूरक भएकाले अहिलेसम्म यात्रा सुखद छ।’ –भन्छन् साहित्यकार तथा पत्रकार सविन प्रियासन।

‘आमाको सपना छोरो इन्जिनियरिङ फिल्डमा जमेर धेरै पैसा कमाई सुख देला भन्ने थियो होला तर मैले धेरै पैसा नभए पनि नाम कमाएको छु, यसैमा सन्तुष्ट छु।’ –प्रियासनले भने। पत्रकारितामा लाग्दै गर्दा र साहित्यमा कलम चलाउँदै गर्दा उनको ‘सपनाभित्रको सपना’ नामक कथा संग्रहसमेत प्रकाशित भएको छ। त्यसै गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित रहेर उनले सम्पादकीय नामक पुस्तकसमेत प्रकाशित गरिसकेका छन्। पत्रकारिता तथा साहित्यको माध्यमबाट उनले समाजलाई सुसूचित बनाइरहेका छन्। साहित्य लेखनको यात्रामा उनी राप्ती साहित्य परिषद्को केन्द्रीय महासचिवसम्म भएका थिए। त्यसै गरी पत्रकारितामा प्रेस चौतारी नेपाल दाङको दुईपटक अध्यक्ष, केन्द्रीय सदस्य तथा राप्ती क्षेत्रको इन्चार्ज हुँदै केन्द्रीय उपाध्यक्ष तथा ५ नं प्रदेशको इन्चार्जसम्म भए।

नेपाल पत्रकार महासंघ दाङ शाखाको दुईपटक सचिव तथा अहिले अध्यक्षको भूमिका निर्वाह गरिरहेका प्रियासनको केही दिनअघि ‘लक्कीचार्म’ नामक उपन्यास बजारमा आएको छ। सभामुख कृष्णबहादुर महराले विमोचन गर्नुभएको लक्कीचार्म उपन्यास पल्लवी उपन्यासको दोस्रो भाग हो। प्रियासनका लेखाइमा वास्तवकिता समावेश हुन्छ। उनले केही समयअगाडि निकालेको सेल्फी उपन्यासमा घोराही उप–महानगरपालिका–१७ निवासी बन्दना डीसीको वास्तविक जीवन संघर्ष समावेश छ।

प्रियासनले चर्चित नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर नोभेल नम्रता निकाल्ने तयारी पनि गरिरहेका छन्। यसबाहेक प्रियासनले यसै वर्ष ब्रेकअप डायरी उपन्यास निकाल्ने तयारी गरिरहेका छन्। राप्तीमै छोटो समयमा सबैभन्दा धेरै उपन्यास लेख्ने र निकाल्ने उपन्यासकारका रूपमा चिनिएका प्रियासनसँग १० दिनमै उपन्यास लखेर महिना दिनमै पाठकमाझ पुर्याएको अनुभव पनि छ। ५० हजार शब्दको हाराहारीमा उपन्यासको कथावस्तु तयार पार्दा राम्रो हुने प्रियासन बताउँछन्। आफूले सक्दासम्म वर्षमा तीन वटा उपन्यास निकाल्ने योजना बनाएका प्रियासन फरक–फरक विषयवस्तुमा आधारित रहेर उपन्यास निकाल्ने उपन्यासकारमा पर्छन्। सन्देशमूलक सामाजिक उपन्यास लेखिरहेका प्रियासनका कृतिहरूमा मायाप्रेम, समाजका यथार्थ विषयवस्तुहरू पनि समेटिएका छन्।

सरल भाषामा सलल बगेको कथा वस्तुसहितको उपन्यास पाठकमाझ पस्कने भएकाले प्रियासनले निकालेका सबै उपन्यासले राम्रो बजार लिएको पुस्तक पसल सञ्चालकहरूको भनाइ छ। जनता बुकका सञ्चालक राजकुमार गुप्ता प्रियासनका उपन्यास नाम चलेका उपन्यासकारसरह बजारमा बिक्ने गरेको छ। यति मात्र होइन, दाङका पुस्तकालयहरूमा सबैभन्दा धेरै प्रियासनका उपन्यास नै पढ्ने गरिएको राप्तीकै सबैभन्दा पुरानो सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम बताउनुहुन्छ।

साहित्य र पत्रकारितामा जमेर लागेका प्रियासनले पत्रकारितातर्फ दर्जन बढी पुरस्कार पाइसकेका छन् भने साहित्यतर्फ पनि उनले धेरै नै पुरस्कार पाएका छन्।

प्रतिक्रिया दिनुहोस्