प्रेरणादायी क्रिकेटर शक्ति गौचन



फिरोज राजोपाध्याय
एभरेस्ट प्रिमियर लिगअन्तर्गत विराटनगर वारियर्स र पोखरा राइनोजबीचको खेल अति नै रोमाञ्चक भएको थियो। पोखरा ८४ रनमै समेटिँदा अड्कल लगाइयो कि विराटनगरले यो खेल सहजै जित्नेछ। तर, यसो भएन। पोखराका बलरहरूले सानदार प्रदर्शन गर्दै विराटनगरलाई पनि ८४ रनमै रोकिदिए। दुर्भाग्य यो भयो कि पोखरा सुपर ओभरमा पराजित भयो। तर, बलिङमा शक्ति गौचनको प्रदर्शन ज्यादै राम्रो थियो। उनले ४ ओभरमा १ मेडनसहित १८ रन दिएर एक विकेट हासिल गरेका थिए।

रूपन्देहीमा जन्मेका शक्तिले आफूमा कति दम छ भनेर सो उत्कृष्ट बलिङ स्पेलमार्फत दर्शाएका थिए। ढल्कँदै गरेको उमेरमा पनि उनको बलिङ गर्ने क्षमता युवा अवस्थाकै देखिन्थ्यो। यसको बाबजुद उनले घरेलु क्रिकेट करियरबाट विश्राम लिने पहिल्यै नै ठानिसकेका थिए। यसैअनुसार मंसिर २९ गते चितवन टाइगर्ससँगको खेलपछि उनले खेलाडी जीवनबाट बिदा लिए। शक्तिको यो निर्णय कति सान्दर्भिक छ÷छैन त्यो आफ्नै ठाउँमा छ। तर, उनले नेपाली क्रिकेटमा अझै खेल्नुपर्छ भन्नेहरूको पनि ठूलै जमात छ।
शक्तिले यस्तो निर्णय लिनुको पछाडि सायद उनलाई अबको बाटो प्रतिभावान् खेलाडी तयार गर्नुपर्छ भन्ने आभाष भएको हुनुपर्छ। उनले भने पनि– ‘मेरो अबको बाटो भनेको नेपाली क्रिकेटलाई विश्वकपमा खेलाउने र आगामी १०–१५ वर्षमा नेपाललाई पनि टेस्ट खेल्ने राष्ट्र बनाउनेतिर केन्द्रित हुने हो।’

मैदानमा ज्यादै अनुशासित र मेहनती खेलाडी शक्ति मैदानबाहिर पनि उस्तै देखिन्छन्। उनको व्यवहार र खेल्ने शैलीलाई नयाँ पुस्ताले अनुकरण गर्न लायक छ। उनमा घमण्डीपना पनि पटक्कै छैन। उनी सबैको मनपर्ने खेलाडी हुन्। यति हुँदाहुँदै पनि अबदेखि शक्तिले खेलेको नेपाली समर्थकले भने हेर्न पाउने छैनन्।
करियर
बायाँहाते बलर शक्तिले सन् २००० मा अन्तर्राष्ट्रिय क्रिकेटमा पादार्पण गरेका थिए। सो वर्ष बंगलादेशमा भएको एसीसी यु–१७ एसियाकप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो र उनी कप्तान पनि थिए। त्यसपछि एसीसी यु–१९ एसिया कप हुँदै २००२ सम्म पुग्दा उनी नेपाली राष्ट्रिय टोलीमा अटाए। यो क्रम उनले संन्यास घोषणा नगरुन्जेल चली नै रहेको थियो। उनको सिनियर अन्तर्राष्ट्रिय करियरमा डेब्यु खेल सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीअन्तर्गत ओमानविरुद्ध थियो।

सन् २००५ मा शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरे। उनी सो समय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका थिए। उनले आईसीसी विश्वकप छनोटअन्तर्गत इटालीविरुद्ध १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए।

त्यसको ५ वर्षपछि शक्तिले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा ≈याट्रिक गर्न पाए। उनले सन् २०१२ को दुबईमा भएको आईसीसी विश्व टी–२० छनोट प्रतियोगितामा डेनमार्कविरुद्ध ≈याट्रिक गरेका थिए। उनले ४ ओभरमा २० रन दिएर ४ विकेट लिँदा सो खेल नेपालले ९ विकेटले जितेको थियो। सो प्रतियोगितामा शक्तिले कुल १६ विकेट लिएका थिए।

दुई वर्षपछि बंगलादेशमा भएको आईसीसी विश्व टी–२० क्रिकेट प्रतियोगितामा उनी सहभागी भए। उनले बताए– ‘जुनसुकै खेलाडीको सपना हुन्छ विश्वकप खेल्ने। यो सपना पनि पूरा भएको छ।’

यसै गरी शक्तिले नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय एकदिवसीय ९वानडे० खेल्दा पनि त्यसको एक हिस्सा बन्न सौभाग्य प्राप्त गरे। अगस्टमा नेदरल्यान्डस् टुरमा शक्तिले ऐतिहासिक वानडेमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय करियरलाई बाई बाई गरेका थिए।

उत्कृष्ट इकोनोमिक बलिङ
सन् २०१२ मा आईसीसी विश्वक्रिकेट लिग डिभिजन फोरअन्तर्गत शक्तिले मलेसियाविरुद्ध नेपाललाई सानदार जित दिलाउन महŒवपूर्ण भूमिका खेलेका थिए। उनले १० ओभरमा त ८ मेडन ९ओभरमा रन नदिएको० नै फ्याँकेर मात्र २ रन दिएर ३ विकेट लिएका थिए। यो विश्व क्रिकेटअन्तर्गत सीमित ओभरको खेलमा दोस्रो उत्कृष्ट इकोनोमिक बलिङ स्पेल हो। पहिलो नम्बरमा वेस्ट इन्डिजका फिलसिमोन्सले पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडनसहित ३ रन खर्चेर ४ विकेट लिनु रहेको छ। यी दुई उत्कृष्ट इकोनोमिक बलिङ स्पेलको रेकर्ड सायदै तोडिएला।

आईपीएलमा पनि पुगे शक्ति
२०१२ को विश्व टी–२० छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेकै कारण शक्तिलाई इन्डियन प्रिमियर लिगका लागि ट्रायल गर्न बोलाइएको थियो। उनलाई राजस्थान रोयल्सले मौका दिन बोलाएको थियो। उनले ट्रायल पनि गरे। उनले भारतीय क्रिकेटका पर्खाल उपनामले चर्चित राहुल द्रविडको विकेटसमेत लिए। उनले लिएको २ विकेटमध्ये अर्को विकेट अस्टे«लियाका ब्याट्सम्यान ब्राड हड्जको थियो। तर, उनी छनोट भने हुन सकेनन्।

प्रतिक्रिया दिनुहोस्