घरेलुहिंसा पिडीत महिलाले पाइन १७ बर्षपछि नागरिकता



दुर्गाप्रसाद शर्मा, पर्वत ।
परिवारबाट हिंसाको शिकार भएकी पर्वतकी एक महिलाले १७ बर्ष पछि मात्रै श्रीमानको नाम राखेर नेपाली नागरिकता पाएकी छन ।

नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला गाउँपालिका ७ धाइरिङकी ३४ बर्षिय सेती परियारले विवाह गरेको १७ बर्ष पछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन । परियारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।

सेती परियारका श्रीमान् गोविन्द दमाईले पालन पोषण र रेखदेख नगर्ने र नागरिकता दिन समेत अस्विकार गर्दै आएका थिए । पिडीतको अवस्था बुझेपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी मार्फत ससुरालाई कार्यालयमा झिकाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । ‘सनाखत गर्न आउन नमानेपछि प्रहरी पठाएर झिकाउने काम गरेका हौ’ प्रजिअ ढकालले भने ‘श्रीमतीलाई माया, ममता त परैजाओस नागरिकता समेत नदिएपछि ससुरालाई सनाखत गराएर नागरिकता दिइएको छ ।’

नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् । पिडित सेती परियारले आफु श्रीमान्बाट पिडित भएको र नेपाली नागरिकता समेत पाउन नसकेको भन्दै २०७५ कार्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधि समक्ष सहयोगका लागि निवेदन पेश गरेकी थिइन् । उनको निवेदनको आधारमा जलजला गाउँपालिका ७ धाइरिङका वडा अध्यक्ष टुङगनाथ शर्मा समक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटक पटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए ।

जलजला गाउँपालिका वडा नं. ७ साविकको धाइरिङ गाविस ३ माइतघर भई सोही स्थानमा घर भएका ३२ बर्षिय गोविन्द दमाई सँग २०५८ साल मंसिर २२ गते सामाजिक परम्परा अनुसार विवाह गरेकी थिइन् ।

उनको १३ बर्षिय छोरा रुद्र र ३ बर्षिय छोरा सुरज परियार छन् । मजदुरी गरेर जिविका चलाउँदै आएका उनीहरु एक बर्ष अघि दोश्रो विवाह गरेर श्रीमान्ले दोश्रो श्रीमती घरमा ल्याएपछि उनी घरेलु हिंसाको सिकार बन्दै गएकी थिइन् । श्रीमान् गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालन पोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखित रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्