कुचिकार जोगाउने नौलो अभ्यास



–टीका बन्धन

मरेका पशुपन्छीलाई आफ्नो आहरा बनाउने गिद्ध प्रकृतिका कुचिकार कहलिएका छन् । तर कुचिकार नै नरहे प्रकृतिलाई कसले सफा गर्ने अनि प्राकृतिक सन्तुलन कसरी कायम होला जस्ता अनगिन्ती प्रश्न संरक्षणकर्मीहरु माझ चल्यो । प्रकृतिका कुचिकारको संख्या बढाउने नौलो उपाय निस्कियो ‘गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र’ । लोपोन्मुख अवस्थामा रहेका गिद्धको संख्या बढाउन र प्रकृतिबाट यस्तो पन्छीलाई लोप हुन नदिन १० वर्ष अघि सन् २००८मा चितवनको कसरामा खुल्यो यस्तो पृथक केन्द्र ।

केन्द्र स्थापनाको उद्देश्य अनुसार नतिजा पनि सकारात्मक नै दिइरहेको छ । नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट संकलन गरिएका ६० वटा डंगर प्रजातीका गिद्धले संख्या बढाउन थालेपछि संरक्षणकर्मी उत्साहित भएका छन् । केन्द्रका गिद्धले सन् २०१२ देखी अण्डा पार्न शुरु गरेका थिए भने गत वर्ष २०१७ मा ९ र सन् २०१८ मा ६ ओटा बच्चा कोरलिएका छन् ।

केन्द्रमा हुर्किएका माऊ र तीनका सन्ततीलाई सुरक्षित साथ प्राकृतिक वातावरणमा पुनर्वास गराउन थालिएको छ । गत वर्षको मंसिरयता यही मंगलबार विभिन्न ३ चरणमा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघको संयुक्त साझेदारीमा शुरु भएको यस्तो अभ्यास विश्वकै पहिलो भएको दावी गरिएको छ । दक्षिण एसियामा भारत र पाकिस्तानमा पनि प्र्रजनन् केन्द्र स्थापना भएपनि ती मुलुकले गिद्धलाई प्राकृतिक वासस्थानमा पुनवास गराउने अभ्यास अझै शुरु गरेका छैनन् ।

विभागको गिद्ध पुनःस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार केन्द्रमा हुर्किएका÷बढेका गिद्धलाई प्रकृतिमा पुनवास गराउन थालिएको विभागका अधिकारी बताउँछन् । २०७४ मंसिरमा केन्द्रमा हुर्किएका ६ वटा बयस्क गिद्ध छोडिएको थियो भने गत असोजमा ८ वटा केन्द्रमा जन्मिएका ४ वटा केन्द्रमा हुर्किएका बयस्कलाई प्रकृतिमा पुनवास गराइएको थियो । मंगलबार फेरी १२ वटालाई छोडिएको छ । ‘१२ मध्ये ६ वटा केन्द्रमा हुर्किएका हुन् भने र अन्य ६ केन्द्रमै जन्मिएका हुन्’–पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण प्रसाद भुसालले भने ।

केन्द्रमा जन्मे÷हुर्किएका गिद्धलाई सोझै प्राकृतिक वासस्थानमा छाडिएको भने होइन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको नमुना सामुदायिक वनमा स्थापना गरिएको ‘रिलिज एभिएरी’मा स्थानान्तरण गरी प्राकृतिक बासस्थानको वातावरणसँग घुलमिल हुन सिकाएपछि मात्रै प्रकृतिमा छोड्ने गरिएको भुसालले बताए । उनले प्रष्ट्याउँदै भने–‘रिलिज एभिएरीमा ६÷७ महिनासम्म राखिने गिद्धले विगत देखिनै प्रकृतिमा रहेका गिद्धसँग साक्षात्कार गर्न सिक्ने र उनीहरुले झैं आहरा खान अभ्यस्त भएपछि मात्रै खुला वातावरणमा छोडिन्छ ।’

यसरी छोडिने गिद्धको नियमित अनुगमन सहज बनाउन गिद्धका ढाडमा ‘स्याटेलाईट ट्याग’ जडान गरिएको हुन्छ । केन्द्रको वातावरणमा हुर्किएका र प्राकृतिक वातावरणमा रहेका जंगली गिद्ध वीच घुलमिल हुने अभ्यास र उनीहरुको विचरण शैलीलाई अध्ययन गर्न कम्प्युटर प्रणालीमा आधारित स्याटेलाईट ट्याग जडान गर्ने गरिएको संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताइन् । उनका अनुसार स्याटेलाईट ट्याग भएका गिद्ध चितवन, नवलपरासी र आसपासका भेगको करिव २४ हजार वर्ग किमी क्षेत्रमा विचरण गर्दै आएका छन् । संघले नियमित निगरानीका क्रममा त्यस्तै उपकरण जडान गरिएको एउटा जंगली गिद्ध भने नवलपरासीको पिठौलीबाट करिव १ हजार १ सय किमी टाढाको भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र जम्मु कास्मिरसम्म पुगेको पाइएको छ ।

विज्ञहरुका अनुसार सन् १९९० को दशकमा दक्षिण एसियामा करोडौ र नेपालमा लाखौको हाराहारीमा गिद्ध भेटिन्थे । गाईवस्तु र घरपालुवा पशुको उपचारमा प्रयोग हुने ‘डाइक्लोफेनेक’ औषधी प्रयोग तीब्र भएपछि गिद्धको संख्यामा ह्रास आउन थालेको उनीहरुको बुझाई छ । डाइक्लोफेनेक औषधी प्रयोग भएर मरेका पशुलाई गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने तथा प्रजनन् क्षमता ह्रास हुँदा यो पन्छीको संख्या व्यापक रुपमा घटेको बताइन्छ । नेपालले सन् २००६ देखि त्यस्तो औषधीको प्रयोग र ओसारपसार नियन्त्रण शुरु गरेको थियो भने दाङ ‘डाइक्लोफेनेक’ मुक्त पहिलो जिल्ला हो । पछिल्लो अवधिमा मुलुकका विभिन्न ६६ जिल्ला डाइक्लोफेनेक मुक्त भएको सरकारी तथ्यांक छ ।

वन्यजन्तु विभाग, प्रकृति संरक्षण कोष र पन्छी संरक्षण संघको अभियानलाई सफल बनाउन अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आरएसपिवी र जेडएसएलले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । विश्वमा २३ प्रजातिका गिद्ध फेला परेका छन् भने नेपालमा विभिन्न नौ प्रजातिका यस्ता पन्छी अभिलेख गरिएको छ । नेपालमा डंगर, सानो खैरो, सुन गिद्ध, लामो ठुडे, सेतो गिद्ध, हिमाली, हाडफोर, राजगिद्ध र हाडफोर गिद्ध भेटिएका छन् । यी मध्ये डंगर, सानो खैरो र सुनगिद्ध अतिसंकटापन्न सूचिमा सूचिकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्