धमाधम निर्माण हुँदै नेपाल–चीन जोडने सडक



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विनाशकारी भुकम्पको कारण तहसनहस भएको सीमा क्षेत्रको सडक र मितेरी पूल पुननिर्माणमा तदारुकता देखिएपछि सीमावासीमा तीनन वर्षसम्म बन्द रहेको तातोपानी नाका संचालन हुने आशा जगाइदिएको छ ।

भूकम्प, भोटेकोसी बाढी र पछिल्लो लार्चा पहिरोले नाकालाई अनिश्चित बनाइरहेका बेला सडक, पुल, सुख्खा बन्दरगाह लगायतका भौतिक पूर्वाधार पुननिर्माणको काम तीव्र गतिमा सुरु भएपछि सीमावासीमा नाका खुल्ने आशा जागेको हो । नाका संचालनको पर्खाईमै तीन वर्ष गुजारेका सीमावासी चिनीयाँले सीमाक्षेत्रमा एकसाथ पूर्वाधार निर्माण थालेपछि स्थानीवासी हौसिएका छन् । ‘अब नाका खुल्दैन कि भन्ने चिन्ता रहेन, ढिलोचाँडो अब नाका खुल्छ’, भोटेकोसी गाउँपालिका–५ का स्थानीय तीर्थबहादुर थापाले खुसी ब्यक्त गर्नुभयो ।

भूकम्प र भोटेकोसी बाढीले क्षतविक्षत बनाएको सीमाक्षेत्रको सडक निर्माणको काम दु्रत गतिमा अघि बढेको छ । चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनी (सिआरसीसी) ले बाह्रविसेदेखि लिपीङसम्मको २६ किलोमीटर सडक मर्मत स्तरोन्नतीको काम धमाधम गरिरहेको छ । आगामी जेठदेखि तातोपानी नाका संचालन गर्ने तयारीसहित चिनीयाँ पक्षले सीमाक्षेत्रमा नेपालतर्फको सडक मर्मत सुधार र स्तरोन्नतीमा तीव्रता दिएको छ ।

पहिरो पन्छाउँदै चिनीयाँले सडक चौडा गरिरहेको छ । सडक ट्रयाक नै बगेका ठाउँमा नयाँ ट्रयाक खोलिएका छन् । सडक निर्माणको तीव्रतासँगै भूकम्पपछि ‘मानव विहिन’ जस्तै बनेको सीमाक्षेत्रमा चहलपहल सुरु भएको छ । पुल, सडक लगायतका पूर्वाधार निर्माणको काम एकसाथ सुरु हुँदा सुनसान रहेको सीमाक्षेत्रमा चहलपहल बढेको कोदारीका स्थानीय शेरबहादुर मगरले बताउनुभयो ।
बाह्रविसे–तातोपानी सडकखण्डका विभिन्न स्थानमा स्काभेटरले पहिरो पन्छाइरहेका छन् । भोटेकोसीले तानेका विभिन्न स्थानमा सडकमुनी ‘वाल’ निर्माण भइरहेको छ । बाह्रविसे–तातोपानी सडकखण्डको विभिन्न स्थानमा खसेका पहिरो र चट्टान पन्छाउने काम भइरहेको छ ।

चिनीयाँले नेपाल–चीन सीमानाको मितेरी पुलको निर्माण कार्य सुरु गरेको छ । आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरि चिनीयाँले मितेरी पुल निर्माणको काम सुरु गरेको हो । ‘चिनीयाँले चाह्यो भने सडक बन्न धेरै समय नै लाग्दैन, ठूला ठूला पहिरो पन्छाएर सडक फराकिलो बनाइसकेका छन्’, स्थानीय सिद्धिबहादुर श्रेष्ठ भन्नुभयो । सडक निर्माणको कामले गति लिइरहँदा नाका सञ्चालनको आशा जागेको बताउदै उहाँले थप्नुभयो ‘ड्राइपोर्टको काम अन्तिम चरणमा पुगिसकेको छ, सडक पनि साविकको भन्दा फराकिलो बन्दैछ,अब नाका खुल्छ भन्नेमा नाकावासी ढुक्क भएका छन् ।’

सडक निर्माणले तीव्रता पाएसँगै सीमाक्षेत्रमा आशा जागेको छ । साढे तिनवर्षदेखि बन्द रहेको तातोपानी नाका यथासिघ्र संचालन हुनेमा नाकावासीमा विश्वास बढेको छ । ‘मितेरी पुल निर्माणको काम सुरु भइसकेको छ, सडक धमाधम सुधार भइरहेको छ’, भोटेकोसी गाउँपालिका–५ का वडाध्यक्ष सुप्पा श्रेष्ठले भन्नुभयो,‘अब चाही नाका संचालन हुन्छ भन्ने आशा जागेको छ, विश्वास बढेको छ ।’

साता अघिदेखि चिनियाँ कम्पनीले मितेरी पुलको पुनर्निर्माणलाई तिव्रता दिएको छ । भूकम्पमा क्षति पुगेको मितेरी पुलमा राखिएको बेलीब्रीज निकालेर क्षतिग्रस्त पुल भत्काइदैछ । ‘भूकम्पमा क्षति पुगेको पुल भत्काएर नयाँ संरचना निर्माण हुँदैछ’, सीमावर्ति भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयो ।


चिनीयाँले मितेरी पुल निर्माण र बाह्रविसेदेखि लिपीङसम्मको सडक निर्माणमा तीव्रता दिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

उहाँका पौडेलका अनुसार सडक संरचना निर्माणका क्रममा चिनीयाँले लिपीङ बजारको भग्नावशेष पनि पन्छाउने छ । ‘नाका खोल्नका लागि चिनीयाँ पक्ष दिलोज्यान दिएर लागेको देखिन्छ’, पौडेलले भन्नुभयो,‘पूर्वाधार निर्माणका काममा चिनियाँ पक्षले धेरै प्रगती देखाइसकेका छन् ।’ चिनीयाँले रात विहान नभनी सडक र मितेरी पुलको काम धमाधम गरिरहँदा सीमावासीमा थोरै भएपनि खुसी मिलेको छ । भूकम्प र वाढीको पीडामा तिनवर्षसम्म निराशामा बाँचेकाहरुलाई सडक निर्माणको कामले खुसी ल्याइदिएको हो । ‘करोडौं खर्च गरेर चाइनिजले ड्राइपोर्ट बनाएको छ, सडक मर्मत सुधार गरिरहेको छ’, भोटेकोसी गाउँपालिका १ का रामध्वज तामाङले आशा झल्काए ।

०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि नेपाल चीनको प्रमुख ब्यापारिक नाका तातोपानी ठप्प भयो । भूकम्प र त्यसपछिका पहिरोले बाह्रविसेदेखि तातोपानीको लिपीङसम्मको सडक संरचना क्षतविक्षत भएपछि उत्तरी सीमाक्षेत्रले अघोषित नाकाबन्दीको सामना गरिरहेको छ ।

चिनीयाँको अघोषित नाकाबन्दी पछि बाह्रविसेमाथिका तातोपानी, फुल्पिङकट्टी, मार्मीङ, गाती , लिस्ती र घुम्थाङवासीका जनजीवन सकसपूर्ण बन्दै आएको छ । नाका बन्द हुँदा हजारौंका रोजीरोटी गुम्यो, स्थानीय सर्वसाधारणले मजदुरी गर्नसम्म पाएनन् । अर्कातिर भूकम्पको साढे तिन वर्ष बितिसक्दा पनि नाका सूचारु हुन नसक्दा तातोपानी नाकाबाट राज्यले अर्वौको राजश्व घाटा ब्यहोरेको छ । दैनिक तीन करोड हाराहारीको राजश्व संकलन हुने नेपाल–चीनको प्रमुख व्यापारिक नाका तातोपानी साढे तिन वर्षदेखि बन्द हुँदा अर्वौ राजश्व गुमीरहेको छ । अधिकारीहरुका अनुसार भूकम्पपछि नाका ब्युँतन नसक्दा यसबीचमा २५ अर्ब बढि राजश्व गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्