जोखिममा परेको ठानामौलामा एकीकृत बस्ती निर्माण शुरु



पर्वत (नेस)
भुकम्पका कारण जोखिममा परेको पर्वतको फलेवास नगरपालिका–८ ठानामौला स्थित अर्चलेको दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न थालिएको छ । सोही वडाको छतिवन टारीमा स्थानान्तरण गर्नेगरी एकीकृत बस्ती निर्माण शुरु गरिएको हो ।

राष्ट्रिय पूननिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका २० घरलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरि स्थानान्तरण गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतले जनाएको छ । एकीकृत बस्तीको फलेवास नगरपालिकाका नगप्रमुख पदमपाणी शर्माले शिलन्यास गर्नुभएको छ । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले जोखिममा रहेका परिवारलाई एकीकृत बस्ती बनाएर सुरक्षित ठाउँमा राख्न लागिएको बताउँदै बस्तीसँगै अन्य अवसरहरु पनि प्रदान गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । शर्माले उपभोक्ता समितिलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले गण्डकी प्रदेशमै एकीकृत बस्तीको थालनी फलेवासबाट गरिएको बताउँदै नगरभित्रका छरिएर रहेका अन्य बस्तीहरुलाई पनि एकीकृत गर्ने प्रयास भैरहेको बताउनुभयो । शर्माले बस्ती विकास कार्यक्रम अन्तर्गत आगामी पाँच वर्ष भित्रमा नगरका विभिन्न स्थानमा एकीकृत बस्तीहरु निर्माण हुने बताए ।

उहाँले फलेवासका नागरिकहरुको समृद्धिका लागि नगरपालिकाले रचनात्मक कामहरु अघि बढाएको बताउँदै व्यावसायिक कर्ममा लाग्न आग्रह गर्नुभयो । बाँझिँदै गएको खेतवारीमा खेती लगाएर प्रसस्त आम्दानी गर्न सकिने भन्दै शर्माले व्यावसायिक दृष्टिकोण भएका युवाहरुलाई नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जोखिममा रहेको उक्त बस्तीलाई स्थानान्तरण गराउनका लागि आफु पर्वतमा आएदेखिनै पहल गर्दै आएको बताउँदै पूर्वाधार निर्माण र बस्तीका लागि चाहिने अन्य सेवा सुविधा उपलव्ध गराउन पहल गर्ने बताउनुभयो ।

सामुहिक जमिन खरिद गरेर एकिकृत आवास बनाउने प्रकृया शुरु भएपछि बस्ती निर्माणका लागि लाभग्राहिहरुकै सहभागितामा उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिले निर्माणको काम शुरु गरेको स्थानीय अगुवा डिलबहादुर विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्