रूस–नेपाल सहयोग तथा मैत्री समाजको समारोह



कृष्णप्रकाश श्रेष्ठ, मास्को

रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५औं वर्षान्त समारोह हालै सम्पन्न भएको छ। सो अवसरमा मैत्री समाजका सदस्यहरूका अतिरिक्त रूसी लेखक, कवि, कलाकार, पत्रकारलगायत विभिन्न संघसंस्था र निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे प्रमुख अतिथि तथा रूस महासंघको परराष्ट्र मन्त्रालयको द्वितीय एसिया विभागका उपनिर्देशक दानिला भिक्तोरोभिच गानिच विशिष्ट अतिथिको रूपमा निम्त्याइनुभएको थियो।

रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष सेर्गेई मिखाइलोभिच नेक्रासोभले विगत ५५ वर्षदेखि रूस तथा नेपालबीच सम्बन्ध विकासमा गहकिलो योगदान पुर्याउँदै आएको यस सामाजिक संस्थाको क्रियाकलापबारे प्रकाश पार्नुभएको थियो। उहाँले नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष मनाउने क्रममा नेपालको काठमाडौंमा रूसी महाकवि अलेक्सान्द्र पुस्किनको प्रतिमा स्थापना तथा नगरकोटमा दागेस्तानी जनकवि रासुल हाम्जातोभको आवक्ष प्रतिमाको अनावरण गरिएको समेत उल्लेख गर्नुभएको थियो। साथै लुम्बिनीमा रूसको बौद्धविहार निर्माण गर्ने भव्य योजना साकार गर्ने दिशामा कार्य भइरहेको पनि उहाँले उल्लेख गर्नुभएको थियो।

सो समारोहमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको १३ सदस्यीय नयाँ कार्यकारिणी समिति, १२ सदस्यीय संरक्षक परिषद् र ४ सदस्यीय लेखापरीक्षण समितिको निर्वाचन सम्पन्न भएको थियो। कार्यकारिणी समितिमा सेर्गेइ नेक्रासोभ अध्यक्ष, अलेक्सान्द्र सोलोभयोभ यथावत् मानार्थ अध्यक्ष, उपाध्यक्षमा भ्लादिमिर फेदोतोभ, डा. बद्री के.सी., दीनानाथ राजभण्डारी, उपाध्यक्ष–सचिवमा बोरिस भेर्सिनिन र सदस्यहरूमा नेल्ली स्तेपानोभा, सपिला राजभण्डारी, नाताल्या गुबिना, ताच्याना उबुशाएभा, बुलात चिम्बाएभ, शिवमणि भुत्र्याल र भिक्टर जुएभ निर्वाचित हुनुभएको छ।

समारोहको समाप्तिपश्चात् सांस्कृतिक कार्यक्रमअन्तर्गत रूसी, नेपाली र हिन्दीमा समेत रूसी कलाकार तथा नेपाली विद्यार्थीहरूको सहभागितामा बेलावादनसहित शास्त्रीय संगीत, रोमान्स गीत, आधुनिक गीत, नेपाली नृत्य र गीतका साथै फेशन शो पनि प्रस्तुत गरिएका थिए। समारोहका सहभागीहरूको सम्मानमा सन्ध्याभोजको पनि आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्