कोलकातामा वसन्त विमोचित



गीतकार, कवि तथा उद्योगपति वसन्त चौधरीको विभिन्न ९ भाषामा प्रकाशित वसन्त कवितासङ्ग्रह हालै भातरको कोलकाता, पश्चिम बंगालमा विमोचन गरिएको छ। भारत–नेपाल जनमैत्री सांस्कृतिक संघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र रवीन्द्र भारती विश्वविद्यालयका पूर्वकुलपति पवित्र सरकारले संयुक्तरूपमा ९ वटा वसन्तको विमोचन गरेका हुन्।

सो अवसरमा कोलकाता बंगाली भाषीहरूको ठाउँ भएकाले विशेषतः चौधरी बंगाली भाषामा अनुदित वसन्त कवितामाथि प्रकाश पारिएको थियो। कार्यक्रमका सभापति उप्रेतीले ती कविताहरूले बंगाली भाषी पाठकमाझ नेपाली कविताको वैशिष्ट्यलाई चिनाउने गहन कार्य गरेको चर्चा गरे। ‘यस सङ्ग्रहका कविताले वसन्त चौधरीका प्रेमिल काव्य विशेषतालाई पनि त्यत्तिकै उजागर गरेका छन्’ –उनले भने।

रवीन्द्र भारती विश्वविद्यालयका पूर्वकुलपति पवित्र सरकारले यस कृतिले नेपालीमा मात्र होइन, बंगाली काव्य साहित्यमै अनुपम योगदान पुर्याएको चर्चा गर्दै नेपालीबाट अनुवाद भएर बंगाली भाषीमाझ यो कृति आउनुले बंगाली पाठकले पनि नेपाली कविताको शिल्प र महत्व बुझ्ने अवसर पाएकामा खुसी व्यक्त गरे। कृतिको समीक्षा गर्दै बंगाली साहित्यकार डा. सुप्रकाश सरकारले नेपाली साहित्य बंगाली भाषामा आउनु महत्वपूर्ण भएको चर्चा गर्दै यसमा भएका ६० कविताले कवि चौधरीको देशप्रतिको अगाध आस्था, प्रेमप्रतिको समर्पण र आम मानवजातिप्रतिको निष्ठाभाव प्रकट गरेको बताए। ‘उमेरले ६० को जस्केलोमा टेकको अवसरमा रचना गरेका वसन्तभित्रका ६० कविता वसन्त ऋतुझैं सुन्दर र सुवासित छन्। समग्र मानवजातिकै पक्षमा रचिएका कविता छन् भन्ने बोध भएको छ’ –उनले भने।

आप्mनो काव्यकृतिमाथि बोल्दै कवि वसन्त चौधरीले भने– ‘९ भाषामा प्रस्तुत गर्ने क्रममा बंगालीमा पनि यसलाई अनुवाद गर्नुको कारण मेरा कवितामा भएका समकालीन काव्यसोच, प्रवत्तिसँगै मेरो काव्यिक सिर्जनाको शैलीगत अभिव्यक्तिलाई पनि बंगाली भाषाभाषीसमक्ष पुर्याउनु नै हो।’ त्यस अवसरमा आयोजक संस्थामा अध्यक्ष राजु पाठक, कोलकातास्थित नेपाली वाणिज्य दूत एकनारायण अर्याल, भारतका लागि कार्यवाहक नेपाली राजदूत भरतकुमार रेग्मीलगायतले पनि वसन्तबारे चर्चा गरेका थिए।

दुई दिवसीय तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न कार्यपत्र पनि प्रस्तुत गरिएका थिए। प्राज्ञ अमर गिरी, डा. राम्जी तिमल्सिना, प्रा. टेकबहादुर छेत्री, आदिले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमध्ये नेपालबाट प्रतिनिधित्व गर्ने नेप्रपका कुलपति गंगा उप्रेती र कवि वसन्त चौधरी, कवि राजेन्द्र भण्डारीलगायतले ती सत्रको अध्यक्षता गरेका थिए।

यसैबीच गीतकार तथा कवि चौधरीलाई मुख्य अतिथि बनाएर क्रान्तिधरा मेरठ साहित्य महाकुम्भसमेत आयोजान गरिएको छ। सो अवसरमा चौधरीको हिन्दी–अंग्रेजी कवितासंग्रह चाहतोंके साये में विमोचन गरिएको थियो। विमोचित कृतिमाथि समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय, हिन्दी विभाग प्रमुख श्वेता दीप्तिले भनिन्– ‘यस संग्रहका कविताले आफूभित्र सारा आकाश समेटेका छन् जसले कतै कविता, कतै गजल र गीतका माध्यमले सशक्त अभिव्यक्ति दिन्छन्।’ ३ दिने कार्यक्रमअन्तर्गत पहिलो दिनको महाकुम्भभरि चौधरीको कवित्व र उनको व्यक्तित्वमाथि विभिन्न साहित्यकारले चर्चा गरेका थिए।

कवि चौधरीले सो अवसरमा साहित्यका विभिन्न विधाका सम्मान र पुरस्कारहरू पनि प्रदान गरेका थिए। चौधरीले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई व्याख्या गर्ने क्रममा रामायणकालदेखिको उदारहण दिँदै भने– ‘सीताजीको नेपालको जनकपुरमा जन्म भयो र भारत अयोध्याका भगवान् रामचन्द्रसँग विवाह भयो। यसरी आम्रो सम्बन्ध अनादिकालदेखि अविच्छिन्नरूपमा विकसित हुँदै आएको छ।’

प्रतिक्रिया दिनुहोस्