ब्यूँतिदैछ परम्परागत घाम घडी



टीका बन्धन, काठमाडौं । पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो ।

विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्यूँत्याउने तयारी गरिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने ‘नेपाल धुप घडी’ तयार गर्नु भएको हो ।

उहाँले बनाउनु भएका दुई वटा परम्परागत घडीलाई दाङको तुल्सीपुर उप–महानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयले प्रयोगमा ल्याउँदैछन् । आगामी एक महिनाभित्र धुप घडी प्रयोगमा आउँदै बताउँदै तुल्सीपुर उप–उपमहानगरका मेयर घनश्याम पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘एउटा घडी नगरपालिका परिसरमा रहनेछ भने अर्को यहिको राप्ती शान्ति उद्यान परिसरमा राख्ने तयारी गरिएको छ ।’

बैदिकशास्त्रमा भएको विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दै नयाँ पुस्तालाई परम्परागत अभ्यास बुझाउन यस्तो पहल अघि बढाइएको उहाँले जानकारी दिनुभयो।उपमहानगरपालिका र सो विश्वविद्यालयको संयुक्त सहकार्यमा दाङमा प्राचिन विज्ञानको अध्ययन थलो बनाउने तयारी भइरहेको पाण्डेले बताउनुभयो ।
आचार्यले तयार गरेको करिव एक फिट लम्बाई र एक फिट चौडाई घडीको डायल ग्रेनाइड खोपेर तयार गरिएको छ भने समय सूचक सुईमा तामाको पाता प्रयोग गरिएको छ । यस्तो घडीले स्थानीय समय दुरुस्तै बताउन सक्ने खगोलविद् आचार्यको दावी छ । ‘आधुनिक घडीले एकैसाथ देशको समय बताएपनि भूगोल अनुसार स्थानीय समय फरक पर्छ, पूर्वी र पश्चिम नेपालको समय १५ मिनेट अन्तर भइरहेको अवस्थामा स्थानीय समय यकिन गर्न धुपघडी उपयोगी हुन्छ’–उहाँले भन्नुभयो ।

स्थानीय ठाउँको अक्षांश र देशान्तरको आधारमा ध्रुवताराको दिशातर्फ फर्काएर धुपघडी राखिने भएकाले स्थानीय समय सुनिश्चित गर्न सकिने आचार्यको भनाई छ । घाम अस्ताएपछि र मौसम नखुलेको समयमा भने यस्तो घडी सुचारु हुँदैन । धुपघडी नेपालका लागि नौलो अभ्यास भने होइन । काठमाडौंको बसन्तपुरस्थित नासल चोक, त्रिचन्द्र कलेजको घन्टाघरकै समिपमा, स्वयम्भुको सरस्वर्ती मन्दिरसँगै,छाउनी संग्राहलय लगायत जस्ता सार्वजनिक स्थलमा राणाकालमै यस्ता घडी स्थापना भएका थिए ।

जानकारहरुका अनुसार काठमाडौंमा स्थापना गरिएका घडी अहिले कामै नलाग्ने गरी विग्रिसकेका छन् । धेरै यूरोपेली मुलुकका चोक–चोकमा अझै पनि परम्परागत घडी देख्न सकिने आचार्य बताउनहुन्छ । विगत एक सयवर्षयता यस्ता घडी सार्वजनिक स्थलमा नदेखिएको बताउँदै उहाँले भन्नुभयो–‘नेपालमा १ शताब्दीपछि यस्तो घडी प्रयोगमा आउँदैछ ।’

प्रतिक्रिया दिनुहोस्