वडा सदस्यको नेतृत्वमा बालुवा तस्करी



मोतीराम तिमल्सिना, काभ्रे । भुम्लु गाउँपालिका– ६ स्थित सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा चोरी गर्ने वडा सदस्य सहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वले दवाव दिएका छन । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।
गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज खड्काले गिरोहका सदस्यलाई पक्राउ गरी कारवाही शुरु गरेको बताउनुभयो ।
‘सुनकोशी र पाँचखाल लगायतको क्षेत्रमा बालुवा चोरी गर्ने गिरोहलाई पक्राउ गर्न अभियान शुरु गरिएको छ’–एसपी खड्काले भन्नुभयो–‘प्राकृतिक श्रोतको दोहन गर्ने समुहलाई कारवाही हुन्छ ।’

भुम्लु गाउँपालिकाले सुनकोशी क्षेत्रमा बालुवा उत्खनन गर्न मसिंर ३ गते एक महिने बोलपत्र आब्हान गरेको थियो । बोलपत्र खरिद गर्ने समय पुस ४ गतेसम्म रहेको छ । ७ करोड रुपैयाको बोलपत्र निकालेपछि ब्यवसायीहरुले बालुवा खरिद विक्री गर्नु अगावै गिरोहले खोलाबाट बालुवा चोरी गरेको हो । चोरी गरिएको बालुवाको राजश्व मात्रै झण्डै २६ लाख हुने र यो गाउँपालिकाको आम्दानी गुमेको छ ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकाले कानुनी रुपमा बोलपत्र गर्न आब्हान गरे लगत्तै खोलाबाट बालुवा चोरी भएको बताउनुभयो । ‘को हो गिरोह थाहा छैन, गाउँपालिकाले बोलपत्र गरेको छ’–गाउँपालिका अध्यक्ष कुँवरले भन्नुभयो–‘झण्डै एक हजार ट्रिप बालुवा चोरी भएको छ । केही ट्रक विक्री भएको छ भने केहि थुपारिएको अवस्थामा फेला परेको छ ।’
सो गाउँपालिका ६ का वडा सदस्य लोकबहादुर माझी समेत बालुवा चोरीमा संलग्न भएका छन् । उनकै नेतृत्वमा सोही स्थानमा सबै माझीहरुको सहभागितामा बालुवा उत्खनन भएको हो । वडा सदस्य सहित ९ जना माझीहरु पक्राउ परेका छन् । मुख्य गिरोह अझै फरार रहेको प्रहरीले बताएको छ ।

सुनकोशी नदी किनारामा केही महिना देखि स्काभेटर लगायत अत्याधुनिक मेशीनहरुको प्रयोग गरी बालुवा उत्खनन गरिरहेको सूचना प्रहरीलाई स्थानीयले दिएका थिए ।

प्रहरी रोक्न जाँदा प्रहरीलाई समेत अपशब्द बोल्दै नियन्त्रणमा लिन खोज्ने समुहलाई प्रहरीले मसिंर २३ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भुम्लु गाउँपालिका ६ का मधु माझी, रामशरण माझी, दीपक माझी, पुस्कर माझी, कान्छामान माझी, विक्रम माझी,सञ्जिव माझी, लोकबहादुर माझी र उर्मिला माझी रहेका छन् ।

भुम्लु गाउपालिका १ सिम्लेमा पनि ब्यापक बालुवा उत्खनन गरि थुपारिएको छ । बालुवा तस्करहरुले रातीराती विक्रि गर्ने गरेको स्थानीयले बताएका छन । सिन्धुपाल्चोक र काभ्रेको सिमानामा रहेको यो स्थानमा बालुवा उत्खनन गर्ने विषयमा केही दिन अघि चर्को विवाद पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्