मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी



सप्तरी । रामजानकी विवाह महोत्सवमा विशेष पाहुन बनेर आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ । रामजानकी विवाह महोत्सवका लागि चार हजार जति सुरक्षाकर्मी खटिने प्रदेशका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रदेश अन्तर्गतका आठ जिल्ला बाहेक प्रदेश नम्बर १ र ३ बाट समेत सुरक्षाकर्मी आउने भएका छन् ।’

रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी नै खटिने छन् । यसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट गरी एक हजार नेपाल प्रहरी खटिनेछन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाहरुबाट सय जनासम्म प्रहरीलाई जनकपुर बोलाइएको छ । प्रत्येक जिल्लाका प्रहरी नायव निरीक्षक (डीएसपी) को नेतृत्वमा सय जना प्रहरीलाई बोलाइएको छ ।

‘एक हजार प्रदेशभित्रकै प्रहरी हुनेछन्’ प्रदेश प्रहरी प्रमुख पालले भने, ‘बाँकी दुई हजार प्रदेश १ र ३ बाट बोलाइएको छ । भरतपुर तालिम केन्द्रबाट पनि आउने छन् ।’

यसबाहेक एक हजारको हाराहारीमा सशस्त्र प्रहरीलाई परिचालन गरिने उनले जानकारी दिए । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने डीआईजी पालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्