लैंगिक हिंसाविरुद्ध सडकमै नाटक



दैलेख, (नेस)। लैंगिक हिंसाविरुद्ध दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा सांगीतिक सडकनाटक प्रदर्शन गरिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइडिया नेपाल सुर्खेतको आयोजनामा उक्त सडकनाटक प्रदर्शन गरिएको हो।

लैंगिकतामा आधारित हिंसाविरुद्धमा विश्वभर मनाइने १६ दिने अभियानका अवसरमा उक्त नाटक प्रदर्शन गरीएको हो। नेपाली समाजमा बढ्दो महिला हिंसा न्यूनीकरण गर्ने धेयले दैलेखमा पनि सडकनाटक प्रदर्शन गरिएको आइडिया नेपाल सुर्खेतका संस्थापक अध्यक्ष एंव मानव अधिकारकर्मी रचना सुनारले बताइन्।

नाटकमा बलात्कार, घरेलु हिंसा, विवाहपछि पढाइमा वञ्चित गराएर घरमै राखेको, बोक्सीको आरोपमा कुटपिट गरेको, विद्यालयमा अध्ययनरत किशोरीलाई तेजाब खन्याएको जस्ता विषय उठान गरिएको थियो। लैंगिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने नाराका साथ चलिरहेको अभियानको अवसरमा प्रदर्शन गरिएको सांगीतिक सडकनाटकले महिला हिंसा अन्त्यका लागि एउटा इट्टा थपेको नारायण नगरपालिका–१ का वडासदस्य रमेश केसीले बताए। सडकनाटकमा अञ्जना सुनार, भूमिका परियार, कल्पना सुनार, सीमा सुनार, निर्मला विश्वकर्मा र प्रभा विकले अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्