पैसा कसले बनायो? हिट गीतका गुमनाम गायक दिनेश गौतम



रश्मी थापा
पैसा कसले बनायो, मुटुको घाउ दुखेर रोएँ, इमान बेचिदिन्छ मान्छे जस्ता गहन र सजीव गीतका गायक हुन् दिनेश गौतम, सँगसँगै प्रभावशाली संगीतकार र रचनाकार पनि। संख्यात्मकरूपमा उनका धेरै गीत बजारमा आएका छन् भने उनको संगीतमा चर्चित गायक गायिकाहरूले स्वर भरेका छन्। तर उनको गुनासो छ– ‘गीत चल्यो स्वदेश तथा विदेशका विभिन्न स्टेजमा मेरो गीत अरूले गाए पनि।

तर जति गीत चल्यो, त्यति नामका हिसाबले अगाडि आउन सकिनँ। मैले गाएको र मलाई पहिचान दिलाउने पैसा कसले बनायो गीत विदेशका विभिन्न कामर्यक्रममा अरूले गाउनुहुन्छ तर उहाँहरू मेरो नामसमेत लिइदिनुहुन्न। जसले गर्दा यो गीत दिनेश गौतमको हो भनेर धेरैले चिनेका छैनन्। एकपटक जितु नेपाल दाइसँग बहराइनमा कार्यक्रम गर्न गएको थिएँ। मैले पैसा कसले बनायो गाउँदा यो गीत तपाईंको हो र? धेरैवटा कार्यक्रममा शिव परियारले यो गाउनुभएको थियो। त्यसैले मैले त शिव परियारकै गीत होला भन्ठान्या थिएँ। अरू साथीहरूले पनि धेरैपटक यस्तो भनेका छन्। अरूको गीत गाउनै नहुने त होइन। हामी पनि अरूकै गीत गाएर हुर्केका हौं। तर गाइसकेपछि कसको गीत हो सम्म भनिदिए राम्रो हुने थियो।’

केही दिनअघि मात्र दिनेशले आफ्नो स्वर संगीत तथा शब्दमा फर्केर आएन मायालु बोलको गीत दर्शकमाझ ल्याएका छन्। ‘गीतको रेस्पोन्स राम्रो आइरहेको र युट्युबमा राम्रै भ्युज गइरहेको छ। यसका साथै घर बनाउला बासै काटेर बोलको गीतको तयारीमा छु। जुन गीतको म्युजिक भिडियो यही महिनाको लास्ट विकमा सुटिङ हुँदै छ’ –उनले भने।

२०५९ सालमा निष्ठुरी नामक एल्बम बजारमा ल्याएका उनी २०५६ सालमा काठमाडांै पसेसँगै गीत गायनमा लागेका थिए। ‘जुन समयमा संगीतमा लागियो, त्यो समयमा नयाँ कलाकारहरूका लागि अत्यन्तै संघर्ष गर्नुपर्ने अवस्था थियो। आफ्नो गीत निकाल्न संगीतकारहरू चिनेका हुनुपर्ने, आफूसँग ट्यालेन्ट हँुदाहँुदै पनि उहाँहरूलाई खुसी पार्नुपर्ने, आफूले लगानी गर्दागर्दै पनि क्युको नाममा क्यासेट कम्पनीहरूमा एक÷दुई वर्ष नै धाउनुपर्ने स्थिति थियो। अहिले त डिजिटल जमाना आएको छ।

आफ्नो गीत संगीत बजारमा ल्याउनका लागि धेरैथरिका माध्यम छन्। त्यतिखेर जस्तो गाह्रो अहिले छैन’, दिनेश सम्झन्छन् ‘संगीतमा लाग्दा स्ट्रगल निकै गरियो। जुन सम्झँदा अहिले गर्व लाग्छ। आत्म सन्तुष्टिका लागि गरिएको संघर्ष मलाई कहिल्यै पनि संघर्षजस्तो लागेन। फेरि म संघर्षमै रमाउने मान्छे हु। जीवनमा दुःख भएन भने के नपुगेको के नभएको महसुुस हुन्छ। दुःखसँग मेरो बढी नै लगाव छ। सुरुआती समयमा संगीत क्षेत्रमा भएको असफलतालाई म असफलता मान्दिनँ। पछि गएर यही असफलता सफलताको कडि बन्न सक्छ’ु

पहिलो एल्बमलाई उनले प्रयोगात्मक एल्बमका रूपमा लिएका रहेछन्। दोस्रो पैसा कसले बनायो नामक एल्बमको पैसा कसले बनायो गीतले उनलाई दिनेश गौतम भनेर चिनायो। यो गीत लिएर उनी इजरायल, बहराइनजस्ता देशहरूमा पनि कार्यक्रमका लागि गए। त्यसपछि शितल कादम्बिनीको शितल, बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीको चुपचाप चुपचाप लगायतका एल्बममा छाए भने प्रजुशा, प्रभाव, ईश्वर, माफ गर जस्ता एकदर्जन सोलो एल्बम उनको एकल कम्पोजिसन र गायनका एल्बम हुन्। साथै उनले फिल्म अभैm पनि र बिदाइमा समावेश गीतहरूमा गीत र संगीत दिएका छन्।

आधुनिक गीत गायन, संगीत र शब्द लेखनसंँगै उनी पुस्तक लेखनमा पनि सक्रिय छन्। पुस्तकप्रसादको पुस्तक नामक गजलसंग्रह र फेरि गीत फेरि गजल नामक गीत गजलसंग्रह उनका प्रकाशित कृतिहरू हुन् भने डाली नामक पुस्तक प्रकाशनको तयारीमा रहेको छ। गीत गाउँदा दिनेश गौतम लेख्ने उनी शब्द र पुस्तकमा भने पुस्तकप्रसाद लेख्छन्। पैसा कसले बनायो, इमान बेचिदिन्छ मान्छे, फर्केर आएन मायालु, मोरीले भेट्छु जस्ता थुप्रै गीत रचना गरेका उनले आफ्नो गायन तथा संगीतकर्मको करिअरमा मधुरीमा कला केन्द्र, गुरु कामत, धनबहादुर गोपाली तथा भारतीय संगीत गुरु अरीन्दम मुखोपाध्यायसँग संगीतको ज्ञान हासिल गरेका छन्। उनको संगीतमा भारतीय गायक राजा हसन, सानलगायत नेपालका चर्चित गायकगायिकाहरू राजेशपायल राई, अन्जना गुरुङ, मेलिना राई, प्रमोद खरेल, शशी रावल, माण्डवी त्रिपाठीलगायतले गाएका छन्।

दिनेश गीत संगीतमा आकर्षित हुनुपछाडि पनि एउटा रमाइलो किस्सा रहेछ। ‘स्कुलमा हुँदा मेरो एकजना गोविन्द भन्ने साथीले शुक्रबारको दिन एउटा गीत गायो। उसको गीत सुनेर सबैजनाले ताली बजाए। मलाई यो देखेर इश्र्या भयो। म सानैदेखि बदमास थिएँ। होहल्ला र झगडा गर्ने भएकाले गाली खान्थें। मैले ताली पाउने काम केही गरेको थिइनँ। त्यो गोविन्दले गीत गाएर ताली पाउने तर उसले गीत गाउँदा मैले ताली बजाउनुपर्ने भन्ने इगो जाग्यो’, दिनेशले सुनाए ‘अब म पनि गीत गाएर त्योभन्दा धेरै ताली पाउँछु भन्ने सोच आयो। क्यासेट र अडियोहरू संकलन गरेर घरमा बसेर गीत सुन्न थालें। खेतमा जाँदा, बाख्रा सार्दा, डेरीमा दूध पुर्याउँदा र गाग्रीमा पानी बोक्दा गीत गुनगुनाउँदै हिँड्न थाले। करिब एक महिनापछि मैले स्कुलमा सबैको अगाडि डराई डराई गीत गाएँ। त्यहाँ एक किसिमको सन्नाटा छायो। सबैले गीत मन पराएपछि मलाई गीत गाउने लत नै लाग्यो।’

विद्यालय जीवनमै जनयुद्धमा लागेका दिनेश पछि भने जंगल जान नसक्ने र गाउँमा बस्न पनि नसक्ने स्थिति भएपछि काठमाडौं आएका रहेछन्। ‘७ कक्षामा हुँदा जनयुद्धमा लागियो। स्कुलमा माहोल नै त्यस्तो थियो। म पनि क्रान्तिकारी भई अर्धभूमिगतरूपमा हिँड्न थालें। यसरी हिँड्दा विभिन्न स्टेज कार्यक्रममा गीत गाउने र जनवादी गीतहरू लेख्ने गर्थें। गीत लेख्दा म आफ्नो नाम पुस्तकप्रसाद लेख्थें।

एसएलसी दिनुभन्दा ३ महिनाअघि मेरो नाम फ्ल्यास भएपछि मलाई आर्मीले खोज्न थाल्यो। वीरगञ्ज प्रहरी कार्यलयले मेरो खोजीका लागि घरको नक्सा नै तयार गरेर लागेको थियो। यस्तो भएपछि म बिहान ४ बजेको बस चढेर काठमाडौं आएको थिएँ’, उनी सम्झँदै थिए– ‘पछि बुबाले भन्नुहुन्थ्यो– १९ जना आर्मीले घर घेरेका थिए। मेरो कोठामा भएको फोटो देखाउँदै यही होइन तेरो छोरा? भेट्नासाथ गोली ठोक्छु भनेछन्। मलाई भेटेको भए के हुन्थ्यो भन्न सकिन्न।

त्यसरी काठमाडौं आएपछि अब जनयुद्धमा लाग्दिनँ। बरु संगीततिर लाग्छु भनेर बाटो मोडें। पार्टी छोडेपछि पनि मलाई माओवादीले नै हेटांैडाबाट किडन्याप गरेर ३ दिनसम्म जंगल घुमाएर राख्यो। पछि यो हाम्रै पार्टीको मान्छे रहेछ भन्ने थाहा पाएपछि उनीहरूले मलाई छाडिदिएका थिए। यो २०५८ तिरको कुरा थियो।’ दिनेशले धाराप्रवाहरूपमा सुनाए– ‘काठमाडौंमा आएपछि पनि माइला लामा दाइको साथ माओवादी कलाकारहरूलाई ट्रेन गराउने काममा मलाई लगाइयो। सामनाको टिममा पनि हिँडियो। स्टेजमा जेपी दाइ, रामेश, रायन दाइ, माइला दाइहरूजस्ता कम्युनिस्ट कलाकारहरूसँग जनवादी गीत गाएर पनि हिँडियो। तर कम्युनिस्ट पार्टीको सिद्वान्तचाहिँ मान्छेलाई प्रयोग मात्र गर्ने भएका कारणले मैले पार्टी छोडिदिएँ।’

बाराको निजगढमा २०४० सालमा जन्मेका उनी संगीतमा लागेर सबैभन्दा ठूलो कुरा नाम पाएको बताउँछन्। ‘दिनेश गौतम भनेर नाम पाएँ। गीत हिट भए पनि नभए पनि यौटा राम्रो गायक बन्न सकौं भन्ने चाहना थियो। यसका लागि अझै कोसिस गर्दै छु। हामी मध्यम वर्गका मान्छे भएकाले म संगीतमा लाग्ने बेला परिवारले गायनको क्षेत्रमा लाग्न कहाँ सम्भव हुन्छ र भन्नु हुन्थ्यो। संगीतमा लागेर केही हँुदैन भन्ने भ्रम उहाँहरूमा थियो र यसमा नलाग्न मौन दबाब थियो। तर अहिले अरू कामतिर लाग्दा अन्त नभड्की अरू काम नगर संगीतलाई नै अगाडि लैजा भन्नुहुन्छ। कम्तिमा परिवारले गौरव गर्नहुन्छ, यही खुसी लाग्छ’ –दिनेश भन्छन्।

नेपाली सांगीतिक बजार अहिले तुलनात्मकरूपमा राम्रो भएको दिनेश बताउँछन्। ‘इकोनमीकल्ली कलाकारका लागि एउटा गीत हिट भइसकेपछि राम्रो छ। स्टेज प्रोगाम र युट्युब राम्रो इनकमको स्रोतका रूपमा विकास भएको छ। तर नढाँटी मेरो व्यक्तिगत अवस्थाको बारेमा भन्दा मेरो गीत हिट भए पनि जति व्यस्त हुनुपर्ने त्यति नभएका कारण गीत संगीतबाट कमाएको छैन’ –उनले भने। संगीतमा आउने नयाँ पुस्तालाई उनी भन्न चाहन्छन्– ‘नयाँ पुस्ता संगीतमा आउँदा यौटा सपना देखेर आउने र सफलता नपाउँदा विचलित हुने समस्या छ। त्यसकारण जुन प्याटर्नको गीत गाए पनि क्षमता कम या बढी होला, आफूले राम्रो काम गर्दा पनि सफलता प्राप्त नहोला। यसका लागि मानसिकरूपमा बलियो भएर आउनुपर्छ। बाँकी कुरा त संगीतले सिकाइहाल्छ।’

विद्यालय जीवनमै जनयुद्धमा लागेका दिनेश पछि भने जंगल जान नसक्ने र गाउँमा बस्न पनि नसक्ने स्थिति भएपछि काठमाडौं आएका रहेछन्। ‘एसएलसी दिनुभन्दा ३ महिनाअघि मेरो नाम फ्ल्यास भएपछि मलाई आर्मीले खोज्न थाल्यो। यस्तो भएपछि म बिहान ४ बजेको बस चढेर काठमाडौं आएको थिएँ। कम्युनिस्ट पार्टीको सिद्वान्तचाहिँ मान्छेलाई प्रयोग मात्र गर्ने भएका कारणले मैले पार्टी छोडिदिएँ।’

प्रतिक्रिया दिनुहोस्