जुरेपीडित भन्छन्, हाम्रो पैसा हामीलाई नै देउ



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जुरे विनाशलीलाको ५१ महिनापछि पीडितका नाममा संकलित रकम सरकारी खाताबाट फुकुवा भयो । जुरेपीडितका नाममा सरकारी खातामा जम्मा भएको २ करोड २५ लाख रुपियाँ साढे ४ वर्षपछि फुकुवा भएतापनि भूकम्पपीडित लाभग्राही बनेर पुननिर्माण अनुदान लिएकाहरुलाई नदिने शर्त अघि सारीएपछि जुरेपीडितहरु आक्रोशित बनेका छन् ।

शनिवार पहिरोस्थलमै भेला भएर जुरेपीडितहरुले आफ्ना नाममा संकलित रकम आफुहरुले निर्शत रुपमा पाउनुपर्ने आवाज उठाएका छन् । उनीहरुले पहिरोपीडित(आफुहरु) का नाममा संकलित रकम तलमाथि गर्न खोजे संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

‘सरकारको निगाहा चाहिँदैन, हाम्रा नाममा संकलित रकम हामीलाई नै देउ भनेका हौं’, पहिरोपीडित राम बहादुर तामाङले भने । पहिरोमा सर्वस्व गुमाएकाहरुको संवेदनामाथि खेलवाड नगर्न सरकारलाई पहिरोपीडितहरुले आग्रह गरेका छन् ।

पहिरोपछि हामीले टाउको लुकाउने छाप्रा बनायौं, त्यही छाप्रा पनि भूकम्पले भत्काइदियो । अनि हामी कसरी भूकम्पपीडित भएनौं ? सरकारले जुरेपीडितका लागि आफुपनि माखो नमार्ने, हाम्रा नाममा आएको रकम पनि हडप्न खोज्ने ?

सरकारले जुरे पहिरोका पीडितका लागि केहि पनि नगरेको र उल्टै पहिरोपीडितका नाममा दाताहरुले जम्मा गरिदिएको पैसामा गिद्धे नजर लगाउन खोजेको उनीहरुले आरोप लगाएका छन् । ‘सरकार हामी पहिरो पीडितका लागि केहि गर्न पनि नसक्ने, उल्टै हाम्रो पैसा हडप्न खोज्ने ?’, जुरे पहिरो पीडित संघर्ष समितिका अध्यक्ष कृष्णबहादुर तामाङले भने,– ‘भूकम्पसँग जोडेर पहिरोपीडितमाथि खेलवाड हुँदैछ, त्यसको प्रतिवादमा हामी उत्रनेछौं ।’

साढे ४ वर्षपछि पहिरोपीडितका नाममा संकलित रकम फुकुवा भएपनि भूकम्पपीडितको अनुदान लिएकाहरुलाई रकम नदिनु भन्ने सरकारी आशयले जुरेपीडितहरुमा आक्रोश बढिरहेको पहिरोपीडित स्थानीय रमेश श्रेष्ठ बताउँछन् । जुरे पहिरोका पीडितहरु भूकम्पबाट पनि पीडित बनेको भन्दै पहिरोपीडितका नाममा जममा भएको रकम पहिरोपीडितले नै पाउनुपर्ने उनले बताए ।

विभिन्न संघसंस्था र ब्यक्तिहरुले हाम्रो पीडा देखेर राहतका लागि पैसा जम्मा गरेका हुन् । सरकारको पैसा हैन, हाम्रा नाममा जम्मा भएको पैसा हामीलाई नै चाहियो ।

‘सरकारको पैसा माग्या हैन, पहिरोपीडितले आफ्ना नाममा आएको पैसा खोजेका हुन्’, उनले भने,–‘हामीलाई कुनैपनि शर्त स्विकार्य हुनेछैन, पहिरो पीडितका नाममा आएको रकम पहिरो पीडितले नै पाउनुपर्छ ।’ जुरे पहिरो पीडितहरु भूकम्पबाट पनि पीडित भएको भन्दै दुई अलग सन्दर्भलाई जोडेर हेर्न नहुने स्थानीय अगुवा केशव नेपालले बताए । ‘पहिरोका पीडितहरु भूकम्पबाट पनि पीडित भए’, उनले ब्यङग्य गर्दै भने,–‘जुरे पहिरोबाट पीडित हुन् भनेर भूकम्पले केहि गरेन र ?’

पहिरो पीडितका नाममा संकलित रकम पहिरो पीडितले नै पाउनुपर्नेमा स्थानीय जनप्रतिनीधिहरुले पनि जोड दिएका छन् । भूकम्पको सन्दर्भ जोडेर पहिरोका पीडितहरुमाथी अन्याय गर्न नहुने बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरिबहादुर तामाङ बताउँछन् । ‘पहिरोमा सर्वस्व गुमाएका पीडितहरुमाथि अन्याय हुनुहुँदैन’, अध्यक्ष तामाङले भने,–‘पहिरो पीडितका नाममा आएको पैसा निशर्त रुपमा पहिरो पीडितले नै पाउनुपर्छ ।’ पहिरो पीडितलाई न्याय दिलाउनका लागि आफुहरु सदैव लागिपरेको भन्दै सम्बन्धित निकायमा अनुरोध गरिएको उनले बताए ।

हाम्रा खेतियोग्य जमिन बगेका छन्, घर छैन, हामीले परिवार गुमायौं यहि पहिरोमा । हाम्रै नाममा आएका रकममा सरकारले गिद्धे नजर लगाउँदैछ । गृह मन्त्रालयले निर्णय नसच्याए हामी संघर्षमा उत्रन्छौं ।

पहिरोको ७ दिनपछि तत्कालिन जिल्ला दैवी प्रकोप उद्धार समितिले ३ महिनाभित्र पहिरोपीडितका नाममा संकलित रकम यथोचित रुपमा वितरण गर्ने निर्णय गरेको थियो । तर ३ महिनाभित्र रकम वितरण हुन नसकेपछि केन्द्रिय दैवी प्रकोप उद्धार समितिले जिल्ला दैवी प्रकोप उद्धार समितिको उक्त खाता रोक्का गरेको थियो । ०७३ बैशाख २७ गते मन्त्री परिषदले भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका जुरे पीडितका हकमा भूकम्प र पहिरो पीडितको दोहो सुविधा नदिने निर्णय गरेको थियो ।

पहिरो प्रभावितमध्ये भूकम्प प्रभावित लाभग्रहीको सूचीमा नपरेकाहरुलाई पुनस्थापना गर्नका लागि पछिल्लो पटक जिल्ला विपद व्यवस्थापन समितिको निर्णय सहित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा माग गरेपछि मन्त्रालयले कार्तिक १४ गते रोक्का रहेको उक्त खाता फुकुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्