हराएका लाभग्राहीको खोजी गर्दै पुनर्निर्माण प्राधिकरण



पुष्कर बुढाथोकी, भक्तपुर
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले स्थलगत रुपमा जनताका घर दैलोमा पुगेका प्राविधिकसँग प्रत्यक्ष अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै जीएमएएलआई भक्तपुरका प्रमुख ध्रुव गैडाले लाभग्राहीको सुचीमा परेर पनि अनुदान लिन नआएका लाभग्राहीको तीब्र खोजी गरिएको सन्दर्भमा खटिएका टोलीले वडा वडामा लाभग्राहीको समस्या सुन्दा र समाधानकाबारे छलफल गर्दा किस्ता लिन नआउनुको कारण के रहेछ भनी पत्ता लगाउँने, पहिलो किस्ता ल्याएकाले घर बनाउँन सुरु गरे वा नगरेकोबारेमा जानकारी लिने, नगर्नेहरुले किन नगरेका हुन् भन्नेबारेमा समस्याको जानकारी लिन उदेश्यले यो अन्तरकृया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

भूकम्पपीडित, प्राधिकरण र प्राविधिकका आ–आफ्नै गुनासो

लाभग्राहीको सूचीमा परेर अनुदान सम्झौता भई पहिलो किस्ता लगेर पनि दोश्रो किस्ता लिन नआउँनुको कारण खोजी गर्न यो अभियान संचालन गरेर टोली खटाईको गैंडाले बताउनुभयो । उहाँले भन्नुभयो– “समस्या धेरै छन्, समस्याको पहिचान गर्नु अति आवश्यक छ, सम्झौता गरेर रकम लगेर पनि काम सुरु नगर्ने कति छन्, काम सुरु गरेका कति छन्, समस्या के कस्ता छन्, समस्याको पहिचान गर्दै कसरी समाधान गर्ने भन्नेबारेमा जानकारी लिन प्राबिधीक टोली परिचालन भएको हो ।”

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका सीडीई महालक्ष्मी जोशीले सेवाग्राहीका फाईल तुरुन्त अगि बढाउन,प्राबिधिकको संख्या नपुगेको भए भन्न, ल्याबटव बिग्रेको भए खबर गर्न तर काममा आलटाल नगर्न प्राबिधिकहरुलाई निर्देशन दिनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले जिल्ला आयोजना कार्यान्वयन एकाई र प्राबिधिकबीच राम्रो समन्वय हुनुपर्ने, जनतामा प्रत्यक्ष पुग्ने प्राबिधिकलाई अनुदान सहयोग बारे सबै जानकारी हुनुपर्नेमा जोड दिंदै ईमान्दार, समझदार र जिम्मेवार भएर काम गर्न प्राबिधिकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका ईन्जिनियर संगीता चिकंबन्जार, भक्तपुर नपाका ईन्जिनियर सम्झना श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका ई.सम्झना पौडेल, सुर्यबिनायक नगरपालिकाका ई.सरोजा श्रेष्ठलगायतले लाभग्राहीको घरदैलोमा पुग्दाका प्रत्यक्ष अनुभव सुनाउनुएको थियो ।

उहाँहरुले समयमा तलब नपाएको,निर्माण सम्पन्नको मापदण्ड निश्चित नभएको, तेस्रो किस्तापछि सेवाग्राहीले निर्माण सम्पन्न लिन वास्ता नगरेको र सेवाग्राहीले सहुलियत ऋण नपाएको बारे धेरै गुनासो गर्ने गरेको बताउनुभयो । सरकारले पटक पटक लाभग्राहीलाई दिने लाभ सम्बन्धी मापदण्ड र रकम बारेको नीति नियम परिवर्तन गर्दा पनि समस्या भएको भक्तपुर नपाका ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेर पनि सरकारले घर निर्माणका लागि दिएको अनुदान लिन नआएका लाभग्राही भक्तपुरमा धेरै छन् ।कार्यालय प्रमुख गैंडाले भन्नुभयो–“भूकम्पको लाभग्राही सूचीँमा परेका तर पहिलो किस्ता पनि लिन नआएका र पहिलो किस्ता लगेर दोश्रो किस्ता लिन नआएका लाभग्राहीको टोलटोलमा टोली खटाएर ४ महिनादेखि खोजी जारी राखेका छौ ।”

जिल्ला पुनर्निर्माण सहजिकरण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले चार वटा निर्णय गरेसंगै टोली खटाएर हराएका लाभग्राही खोजी सुरु भएको थियो ।
प्रमुख गैडाले भदौ देखि नै जिल्लाका चारवटै नगरपालिकाका वडा कार्यालयहरुमा टोली पठाएको जानकारी दिदै वडा कार्यालय एवं स्थानीय जनप्रतिनिधीहरुसंग समन्वय गर्दै लाभग्राही सूचीमा परेर पनि अनुदान लिन नआएका र पहिलो किस्ता लगेर दोश्रो किस्ता लिन नआएकाको खोजी गरिएको बताउनुभयो ।

प्रमुख गैडाका अनुसार भक्तपुरमा २८ हजार ३०८ लाभग्राही संख्या रहेको छ भने २४ हजार १४४ लाभग्राहीले पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेर अनुदानको पहिलो किस्ता लगेका छन् । त्यस्तै दोश्रो किस्ता लिनेमा ६ हजार ७ सय १३ र तेस्रो किस्ता लानेमा ६ हजार १ सय ७६ लाभग्राही छन् ।

टोलीले वडा कार्यालयमा गएर जनप्रतिनिधीसंग समन्वय गरेर लाभग्राहीको खोजी गरेपनि निश्चित ठाउँ छुट्याएर घरघरमा गएर पनि यसबारे सर्वे गरिरहेको छ । जीएमएएलआइले पहिलो किस्ता लिएर घर नबनाएका लाभग्राहीलाई कि छिटो घर निर्माण गर्न नभए रकम फिर्ता गर्न र घर निर्माण गर्न झण्झट भए किन घर नबनाएको हो स्पष्ट पार्न र देश भर कहीं भुकम्पले नभत्किएको घर भए घर छैन भनी लाभ नलिन समेत आग्रह गरेको छ । यदि नियम बिपरीत लाभ लिएको भए नियमअनुसार कारवाही हुने समेत कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्