निःशुल्क चिकित्साले भिक्षु बनायो



पतञ्जलि–९ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

गोत्रकार महर्षि आत्रेयका यसै वंशमा कृष्णद्वैपायन व्यासका समकालीन मानिने एउटा अर्का आत्रेय जन्मे— कृष्ण आत्रेय। यिनी शालाक्य तन्त्रका विद्वान् थिए। कृष्णात्रेयको आश्रम पनि हिमवत्पाश्र्वमा थियो। यिनलाई अगाडि सारेर ऋषि–महर्षिहरू विविध कथा एवं शास्त्रचर्चा गर्दथे। यिनले पनि पारम्परिक कुलविद्या आत्रेयसंहिताका आधारमा चिकित्सा गर्दै लोकोपकारमा जीवन बिताए।

यसै परोपकारी आत्रेय वंशमा एकजना अर्का भिषगाचार्य भए। यिनले पनि स्वशाखीय वेदको अध्ययनपश्चात् पारम्परिक विद्या पढे र लोकोपकारकै कार्य अँगाले। जनसंख्या वृद्धि, प्राकृतिक फेरबदल, रहनसहन, खानपान आदिमा परिवर्तनले गर्दा समाजमा नयाँ–नयाँ रोगको प्रादुर्भाव हुन थाल्यो।

यिनी अहर्निश रुग्णजनको सेवामा समर्पित थिए। रोगीहरूको चिकित्सा गर्दा उनलाई फुर्सदै नमिल्ने भयो। चिकित्सा निःस्वार्थ र निःशुल्क हुन्थ्यो। आयस्रोतको अभावमा उनलाई परिवार पाल्न पनि धौ–धौ भयो। लालाबाला भोकभोकै रहने स्थिति आयो। पछि–पछि यिनले रोगीको चिकित्सा गरेकै घरहरूमा भिक्षाटन गरेर जीवनयापन गर्नुपर्ने भयो। यी परोपकारी आत्रेय लोकमा भिक्षु आत्रेयका नाउँले प्रसिद्ध भए। पुरातन आनुवांशिक आयुर्वेद ग्रन्थलाई समयानुकूल सम्पादन गरेर सामयिक बनाउनुपर्ने समस्या पहिलेदेखि नै थियो।

यिनका सामु पनि आयो। आत्रेय संहिताको सम्पादनको त के कुरा ? दिनहुँ घरमा आउने र घरबाहिर गएर पनि चिकित्सा गर्नुपर्ने रोगीको अत्यधिक चापले गर्र्दा यिनले आफ्नो गृहस्थी पनि राम्रोसँग चलाउन भ्याएनन्।

लोकोपकारमा व्यस्त भिक्षु आत्रेयले आत्रेय संहितालाई फुर्सदको अवसरमा यदाकदा थपघट र परिष्कार गर्ने प्रयास त निकै गर्दथे तर आफूले चाहेजस्तो स्वरुप दिन भ्याएका थिएनन्। आफ्नो जीवनको अन्तिम समयसम्म पनि यसमा लगातार परिश्रम गर्दै रहेका महर्षि आत्रेय यदाकदा भन्ने गर्दथे– मैले यस जन्ममा यो कार्य पूर्ण गर्न सकिनँ भने अर्काे जन्म लिएर भए पनि यसलाई पूर्ण गर्नेछु। यस्ता दृढ प्रतिज्ञ थिए भिक्षु आत्रेय।
क्रमशः

प्रतिक्रिया दिनुहोस्