छाती र पेट जोडिएका जुम्ल्याहा शिशुको जन्म



प्रकाश पन्त, बीरेन्द्रनगर ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ । अस्पतालमा आइतबार कालिकोटको राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ । बालिकाहरुलाई अस्पतालको एनआइसियुमा राखिएको छ । बालिका र आमा स्वस्थ छन ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको बताए । यो विश्वकै दुर्लभ समस्या हो उनले भने, भु्रणबाट छुटिने वेला छुटिएन भने यस्तो समस्या आउँछ । दुई तीन÷लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ । अन्तिम भिडियो एक्सरे गर्न बाँकी रहेकोले यो पछिमात्रै शिशुहरुको कलेजो र मुटु जोडिएको छ वा छैन भन्ने बारेमा थाहा हुनेछ ।

मुटु एउटै वा जोडिएको छ भने अप्रेसन हुदैन । छैन भने अप्रेसनबाट अलग्याउन सकिने डाक्टर केसीले बताए । मेडिकलको भाषामा यस्तो समस्यालाई थोराको उल्फालो पेगस भन्ने गरिएको उनले उल्लेख गरे ।

आमा गर्भवती भएपछि नियमित गर्भ चेकजाँच नगर्दा यस्तो समस्या देखिएको हो । गर्भवती आमाले कम्तिमा पनि तीन पटक भिडियो एक्सरे गर्नुपर्छ उनले भने, यदि २२ हप्ता भित्रै भिडियो एक्सरे गरेको भए, यस्तो समस्या आउने थिएन ।

जिल्ला अस्पताल कालिकोटले रेफर गरेपछि बिर्खबहादुरले श्रीमती ललितालाई आइतबार प्रदेश अस्पतालमा ल्याएका थिए । अस्पतालमा भर्ना भए लगत्तै डाक्टर राजीव शाह नेतृत्वको टोलीले अप्रेशन गरी बच्चा निकालेको थिए ।

प्रतिक्रिया दिनुहोस्