आयुर्वेदशास्त्रको सम्पादन



पतञ्जलि–८ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

अत्रि ऋषि स्वयं गोत्रकार थिए। यिनी अथर्ववेदका सातौं, बाह्रौं र बीसौं सूक्तका द्रष्टा थिए। उनका गोत्र–सन्ततिमा अत्रि सांख्य, र अत्रि भौमसमेत दुईवटा मन्त्रद्रष्टा ऋषिहरू भए। अत्रि सांख्यले महर्षि कपिलको आश्रम कपिलधाममा गएर सांख्ययोगको अध्ययन गरेका थिए। फलतः उनको नाउँमै सांख्य जोडियो। यिनी ऋग्वेदका दशम मण्डलको एक सय त्रिचालीसौं सूक्तका द्रष्टा हुन्। यसै गरी अत्रि भौमले पनि ऋग्वेदका सूक्तहरूको दर्शन गरेका छन्।

आत्रेयले आफ्ना बाबुकै बिँडो थामे। यिनी अरू शास्त्रसँगै आयुर्वेद शास्त्रका पनि ठूला विद्वान् भए। यति मात्र होइन, यिनी स्वयं पनि बाबुजस्तै गोत्रकार ऋषि भए। यी पनि ठाउँ–ठाउँमा गएर आयुर्वेद तन्त्रको उपदेश र चिकित्सा गर्दथे।

महर्षि आत्रेयले आयुर्वेदका क्षेत्रमा आफ्ना बाबु र त्यसभन्दा पहिलेका आयुर्वेदविद्का मत–मतान्तरको संकलन तथा सम्पादन गरेर आयुर्वेदलाई नयाँ संहिताका रूपमा प्रस्तुत गरे। यो साह्रै परिश्रमसाध्य कार्य थियो। महर्षि आत्रेयको त्यस आयुर्वेद ग्रन्थलाई आत्रेय संहिताका नाउँले सम्मानित गर्न थालियो।

आरोग्यशास्त्रका वेत्ता ऋषि–महर्षिहरू सामान्य मानवीय उमेरका सीमित बन्धनमा बाँधिएका हुँदैनन्। तिनीहरू दीर्घजीवी हुन्छन्। महर्षि आत्रेय महाभारत युद्धमा वाणले घायल भएर सरशय्यामा सुतेका भीष्म पितामहलाई हेर्न र उनको स्वास्थ्य बुझ्न कुरुक्षेत्रको रणक्षेत्रमा पनि पुगेका थिए। गोत्रकार थिए आत्रेय ऋषि पनि। यिनको गोत्रमा तीन प्रवर ऋषि भए– स्वयं आत्रेय, अर्चनानस र श्यावाश्व।

यस आत्रेय वंशमा बुध आत्रेय, निमि आत्रेय, गविष्ठिर आत्रेय, कुमार आत्रेय, मरुत् आत्रेय, गोपवन आत्रेय आदि पैंतालीस जना प्रसिद्धिप्राप्त अत्रि–आत्रेयहरूको उल्लेख पाइन्छ, वैदिक वाङ्मयमा। यी सबै अत्रि–आत्रेयहरू वैदिक सूक्त र विभिन्न मन्त्रहरूका द्रष्टा ऋषि हुन्। यहाँ सबैलाई सामान्यतया ऋषि भनिए पनि ऋषिहरू आ–आफ्ना योग्यता र साधनाअनुसार सात किसिमका हुन्छन्। जस्तै– सूत्रर्षि, काण्डर्षि, जनर्षि, तपर्षि, सत्यषि देवर्षि, राजर्षि महर्षि, ब्रह्मर्षि र परमर्षि।

आत्रेय गोत्रीयका आनुवंशीय गुणहरूको चर्चा पुराण आदिमा पनि यत्रतत्र पाइने गर्दछ। जसअनुसार यस वंशका मानिसहरू धर्मनिष्ठ, वेदवेदाङ्गमा पारंगत, श्रौत एवं स्मात्र्त कर्ममा निरत, आवश्यक परेकाहरूलाई आफूले दान दिने र आफूले पनि अरूबाट लिने जस्ता दुवै कर्ममा संलग्न, दुःखी र पीडितलाई चन्द्रमाले जस्तै शीतलता प्रदान गर्ने, दुष्ट र पीडकहरूका लागि सूर्यजस्तै कडा भएर दण्ड दिने, धर्म र न्यायको विषयमा निर्भीक र निष्पक्ष भएर वकालत गर्ने खालका हुन्छन्।
क्रमशः

प्रतिक्रिया दिनुहोस्