देवकोटा जयन्तीमा शर्मा र मानन्धर सम्मानित



बनेपा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल, जनागालले शिक्षाविद् डा. सुरेशराज शर्मा तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई एक समारोहबीच उहाँहरूको जीवनसंगिनीका साथ सयपत्री राष्ट्रिय सम्मान २०७५ प्रदान गरेको छ। कूटनीतिज्ञ एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले उहाँहरूलाई दम्पतिसहित सम्मान प्रदान गर्नुभएको हो।

प्रतिष्ठानका सल्लाहकार साहित्यकार मोहन दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सम्मानितद्वय डा. शर्मा र मानन्धर, काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, साहित्यकार सूर्यप्रसाद लाकोजू, सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले महाकवि देवकोटा र प्रतिष्ठानको गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो। सयपत्री प्रतिष्ठान स्थापना भएको २५ वर्षको अवसरमा सयपत्री नामक स्मारिकाको विमोचनसमेत गरिएको उक्त कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए। प्रतिष्ठानले महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर २०५५ सालदेखि निरन्तर साहित्यिक कार्यक्रम गरी स्रष्टा सम्मानित गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्