डिआईजी समक्ष रुकुमेलीको माग



गाँउमा थप प्रहरी चौकी राखिदिनुस

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका नागरिकले प्रहरी पोष्ट राख्नै पर्ने केही ठाँउमा अस्थायी भएपनि प्रहरी पोष्ट स्थापना गर्न माग गरेका छन् ।

रुकुममा लुकी छिपी अझै पनि लागु औषध ओसार पसार भइरहेको, अत्यधिक मद्यिरा प्रयोगले अपराध बढ्न थालेको भन्दै रुकुमका नागरिकले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेशबिक्रम शाह समक्ष प्रहरी पोष्ट स्थापनाका लागी पहल गरिदिन माग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गरेको नागरिक सुनुवाई कार्यक्रममा उनीहरुको यस्तो माग आएको हो ।

बिगतका तुलनामा शान्ति सुरक्षाको अवस्था राम्रो भएपनि लागु औषध र मद्यिराले गर्दा रुकुममा अपराधका घटना अझै कायमै रहेको तर्फ ध्यानआर्कषण गराइएको छ ।

बिद्यालय स्तर, समुदाय स्तर तथा बिभिन्न युवा सघ संगठन स्तरमा पनि लागु औषध एवं मद्यिरा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा स्थानीयको जोड छ ।

नागरिकका गुनासा सुनिसकेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेशबिक्रम शाहले अपराध न्युनिकरणका लागी प्रहरीलाई नागरिकको उत्तिकै साथ हुनुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी शाहले नागरिकको सहयोग विना प्रहरी सफल नहुने बताउनुभयो । जनताको सुरक्षाका लागि प्रहरी खटिएको भन्दै प्रहरीलाई सफल बनाउन नागरिकको सहयोग अपरिहार्य भएको उहाँको भनाई छ ।

समाज विकसित नभएसम्म अपराध भईरहने भएकोले अपराधलाई कम गर्न जनप्रतिनिधि र नागरिकले प्रहरीलाई सघाउनुपर्ने आवश्यकता शाहले औँल्याउनुभयो । प्रहरी सेवामा पनि कतिपय गलत नियतका व्यक्तिहरु पनि भएकोले उनीहरुले कमजोरी गरे कारवाही गरिने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्ने सहभागीहरुले जिल्लामा पछिल्लो समय जिल्लामा प्रहरीले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गरे भने केही सहभागीले मुद्दा दर्तामा ढिलाई गर्ने, अनुसन्धान गर्दा सत्ता र शक्तिको दुरुपयोग गर्ने गरेको गुनासो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

जिल्लामा घट्ने बिभिन्न घटनाहरुमा अधिकांश कारण मद्यिरा भएकोले जिल्लालाई मद्यिरा निशेषित जिल्ला बनाउनका लागी बिशेष कार्यक्रम संचालन गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया दिनुहोस्