सामाजिक विकासमन्त्री सोडारी बर्खास्तमा



हेमन्त पौडेल, धनगढी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा पर्नुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलवार दिउँसो बर्खास्त गर्नुभएको हो ।

मन्त्री सोडारीले पदअनुसारको आचरण नदेखाएको र पार्टीको निर्देशनअनुसार काम नगरेको भन्दै उहाँलाई बर्खास्त गरेको बताइएको छ । उहाँको विगतको विवादास्पद छविका कारण मन्त्री नियुक्त नगर्न तत्कालीन नेकपा एमालेका सात नम्वर इञ्चार्ज भीम रावललाई आग्रह गरिएको भए पनि उहाँले सोडारीलाई मन्त्री बनाउन निर्देशन दिनुभएको थियो ।

उहाँको क्रियाकलापबारे पार्टी नेतृत्वलाई लिखितरुपमा नै जानकारी गराइएको समाचार स्रोतको दावी छ । सवैतिरबाट तिब्र विरोध हुन थालेपछि उहाँलाई बर्खास्त गर्नुपरेको नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । पार्टीले पटक–पटक पार्टीको नीतिअनुसार काम गर्न आग्रह गरे पनि बेवास्ता गरेकाले हटाउन परेको अध्यक्ष थापाले दाबी गर्नुभयो ।

अध्यक्ष थापाका अनुसार मन्त्री सोडारीका विरुद्ध पार्टीभित्रै गुनासो बढ्दै गएको र छानविन गर्दा पदअनुरुपको आचरण नगरेको पाइएकाले हटाउनुपरेको हो । उहाँलाई सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन गर्दा निकटका कार्यकर्तालाई मात्र हेरेको समेत आरोप लागेको छ ।

उहाँमाथि सामाजिक विकास मन्त्री भइसकेपछि आर्थिक लेनदेनमा सक्रिय भएको, योजना बाँड्दा आफ्ना अनुकुलका कार्यकर्तालाई दिएको, स्थानीय तहको निर्वाचनमा टिकट बाँड्दा पैसा लिएको र निर्वाचित भइसकेपछि आफ्ना नजिकका जनप्रतिनिधिसँग पैसा लिने गरेको जस्ता आरोप लगाइएको छ ।

केही नगरपालिकाका मेयरले त सामाजिक विकास मन्त्रीका लागि भन्दै रकम छुट्याउने गरेको गुनासो पनि सुनिन्थ्यो । मन्त्री सोडारीमाथि माहिलामाथि दुब्र्यवहार गरेको आरोप पनि लागेको थियो । आपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुको संरक्षण, जुवातासलगायतका अपराधजन्य काममा संलग्नलाई छुटाउन प्रहरीलाई अनावश्यक दवाव दिने गरेको गुनासो पार्टी नेतृत्वलाई दिइएको थियो ।

सोडारी मन्त्रीमा नियुक्त भएपछि आवस प्रयोगको विषयमा विवादमा तानिएका थिए भने आफ्नै मन्त्रालयमा उल्टो झण्डा राखेर आलोचित बनेका थिए । समाचार स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बर्खास्तमा परेका हुन । मन्त्री सोडारीप्रतिको गुनासो सिधै पार्टी अध्यक्षसम्म पुगेकाले तत्काल यस्तो निर्णय भएको बताइएको छ ।

यस्तै सामाजिक विकास मन्त्री सोडारी बर्खास्तमा परेपछि कृष्णराज सुवेदी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्री सुवेदीले मंगलवार अपरान्ह पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ गराउनुभएको थियो । सो अवसरमा सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल लगायतका मन्त्री तथा प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्