अमिलो जातको फलफुलमा चाइनिज सिट्रसको प्रकोप



चिरञ्जीवी मास्के, दोलखा ।
सुन्तला जातको फलमा चाइनिज सिट्रस फ्लाईको कारण औंषा पर्ने समस्या देखिएपछि दोलखाका किसानहरु चिन्तित भएका छन् । औंषा पर्ने समस्याका कारण औंषा परेर दोलाखमा करोडौंको सुन्तला जन्य फल नष्ट भएको कृषि विभागका बरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए ।

पूर्वमा धनकुटा देखि काभ्रे जिल्लासम्मका जुनार, सुन्तला, निवुवा, कागती , ज्यामिर जस्ता अमिला फलहरु चाइनिज सिट्रस फ्लाईको समस्याले करोडौंको फल नष्ट भइरहेको बेला दोलाखमा पनि यो समस्याले कृषकहरुलाई चिन्तित बनाएको कृषि विभागका बरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले वताए । नेपालमा पहिलो पटक धनकुटामा देखा परेको चाइनिज सिट्रस फ्लाई चीनबाट आएको प्राविधिकहरुको भनाई छ । चीनबाट भुटान, सिक्कीम हुँदै नेपालको पूर्वी पहाडबाट यो रोग पश्चिम तर्फ फैलदै गएको अनुसन्धानले देखाएको छ ।

दोलखामा सुन्तला जातका फलमा औंषा पर्ने रोगको कारण फलफुलहरु नष्ट हुन थाले पछि जिल्ला समन्वय समितिले कृषि विभागलाई यो रोगको पहिचान गर्न आग्रह गरेको थियो । जिल्ला समन्वय समितिको आग्रहमा दोलखा आएको प्राविधिक टोलीले चाइनिज सिट्रस फ्लाईको कारण फलमा औषा परेको तथ्य सार्वजनिक गरेको हो । रोग पहिचानका लागि दोलखा आएको प्राविधिक टोलीका देवराज अधिकारीका अनुसार चाइनिज सिट्रस फ्लाई को नियन्त्रण औषधिको प्रयोगबाट मात्र सम्भव छैन । यसको नियन्त्रणको लागि कृषक, ब्यापारी र सर्व साधारण समेत सक्रिय बन्नु पर्ने प्राविधिक अधिकारी बताउछन् ।

चैत्र–बैशाख महिनामा प्युपाबाट सिट्रस फ्लाई बयस्क भई अमिलो जाताका कलिला फलहरुमा पोथीले फूल पार्दछ । फूल पार्ने समयमा यो झिँगालाई प्रोटीनको आवश्यकता पर्ने हुँदा प्रोटीन हाइड्रोलाइसेटलाई विषाक्त बनाई पातको उल्टो भागमा स्प्रे गरिएमा चाइनिज फ्लाईको नियन्त्रण गर्न सकिने प्राविधिक अधिकारीको भनाई छ । यो झिँगाले लार्भा अवस्थामा फलको भित्री भाग खाएर कुहाउने, फलबाट बाहिर निष्के पछि करिब छ महिना माटो मित्र प्युपाको रुपमा रहने र त्यस पछि वयस्क झिँगाको रुप लिई कलिला फलहरुमा फूल पारी फलमा औंषा पार्ने गर्दछ ।

यसको नियन्त्रणका लागि संक्रमित फल जथाभावी माटोमा नफाली लार्भालाई नष्ट गर्नु अतिजरुरी भएको प्राविधिकहरु बताउछन् । सुन्तला जातका फलफूल मध्ये पनि विशेषगरी जुनार र निबुवा यो रोगबाट अति प्रभावित भएको प्राविधिकहरु बताउछन् । पछिल्लो समय कागती, सुन्तला लगायतका अमिलो जातका फलफूल पनि प्रभावित हुन थालेका छन् ।

सिट्रस फ्लाईबाट बच्न यसको जीवनचक्र अन्तर्गत लार्भा अवस्थामानै नियन्त्रण गर्नु पर्ने प्राविधिकहरुको सुझाब छ । पहिले लार्भा अवस्थामा नियन्त्रण गरेपछिमात्र बाँकी एडल्टलाई औषधिको प्रयोग गरी नियन्त्रण गर्न सकिने प्राविधिक अधिकारी बताउछन् । संक्रमित फललाई गोवर ग्याँसमा हाल्ने, पानीमा उमाल्ने वा तिन फिट जति गहिरो खाडल खनेर पुरेर नष्ट गर्ने गरिएमा रोग नियन्त्रणमा ठूलो सघाउ पुग्छ प्राविधिकहरु बताउछन् ।

लार्भा अवस्थामानै यसको नियन्त्रण गर्नकालागि चेतना मुलक कार्यक्रम संचालन नगरिए औषधिको प्रयोगबाटमात्र नियन्त्रण गर्न कठिन देखिएको विभागका बरिष्ठ बाली संरक्षण अधिकृत अधिकारी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्