कोइराला निवासमा देउवाको चर्को आलोचना



काठमाडौं (नेस) ।
गुट उपगुटमा विभाजित नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले ईतरका नेताहरु एकजुट हुन थालेका छन् । सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।

विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छेदारलाई मनोनित गरेको भन्दै काग्रेस भित्र किचलो शुरु भइरहेको बेला काग्रेस नेतृ सुजाता कोइराला निवासमा काग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् । कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्रि डा. शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसिको उपस्थिति रहेको थियो ।

भेलामा काग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठ को कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सकेनन । नेतृ सुजाता कोइरालाले आव्शान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरि सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बैठकस्थलबाट नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार सोमबारको भेलामा काग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थि संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो । साथै पार्टी, नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको स्थान समेत अत्यन्त कमजोर बन्दै गएको भन्दै शीर्ष नेताहरुले नियमित छलफल गरि अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

नेविसंघको विवादका बारेमा सहमतिको मध्य विन्दु खोजेर अघि बढ्नुपर्ने निष्कर्ष निकाले पनि विधान संशोधन र महासमिति बैठकमा प्रस्तुत गरिने अन्य एजेण्डाको बारेमा आगामी बैठकमा छलफल गर्ने भन्दै नेताहरु बाहिरिएका थिए । गुटगत विवादका कारण नेविसंघको महाधिवेशन अनिश्चित बन्दै गएको छ भने विधान संशोधनमा पदाधिकारीको संख्या कति राख्ने, पदाधिकारी मनोनित गर्ने की निर्वाचित गर्ने, एकल सदस्यमात्र कायम गर्ने की नगर्ने जस्ता विषयमा काग्रेस भित्र विवाद छ ।

विधान संशोधन तथा परिमार्जन गर्ने मुख्य एजेण्डा सहित मंसिरको अन्तिम साता महासमिति बैठक आव्हान भैसकेको बेला गच्छेदारलाई हतार गरेर उपसभापति बनाउनुको पछाडी विधानमा पदाधिकारीको संख्या थप गर्ने निश्चित भएको अनुमान लगाइएको छ । यस पदाधिकारी संख्या बढाउने बारे काग्रेस भित्र मत भिन्नता भैरहेको बेला दुई उपसभापति मनोनित गरेर सभापति देउवाले पदाधिकारी संख्या बढ्ने संकेत गराउनु भएको देउवा निकट एक केन्द्रिय सदस्यले जानकारी दिनुभएको छ ।

संशोधित विधान मस्यौदामा मनोनित उपसभापति तीन जना राख्ने वा दुई निर्वाचित एक मनोनित राख्ने विकल्पमा छलफल भैरहेको छ । विधान मस्यौदा समितिका संयोजक महामन्त्री पुर्णवहादुर खड्काका अनुसार केन्द्रिय समितिमा सदस्यको संख्या बढाउने कुरामा सबै एकमत भएपनि पदाधिकारीको बारेमा छलफल गरि विधान मस्यौदालाई अन्तिम रुप दिने कार्य भैरहेको छ । पदाधिकारी संख्या १० राख्दा पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष मनोनित गर्ने की निर्वाचित गर्ने बारे छलफल भैरहेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्