बाँच्ने आसामा एआरटी खाँदै डोटीका एचआईभी संक्रमित



विमल विष्ट, डोटी ।
डोटीमा ७ सय १५ जना एचआईभी संक्रमितहरु बाँच्नका लागि नियमित रुपमा एआरटी नामक औषधी सेवन गर्न थालेका छन् । नियमित औषधी सेवन गर्नेहरु फुर्तिलो भई सहज जिवनयापन गर्दै आएका छन् ।

औषधी सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफुहरु लगातार रुपमा एआरटी नामक औषधी खान थालेको एआरटी औषधी खाई रहेका एक जना संक्रमित नामपरिवर्तन दिपक क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो ‘जान अन्जाले गल्ति भयो,केही समय अझै बाँचौ की भनेर औषधी खान थालेको छु ।’

आर्थिक बर्ष २०७४/७५ सम्ममा एचआईभी÷एड्सका कारण डोटीमा एक सय ११ जनाको ज्यान गईसकेको जिल्ला अस्पताल डोटीले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक बर्ष २०७३÷७४ मा त्यो संख्या बढेर ९४ जना पुगेको थियो ।

जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यसमध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिस अवस्थीले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७१÷०७२ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७२÷०७३ मा आएर ५ सय १२ जना पुगेको थियो । डोटीमा खासगरी कामको शिलशिलामा भारत जाने पुरुषहरुले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कले गर्दा उनिहरुबाटै एचआईभिको संक्रमण बढ्ने गरेको एचआईभी÷एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुको तत्थ्यांकमा उल्लेख छ ।

यतिमात्र नभई संक्रमित भएकाहरुबाट तिनका श्रीमतीहरु समेत संक्रमित हुने गरेको र संक्रमित आमाबाट जन्मेका सन्तानहरुमा पनि नयाँ संक्रमणहुनेको संख्या बढीरहेको पाईएको स्वास्थ्यकर्मीहरु बताउछन् ।

सुदूरपश्चिम प्रदेशका अछाम,कैलाली तथा डोटीमा एचआईभी संक्रमितहरुको संख्या अरु जिल्ला भन्दा बढी भएको तत्थ्यांक संकलकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्