तीन करोड खर्चिएर सजाइयो छटियाघाट



कृष्णउदास खनाल, वीरगन्ज
छठको पूजा गर्ने मुख्य स्थान छटियाघाट निकै महँगो हुन थालेका छन्।

छठपर्वमा नदी, खोला, तलाउ, पोखरीलगायतका जलाशय र त्यस वरिपरिको स्थानलाई सफा गरी पवित्र बनाएर छठघाट तयार पारिन्छ। त्यही छठघाटको जलाशयमा सूर्य र छठी मातालाई अर्घ दिँदै छठ पूजा मनाइन्छ। तर, पछिल्लो एक दशकदेखि छठघाट (जलाशय) को सरसफाइ, सजावट र भड्किलो शृंगारका नाममा लाखौं रुपियाँ खर्च गर्ने चलन बढेको छ।

वीरगन्जमा मात्रै यसपालि ६० भन्दा बढी स्थानमा छठघाट बनाइएको छ। एउटा छठघाटको सरसफाइ र सजावटमा मात्रै ३ देखि १२ लाख रुपियाँसम्म खर्च गरिएको छ। औसतमा एउटा छठघाटको सजावट खर्च ५ लाख रुपियाँमात्र मान्ने हो भने पनि वीरगन्जमा यसपालिको छठघाट सजावटमा मात्रै ३ करोडभन्दा बढी रकम खर्च भएको आयोजकहरूले बताएका छन्।

वीरगन्जमा घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरी, इनर्वा पोखरी, लक्ष्मणबाको पोखरी, जिल्ला प्रहरी कार्यालय छेउको पोखरी, बहुअरबी गरी एक दर्जन जलाशयमा मात्र छठघाट स्थापना गरिएको छ।

यी छठघाट सजाउनका लागि लाखौं रुपियाँ खर्च भएको छ। यसपालि घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, बहुअरबी, इनर्वाका साथै आदर्शनगरको स्विमिङ पुल, रानीघाटकै रामगढवा, अशोकबाटिका, बजार छपकैया, श्रीपुरका गरी ६० भन्दा बढी स्थानका जलाशयमा छठघाट बनाइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताउनुभयो।

छठघाटमा आकर्षक टेन्ट पन्डाल लगाउने, झिलिमिली विद्युतीय बत्ती र फूलले सजाउने, गीतस·ीत बजाउनका लागि ठूलाठूला साउन्ड सिस्टम जडान गर्ने प्रतिस्पर्धा बढ्दै गएको छ। जसका कारण छठ पर्व झन् भड्किलो र खर्चिलो बन्दै गएको हिन्दू धर्म संस्कृतिका जानकार बताउँछन्। वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सरसफाइ र सजावटमा मात्रै यस वर्ष करिब १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल गुप्ताले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्