लिभिङ टुगेदर ः यथार्थपरक सामाजिक उपन्यास



ज्ञानमणि नेपाल कालोटोपी

साहित्यकार गोविन्द गिरी प्रेरणा साहित्यका हरेकजसो विषयहरूलाई अलि फरक तरिकाले प्रस्तुत गर्ने लेखनशैली भएका व्यक्तित्व हुन्। उनका रचनाहरू पढ्दा जे देखिन्छ त्यही, जस्तो छ त्यस्तै पारामा प्रस्तुत गरिएको पाइन्छ। अर्को शब्दमा भन्नुपर्दा खरो स्वभावका स्पष्ट वक्ता हुन् उनी।

साहित्यका माध्यमबाट समाजमा घटेका, घट्ने गरेका र घट्ने सम्भावना भएका जो–जति विषय छन्, ती सबैलाई जस्ताको त्यस्तै उर्तान खप्पिस उनले हालै मात्र यथार्थपरक उपन्यास पाठकसामु जिम्मा लिएर प्रवासतिर हानिएका छन्। उपन्यासको नाम छ लिभिङ टुगेदर। जसको नामै काफी छ, के होला विषयवस्तु ? त्यो पनि अनुमान लगाउन पाठकहरूलाई समस्या नै नपर्ला शायद।

साँच्चै यसमा हिजोआज फेसन र सामान्यजस्तै भएको लिभिङ टुगेदर के हो, किन मानिसहरू यसलाई अंगालिरहेका छन् ? यसका राम्रा पक्ष के छन् वा नराम्रा पक्ष कस्ता छन् ? वा विकृति पो फैलिएको छ कि जस्ता अनेक विषयलाई खोतलेर युवायुवतीबीच कायम लिभिङ टुगेदरको चिरफार गरेका छन्।

गाउँमा काम खासै नभएपछि वा पढ्ने वातावरण नभएपछि कोही काम गर्ने बहानामा त कोही पढ्ने बहानामा शहर पस्छन्। ठूलो अभिलाषा र सपना बोकेर आएका युवायुवतीहरू त्यति बेला झसङ्ग हुन्छन्, जति बेला शहरमा आएपछि उनीहरूले देखेका सपनाहरू चकनाचुर हुन्छन्। अनि दैनिक आवश्यकता टार्नकै लागि विकल्पको खोजी हुन थाल्छ।

विकल्पकै एउटा माध्यमको रूपमा हुन्छ लिभिङ टुगेदर। सामान्य अर्थमा भन्नुपर्दा बिहेवारी नभई एउटा युवा र अर्की युवती सँगै एउटै कोठामा बसोबास गर्छन्। आउजाउ गर्छन्, सँगै बसेपछि नगरौं भने पनि उनीहरूबीच हरेक काम हुन्छ, जो श्रीमान्–श्रीमतीका बीचमा हुने गर्छ। क्षणिक रूपमा रमाइलो गर्छन्, ती युवायुवतीहरू। तर हिमचिम र अन्य व्यवहारले आफूहरू विकृतिको दलदलमा फसेको पत्तै पाउँदैनन्। कोठामा लुकेर गरेको रोमान्सले पछि समाजमा ठूलो समस्या निम्त्याउँछ भनेर उनीहरूले सोचेकै हुँदैनन्। यसले कालान्तरमा फाटो मात्रै ल्याउँदैन, मुद्दा लिएर अदालतसम्मै धाउन बाध्य बनाउँछ।

हो, हिजोआज यस्तै हुने गरेको छ। लिभिङ टुगेदर यस्तै यथार्थ सामाजिक पात्रहरूको कथा हो। प्रतिनिधि हो। जसमा उल्लिखित विषयहरूको रोचक प्रस्तुति पाइन्छ। यसमा समाजमा हुने धेरै पात्रहरूको उपस्थिति छ। कुमार र कृष्णा पनि यसका उदाहरणीय पात्रहरू हुन्। सामान्य चिनजानकै भरमा सँगै बसेर समस्यामा परेकाहरूको प्रतिनिधि बनेका उनीहरू। यो अहिलेको समाजको चित्र हो।

उपन्यासको पेरिफेरि लामो होला, आकार ठूलो पनि होला, जसमा लेखकको लेखनशैली र प्रस्तुतिले लामो बनाउन बाध्य पनि बनाएको होला। यसलाई अन्यथा नलिई भन्ने हो भने लिभिङ टुगेदर गर्ने र समस्या निम्त्याउने गर्नु राम्रो होइन भन्ने मुख्य उद्देश्य उपन्यासकारको रहेको पाइन्छ। जीवन लामो छ र यसलाई सामान्य मात्र सोच्ने हो भने त जे गरे पनि हुन्छ। तर जीवनलाई सार्थक बनाउने हो भने समाजका नियम र परिधिको दायरामा बस्नुपर्छ। उदाहरणीय बन्नुपर्छ भन्नु उपन्यास र उपन्यासकारको प्रयास हो।

तर पढ्दै जाँदा कतै–कतै केही अश्लीलता पनि भेट्न सकिन्छ, जो त्यति सहज नलाग्न पनि सक्छ। यसमा लेखकले अलि ध्यान पुर्याउन नसकेको हो कि जस्तो नलाग्ने हो भने उपन्यास साँच्चै उत्कृष्ट बन्नेमा शंका छैन। बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको लिभिङ टुगेदरको मूल्य रु. ३२५ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्