अक्षरमार्गको साहित्यिक कार्यक्रम सम्पन्न



काभ्रे। अक्षरमार्गको आयोजनामा काभ्रेको पनौतीमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमा पुस्तक विमोचन, स्रष्टा सम्मान र कविगोष्ठीको आयोजना भएको थियो। सो कार्यक्रममा साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित ‘नारीः ओझलभित्रकी आधा आकाश’ नामक पुस्तकको विमोचन साहित्यकारहरू मोहन दुवाल, केदारनाथ खनाल र प्रा.डा. अन्जना भट्टराईले संयुक्तरूपमा गरेका थिए। पुस्तकमा नारीहरूका पीडा, वेदना, उत्पीडनका कुराहरूको मात्र चित्रण नभई नारी जाति पूज्य रहेको र समाजमा अगाडि बढ्नका लागि आफैं उठ्नुपर्ने भाव रहेको कुरा लेखकले जानकारी दिएका थिए। त्यस्तै अर्को पुस्तक असमेली साहित्यकार ज्ञानबहादुर क्षेत्रीद्वारा लिखित सगरमाथाको देश साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. कुमारप्रसाद कोइरालाले संयुक्तरूपमा गरेका लोकार्पण गरेका थिए।

सो अवसरमा पूर्वोत्तर भारतको आसाम राज्यको तेजपुर निवासी समालोचक ज्ञानबहादुर क्षेत्रीलाई विष्णुहेम अक्षरमार्ग स्रष्टा सम्मान र साहित्यकार तथा अनुवादक चन्द्रमणि उपाध्यायलाई अक्षरमार्ग कृष्णदास स्रष्टा सम्मान अर्पण गरिएको थियो। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई र साहित्यकार मोहन दुवालले सम्मान समर्पण गरेका थिए। कार्यक्रमको अर्को चरणमा कविगोष्ठीको आयोजना भएको थिए। कविगोष्ठीमा मोफसलका सहित करिब तीन दर्जन कविहरूले कविता, मुक्तक, गीत, गजल सुनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले नेपाली साहित्यलाई विश्व वजारसम्म पुर्याउनका लागि काम गर्नुपर्ने बताए। विमोचित पुस्तकका बारेमा डा. कुमार कोइराला र रामसुन्दर देउजाले टिप्पणी गरेका थिए। सोही समारोहमा स्रष्टा सम्मानार्थ अक्षरमार्गलाई समाजसेवी राजेश श्रेष्ठले रु. एक लाख बराबरको नगद सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्