पुन प्रयोग गर्न सकिने रकेटको सफल परीक्षण



बेइजिङ (एजेन्सी)
चीनले ठाडो अवतरण गर्न सक्ने एक मालबाहक रकेटको सफलता पुर्वक परीक्षण गरेको छ । अन्तरिक्ष पारवहन प्रणालीको विकासमा चीनको अन्तरिक्ष कार्यक्रमको यो नयाँ उपलब्धी हो । यसले अन्तरिक्ष यात्रामा पुन प्रयोग गर्न सकिने रकेट निर्माण गर्न सहज हुनेछ ।
चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनको बेइजिङ एरोस्पेस इन्स्टिचयुट अफ अटोमेटिक कन्ट्रोलले एउटा करियर रेकेटलाई जमिनमा ठाडो अवतरण गर्न सफलता हासिल गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । उक्त परीक्षण सोमबार गरिएको थियो ।

यस परियोजनामाथि सन् २०१८ मा अध्ययन सुरु गरिएको थियो । परियोजनामा आबद्ध वैज्ञानिकहरुले पुन प्रयोगमा ल्याउन सकिने सानो आकारको प्लेटफर्मको डिजाइन तयार गरि यसको निर्माण गरेका थिए । यसको मद्दतबाट परीक्षणका लागि रकेट जमिनबाट ठाडो उडान भर्ने र सोही स्थितिमा जमिनमा अवतरण गर्ने बताइएको छ ।

नयाँ प्रणालीको सफल परीक्षणले अन्तरिक्ष यात्रामा पुन प्रयोग गर्न सकिने रकेट विकासमा मद्दत पुग्ने ग्लोबल टाइम्सले जनाएको छ । यसअघिका रकेट एक पटकमात्र प्रयोग गर्न सकिन्थ्यो । चीनियाँ अन्तरिक्ष संस्थाले अब अन्तरिक्ष परिवहनलाई थप विश्वासिलो बनाउन प्रयास गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्