भद्रपुर नगरको डेढ करोड पेश्की रकम म्याद नाघेपनि फछ्यौट भएन



उत्तम नेपाल, झापा ।
विभिन्न कामको लागी पेश्कीस्वरुप लगेको करोडौँ रकम म्याद नाघिसेके पनि हालसम्म फछ्यौट नभएको पाइएको छ । झापाको भद्रपुर नगरपालिकाबाट र्मचारी, निर्माण व्यवसायी,उपभोक्ता समिति सङघसंस्था लगायतले लगेको १ करोड ४१ लाख ३१ हजार ९ सय २९ रुपैया पचास पैसा पेश्की रकम फछ्यौट नभएको हो ।

आर्थिक वर्ष ०७४।७५को असार मसान्तसम्म यो रकम बाँकी देखिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । पेश्की रकम लैजानेमा भूतपूर्व कर्मचारी,तत्कालिन र हालका जनप्रतिनिधि समेत परेका छन् ।

नगरको चालु खर्चतर्फ १ लाख ५ हजार ८ सय ५ रुपैयाँ देखिएको छ । जसमा नगरका कर्मचारी,०६२/६३का भुतपूर्व पदाधिकारी र निर्माण व्यवसायी रहेका छन् । उनिहरुले नगरसरसफाई पारिश्रमीक,वडाअध्यक्ष भत्ता,कार्यालय सौचालय निर्माणको लागि पेश्की रकम लिएको उल्लेख छ ।

पूजीँगत खर्चतर्फ १ करोड १८ लाख ४३ हजार ५ सय ९९ रुपैयाँ २५ पैसा पेश्की वापत भूत्तानी भएको छ । नगरपालिकाको तथ्याङ्क अनुसार निर्माण व्यवसायी तर्फ कार्यालय भवन निर्माणको लागि गाल्वा÷पुष्पाञ्जली जेभी काठमाडौले २० लाख,कोल्ड स्टोर निर्माणमा सुनौला खिम्ती कन्ट्रक्सन प्रा.ली काठमाडौले ६ लाख रकम लगेको लेखा शाखाले जनाएको छ ।

त्यसैगरी उपभोक्ता समिति तर्फ १० नम्बर वडा सदस्य तथा लेखनाथ मार्ग निर्माण समितिका अध्यक्ष तुलसी प्रसाद पोखरेलले नगर विकास/ नाला निर्माण/ सडक कालोपत्रेका लागि ५१ लाख ४४ हजार,नगरस्तरीय फुटवल खेलकुद व्यवस्थापन समितिको नाममा खेलकुद विकास कार्यक्रम शिर्षकमा केशव मैनालीले ९० हजार पेश्की रकम लिएका थिए ।

त्यस्तै अन्यले,लेखापरीक्षण प्रतिवेदन,मधेशी विकास कार्यक्रम सञ्चालन,वार्ड स्तरीय योजना,सडक ग्राभेल,तटबन्धनका लागि रकम लगेको लेखापाल सुवास भट्टराइले जानकारी दिए । साथै पदाधिकारी तथा अन्य सङ्घसंस्थाले गरी ३० लाख ८६ हजार १ सय ९४ रुपैयाँ ५० पैसा पेश्की स्वरुप रकम लगेको उनले जनाए ।

२१ जना व्यत्तिले वडा विकास योजना, तरकारी खेती ऋण,लेखापरीक्षण प्रतिवेदन,लक्षीत समूह बालवालिका विकास कार्यक्रम र पार्क मर्मत शिर्षकमा रकम लगेको उनको भनाइ छ ।
त्यस्तै पार्क मर्मतमा रोटरी क्लब अफ भद्रपुरको नाममा दिपेश ढकाललको नाममा २७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी प्राकृतिक प्रकोप व्यवस्थापन कोष खर्च तर्फ दुइजना कर्मचारीले मर्मत तथा पूजा शिर्षकमा ४१ हजार र क्षमता विकास कोष खर्च तर्फ राजस्व सम्भाव्यता अध्ययन शिर्षकमा विराट परामर्श सेवा काठमाडौले ४० हजार पेश्की कम लगेका छन् ।

त्यस्तै सामाजिक परिचालन कोष खर्च तर्फ पन्ध्र ओटा नागरिक सचेतना केन्द्रले २१ लाख १ हजार ५ सय रुपैयाँ पेश्की लिएका छन् । उनिहरुले ३० हजार देखि २ लाख १३ हजार ५ सयसम्म रकम लगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

पेश्की लगेको रकमको म्याद नाघेकोले केहीदिन भित्र राजस्वको वैठक बसेर सूचना सार्वजानिक गरिने प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले बताए ।

तोकिएको म्यादमा पेश्की फछ्यौट नगरेमा कामको प्रकृति हेरेर १० प्रतिशत थप जरिवाना लाग्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । सम्झौता अनुसार काम फछ्यौट नगरेमा व्यत्तिबाट असूलउपर गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्