नेपाल र मलेसियबीच श्रम सम्झौता, रोजगारीका लागि मलेसिया जान शुल्क नलाग्ने



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल सरकार र मलेसियाली सरकारबीच श्रम सम्झौता भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब रोजगारीका लागि मलेसीया जाने नेपाली कामदालको लागि कुनै पनि शुल्क नलाग्ने भएको छ ।

भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् । कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।

रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । साथै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गरेको जनाइएको छ ।

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘म्यानपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेगरि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्