अभावै अभावमा जन्मछन् बच्चा



नेपाल समाचारपत्र, बाँके । निराक्षी बर्मा बेडमा पल्टिनुभएको छ । धनदेवी रावत भित्र भुइँमा बसेर ऐया–ऐया गर्दै हुनुहुन्छ । अरु दुई जना कविता परियार र केसरा यादव बाहिर ढोकाछेउमा खुट्टा पसारेर बस्नुभएको छ ।

निराक्षी, धनदेवी, कविता र केसराको आइतबार सुत्केरी हुने दिन हो । विभिन्न गाउँका यी चारै जना शनिबार नेपालगञ्ज–२०, मनिकापुर स्वास्थ्य चौकीमा आएका थिए । स्वास्थ्य चौकीमा भने एउटा मात्रै बेड रहेको थियो ।

बेडमा बसेकी निराक्षी मात्रै होइन, भुइँमा बसेका तीन जना पनि छटपटाइरहनुभएको थियो । अनमी आशा सार्कीलाई यता हेर्नु कि उता दौडादौड थियो । अनमी सार्की कहिले भित्र त कहिले बाहिर गरिरहनुभएको थियो । उहाँ सुत्केरी गराउने ठाउँ र एउटा बेड मात्रै रहेकाले चार जनामध्ये कसको पहिला ‘घर’ खुल्छ, उसैलाई भित्र लैजान उनी हस्याङ्फस्याङ गर्दै हुनुहुन्थ्यो ।

एकैपटक चार जना सुत्केरी हुन आएपछि…

‘सबैको ८÷८ सेन्टिमिटर घर खुलेको छ । एकैपटक होला जस्तो छ । भुइँमै बच्चा जन्माउने भए’, अनमी सार्कीले सुस्केरा हाल्नुभयो– ‘कम्तीमा ३÷४ वटा बेडसम्म भइदिएको भए सुत्केरी हुन आएकाहरु यसरी भुइँमा त बस्नु पर्थेन ।’
बेडकी निराक्षी, भित्र भुइँमा रहेकी धनदेवी र बाहिर ढोकाछेउमा भुइँमा बसेका कविता र केसराले कष्टपूर्ण आवाज निकालिरहँदा अनमी सार्कीको आँखामा टिलपिल टिलपिल आँशु आइरहेका थिए । सार्की आफूले राम्ररी काम गर्न नसकेर होइन कि बस्नेसम्म ठाउँ नभएर बेथाले च्यापेका महिलाहरुको पीडा देखेर रोइरहनुभएको थियो ।

बेथाले च्यापेका महिलामध्ये कोहीले वान्ता गरेका छन् । कोहीले बसेकै ठाउँमा दिसा चुहाएका छन् । अन्तिम अवस्था भएकाले शौचालय जाँदा उतै बच्चा खस्ने चिन्ताले सकेसम्म जान दिइएको थिएन ।

स्थानीयबासी र करारमा स्वास्थ्य चौकीमा काम गरिरहेकी सार्कीले सुत्केरी बेथा लागेका महिलाले बस्ने ठाउँ नपाएपछि प्रांगणमै रहेको टायलले छाएको जीर्ण घरमा सफा गर्न लगाएर बस्नेसम्म मेसो मिलाउनु भएको थियो । त्यो जीर्ण घरको टायल कति बेला खसौंलाजस्तो गरी झुन्डिइरहेको छ ।

यसैबीच, अपरान्ह चारमध्ये धनदेवीले पहिला बच्चा जन्माउनुभयो । उहाँले दुई किलो आठ सय ग्रामकी छोरी जन्माउनुभयो । छोरी जन्माएकी धनदेवीलाई सार्कीले दिउँसो सफा गरिएको टायलले छाएको घरमा बस्ने व्यवस्था मिलाउनुभएको थियो । अरु तीन मध्ये निराक्षी बच्चा जन्माउने तरखरमा छन् । अर्थात् निराक्षीको घर खुलिसकेको छ । राति सम्ममा सबै जना सुत्केरी हुने अनमी सार्कीले बताउनुभयो ।

मनिकापुर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेको संख्या अधिक रहेको छ । अनमी सार्कीका अनुसार, साउन यता ६५ जना स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका छन् । शनिबार नै ९ र १० गते आएका चार जनाले बच्चा जन्माएका थिए । अफसरुन खाँ, कमरजहाँ पठानी, रेश्मी खान र गुडिया बेहनाले शनिबार स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका थिए ।

गर्भवती सुत्केरीको यत्रो चाप रहेको मनिकापुरमा बेड भने एउटा रहेको छ । विगत चार वर्षदेखि बेड संख्या बढाउन माग गरिए पनि सुनुवाइ भएको छैन ।
प्रांगणमै रहेको वडा कार्यालयका अध्यक्ष कृष्ण कार्कीले एक हप्ताभित्रै जीर्ण घरलाई व्यवस्थित गरेर बेड थप्ने उद्घोष गर्नुभयो । ‘म लागिरहेको छु । प्रक्रिया मिलाएर तत्कालै बेड थप्ने आजै घोषणा गर्छु’ –वडाध्यक्ष कार्कीले चारै जना सुत्केरी र आफन्तको अगाडि भन्नुभयो ।

मनिकापुरमा गत वर्ष १ सय २६ जनाले स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका थिए । १५ हजार जनसंख्या रहेको मनिकापुरमा स्वास्थ्य चौकीमै गएर बच्चा जन्माउने लहर नै चलेको छ ।

अनमी सार्कीले डेलिभरी हुने बेड दुई वटा र बस्ने चार वटा बेड भइदिए सहज हुने बताउनुभयो । अझ रातिको समयमा त मनिकापुरमा अनमी सार्कीलाई आपत् नै पर्ने गर्दछ । लाइन गएको बेलामा बत्तीको व्यवस्था छैन ।

 

प्रतिक्रिया दिनुहोस्