राष्ट्रपति विवादमा तानिनुको कारण



-पुष्करलाल श्रेष्ठ

दशैंका बेलामा विकास निर्माण तथा नीति निर्माण गर्ने गतिविधिहरू प्रायः ठप्प हुने भएकाले सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूलाई नया“ समाचार खोज्न हैरान हुने गर्छ। केही ठूलो समाचार बनाउन कि त ठूलै दुर्घटना भइदिनुपर्छ कि हत्या, चोरी आदिको समाचार बनाएर काम चलाउनुपर्छ। जस्तो कि यो दशैंमा छापिएको ‘उपत्यकामा मात्र १४ जनाको दुर्घटनामा मृत्यु’को समाचार। त्यो पनि नपाए ‘दशैंका बेला झन् बढी खट्नुप¥यो’ भन्दै आफ्नै समाचार बनाएर पत्रकारहरू दशैं कटाउन बाध्य भइरहेका हुन्छन्।

तर, यो वर्ष भने पत्रकारहरूले समाचारका लागि त्यति सास्ती भोग्नुपरेन। राष्ट्रपति र प्रधानमन्त्रीको ‘दशैं–टीका’ विवादले दशैंका कारण अखबारहरू बन्द भए पनि रेडियो टेलिभिजन मात्र नभई पछिल्लो समयमा बाढी जस्तै आएका अनलाइनका पत्रकारलाई समेत ठूलै राहतको समाचार बनिदियो, कुनै मिहिनेत गरेर समाचार बनाउन र खोजिरहनै नपर्ने गरी। अझ सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि त झन् यो दशैं–टीकाले मोबाइलमा झुन्डिनका लागि नानाभाँती कुराहरू सोचिरहनै परेन।

यो वर्षको दशैँमा भने पत्रकारहरुले समाचारका लागि त्यति सास्ती भोग्नुपरेन । दशैँका कारण अखबारहरु बन्द भए पनि रेडियो टेलिभिजन मात्र नभई पछिल्लो समयमा बाढीजस्तै आएका अनलाइनका पत्रकारहरुलाई समेत राष्ट्रपति र प्रधानमन्त्रीको दशैँ–टीका विवाद ठूलै राहतको समाचार बनिदियो, कुनै मेहनत गरेर समाचार बनाउन र खोजिरहनै नपर्ने गरी ।

माक्र्सवादका हिमायती केपी ओलीले प्रधानमन्त्रीको शपथका बेला ईश्वरको नाम लिन लाज मानेको देखिए पनि सार्वजनिक सूचना नै जारी गरेर राजा–महाराजाले भन्दा बढी चार–चार दिनसम्म दशैंको टीका लगाइदिने लोभ त्याग्न नसक्दा उहाँले पनि राष्ट्रपतिले जस्तै नसोचेको आलोचना खेपिरहनुपरेको छ। कतिले त यो प्रसंगलाई जोडेर संसारकै एकमात्र हिन्दू राष्ट्रलाई अनायासै धर्मनिरपेक्ष राष्ट्र बनाएकामा महापाप लागेको सम्म भन्न भ्याए। केहीले भने कम्युनिस्टहरूको हिन्दू धर्मप्रतिको दोहोरो चरित्रका कारण पनि मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले यसरी अनावश्यक आलोचित हुनुपरेको व्याख्या गरे।

साधारणतया सुरक्षा अधिकारीले राष्ट्रपतिसमक्ष टीका लगाउनुअघि र पछि दुवैचोटि स्यालुट गर्ने चलन छ। यही कारणले सुरक्षा अधिकारीलाई स्यालुट ठोक्न सजिलो होस् भनी यसअघि राष्ट्रपतिको अगाडि राखिएको कुर्सी केही समयका लागि मात्र हटाइएको रहेछ। राष्ट्रपति कार्यालयले सुरक्षा निकायका उच्च पदाधिकारीलाई टीका लगाउन दिइएकै समयमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र नेकपाका वरिष्ठ नेता वामदेव गौतम पनि टीका लगाउन आइपुग्नुभएको रहेछ। त्यसो त उहाँहरूलाई टीका लगाउनुअघि कुर्सीको व्यवस्था गर्न खोजिएको पनि रहेछ। तर, उहाँहरू स्वयंले कुर्सीको आवश्यकता नभएको बताउनुभएपछि राष्ट्रपतिले लगाइदिनुभएको टीकाको तस्वीर सरकारी सञ्चारमाध्यमबाटै भाइरल हुँदा अनावश्यकरूपमा राष्ट्रपति विवादमा तानिन पुग्नुभयो।

टीकाको एक साताअघि मात्र शीतल निवासमै यस स्तम्भकारको चार जना अन्य वरिष्ठ पत्रकारसहित राष्ट्रपतिसँग झन्डै अढाइ घन्टा साक्षात्कार भएको थियो। अघिल्लोपटक राष्ट्रपति हुँदा र पहिले रक्षामन्त्री हुँदा पनि उहाँसँग भएका भेटको अनुभवले उहाँ यसरी आलोचित हुनुपर्ने व्यक्तित्व होइन जस्तो लाग्छ। आफूकहाँ आउने अतिथिलाई उहाँले जहिले पनि शालीन र शिष्ट भएर व्यवहार गर्ने गर्नुभएको छ। संयोग नै भन्नुपर्छ, उहाँसँगको प्रायः भेटघाटमा उहाँका बारे लेखिने समाचारमा मिडियाले सत्य–तथ्य नबुझीकनै प्रचारप्रसार गरिदिने कारणले कहिलेकाहीं उहाँ जनस्तरमै आलोचित हुने गरेको गुनासोे सुनाइरहनुहुन्थ्यो। भर्खरैकोे भेटघाटमा पनि उहाँले आफ्नी आमाको रेखदेख र इन्द्रजात्रा संस्कृतिलाई अपमान गरेको भन्दै मिडियाबाट आफूले अनावश्यक आलोचना खेप्नुपरेको दुखेसो पोख्नुभएको थियो। दुर्भाग्य नै भन्नुपर्ला, भेटेर आएको एक हप्तापछि नै फेरि त्यसरी नै उहाँ बिनाकारण विवादमा तानिन पुग्नुभयो।

हुन त आजकाल नेपाली मिडियालाई पनि हैरानी नै छ। यता आफ्नो मुलुकका प्रधानमन्त्रीले समृद्धिको कुरा गरिरहेका हुन्छन्, ठीक त्यही बेला दक्षिणका छिमेकी मुलुक भारतका प्रधानमन्त्रीले आसामको ब्र≈मपुत्र नदीमा भारतकै सबैभन्दा लामो ९ दशमलव ३ किलोमिटरको पुल बनाएर उद्घाटन गरिदिन्छन्। यो समाचार लेख्न–पढ्न भ्याएको हँदैन, फेरि उत्तरका छिमेकी मुलुक चीनका राष्ट्राध्यक्षले चीनबाट हङकङ–मकाउ–जुहाई शहर जोड्ने गरी समुद्रमाथि बनेको संसारकै सबैभन्दा लामो (५५ किलोमिटर) पुल उद्घाटन गरेर देखाइदिन्छन्। यता नेपाली मिडियालाई भने प्रधानमन्त्रीले कति दिन टीका लगाउने हुनुभो, राष्ट्रपतिले कसलाई कसरी टीका लगाइदिनुभयो भन्ने जस्ता उटपट्याङ समाचार लेख्दैमा फुर्सद छैन।

 

साधारणतया सुरक्षा अधिकारीहरुले राष्ट्रपतिसमक्ष टीका लगाउनुअघि र पछि दुवैचोटि स्यालुट गर्ने चलन छ । यही कारणले सुरक्षा अधिकारीहरुलाई स्यालुट ठोक्न सजिलो होस् भनी यसअघि राष्ट्रपतिको अगाडि राखिएको कुर्सी केही समयका लागि मात्र हटाइएको रहेछ । राष्ट्रपति कार्यालयले सुरक्षा निकायका उच्च पदाधिकारीहरुलाई टीका लगाउन दिइएकै समयमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र नेकपाका वरिष्ठ नेता वामदेव गौतम पनि टीका लगाउन आइपुग्नुभएको रहेछ । त्यसो त उहाँहरुलाई टीका लगाउनुअघि कुर्सीको व्यवस्था गर्न खोजिएको पनि रहेछ । तर, उहाँहरु स्वयंले कुर्सीको आवश्यकता नभएको बताउनुभएपछि राष्ट्रपतिले लगाइदिनुभएको टीकाको तस्वीर सरकारी सञ्चारमाध्यमबाटै भाइरल हुँदा अनावश्यकरुपमा राष्ट्रपति विवादमा तानिन पुग्नुभयो ।

 

आफ्नो पार्टीको झगडा मिलाउनै चार–चार घन्टा बैठक गरेर समय बिताउनुपर्ने प्रधानमन्त्री भएको देशका पत्रकारलाई भने प्रधानमन्त्रीले नेपाली जनताकोे हरेक घरको चुल्होमा ग्यासको पाइपलाइन जोडिदिन्छु भने पनि पत्याएर समाचार लेख्नुपर्ने, होइन–होइन अब ग्यासको पाइप होइन, बिजुलीको तार ल्याइदिन्छु भने पनि पत्याएर समाचार लेखिरहनुपर्ने ! यसरी घरी–घरी आफ्नै कुरा फेरिरहने प्रधानमन्त्रीमाथि आशंका गरेर केही कुरा लेखिहाले, ‘मिडियाले गरी खानै दिएन’ भनेर उल्टै प्रधानमन्त्रीको हप्कीदप्की खान बाध्य नेपाली मिडियालाई योभन्दा ठूलो हैरानी के होला?

चालू आर्थिक वर्षको पहिलो ३ महिनामै साढे ३ खर्ब व्यापार घाटा भइसकेको समाचार आइरहेको छ। गत भदौ महिनामा मात्र १ अर्ब ४ करोड व्यापार घाटा भएको देखिन्छ। अहिले मुलुकमा निर्यातभन्दा १६ गुणा बढी आयात भइरहेको छ। भारतसँग मात्र १ खर्ब ३७ अर्बको व्यापार घाटा भइसकेको छ। डलरको भाउले आकाश छोइसकेको छ। मुलुक यति गए–गुज्रेको अवस्थामा पुगिसक्दा पनि समृद्धिको नारा दिएर नथाक्ने हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू कहिले आफ्नो पार्टीको स्थायी समितिको नाममा, कहिले केन्द्रीय समितिको नाममा त कहिले केन्द्रीय सचिवालयको नाममा दिनकै बैठक गरेर व्यक्तिगत एवं पार्टीगत स्वार्थका लागि अनुत्पादक कुरामा घन्टौं समय खेर फालेर बसिरहेका हुन्छन्।

देश विकासका लागि रात–दिन खट्नुपर्ने नेताहरूकै हालत यस्तो भएपछि विचरा पत्रकारहरूले पनि राष्ट्रपतिको टीकालाई समाचार नबनाएर के समाचार बनाउन्। धन्न दशैंपछि एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको बिजुलीबाट चल्ने दुईवटा बस साझा यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने भएछ। जाबो दुईवटा बसलाई पनि देशका कार्यकारी प्रधानमन्त्रीसहित तीन मन्त्री तथा मेयरहरूको लावालस्करले उद्घाटन गरिदिएका कारण हो न हो बिजुलीबाट चल्ने बुलेट ट्रेनकै उद्घाटन भएजस्तो गरी समाचार बनाउन पाए।

हाम्रा मुलुकका राष्ट्राध्यक्ष राजकीय भ्रमणमा भारत वा अन्य मुलुक जाँदा कहिलेकाहीं त ती देशका मूलधारका सञ्चारमाध्यमले दिने समाचार घन्टौं लगाएर खोज्नुपर्ने हुन्छ। हामीकहाँ भने भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी जस्ता नेता आउँदा पनि अनलाइनदेखि मूलधारका सबै सञ्चारमाध्यमलाई समाचार बनाउन भ्याई–नभ्याई छ। देशमा गतिलो कुनै गतिविधि सञ्चालन नभएपछि अखबारका पाना भर्न नेपाली पत्रकारलाई विदेशका एउटा ठिक्ककै नेता आए पनि राष्ट्राध्यक्ष नै आएको जस्तो गरी समाचार बनाएर बस्नुपर्ने कस्तो बिडम्वना होला ?

देशमा उपलब्धिका कुनै समाचार लेख्न नपाएर रन्थनिएपछि नेपाली मिडिया कहिले नेकपा पार्टीको नाम जुधेर विवाद, कहिले कार्यविभाजन टुंग्याउन नेकपामा शक्तिशाली कार्यदल, कहिले फलाना पार्टीमा विवाद, कहिले ढिस्काना पार्टीका नेताहरूबीच सहमति, कहिले प्रचण्डकी श्रीमतीको उपचारका लागि नेकपा अध्यक्ष विदेशमा, कहिले फलाना नेता उपचार गरेर स्वदेश फिर्ता, कहिले प्रचण्ड दिनभरिका लागि दिल्ली प्रस्थान त कहिले प्रदेश कमिटीमा पनि भागबन्डा आदि अनुत्पादक समाचार लेखेर दिन बिताउन बाध्य छन्।

अब हुँदा–हुँदा पाठक–स्रोताहरूले कुनै दिन यस्ता समाचार पढ्ने, सुन्ने र हेर्ने दिन पनि नआउला भन्न सकिँदैन, जस्तो कि प्रधानमन्त्रीले आज बिहान रोटी खानुभयो, बेलुकीचाहिँ भातै खानुभयो। नेता प्रचण्डको पेट बढेकाले उहाँ केही समयका लागि डाइटिङमा हुनुहुन्छ। खानेकुरामा विवाद भएर हिजो नेता माधव नेपाल भोकै सुत्नुभएछ आदि। प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले खानुभएको मार्सी चामलको भात र नेकपाको चियापानमा के–के खानेकुरा छन् जस्ता समाचारले यसको संकेत गरिसकेकै छ। हामी पाठक–स्रोताहरू पनि गम्भीर कुराभन्दा यस्तै समाचार पढ्न र सुन्न पाए दंग हुने। मुलुकको अवस्था नै यस्तो छ भने अनि राष्ट्रपतिको टीका भाइरल नभए के हुन्छ त ?

प्रतिक्रिया दिनुहोस्