इथियोपियामा प्रथम महिला राष्ट्रपति



एदिस अबाबा, (एजेन्सी)
इथियोपियाको संसद्का विधायकहरूले साहले वर्क ज्युडेलाई राष्ट्रकै पहिलो महिला राष्ट्रपतिका रूपमा चुनेका छन्। पछिल्लो समयसम्म संयुक्त राष्ट्रसंघमा कार्यरत उनलाई अनुभवी कूटनीतिज्ञ मानिन्छ।

प्रधानमन्त्री अविय अहमदले ५० प्रतिशत महिला सहभागिता रहेको मन्त्रीमण्डल गठन गरेको एक सातापछि नै आलंकारिक राष्ट्रपति पदमा उनी निर्वाचित भएकी हुन्।

पदभार ग्रहण गर्ने क्रममा उनले राष्ट्रमा शान्ति कायम राख्नुको महत्व बारे बालेको स्थानीय सञ्चार माध्यमले जनाएको छ। यसअघिका राष्ट्रपति मुलातु तेसोमले अचानक राजीनामा दिएपछि संसद्ले उनलाई चुनेको हो। राष्ट्रपति साहले वर्कले सिनेगल र जिवौटीका लागि राजदूतको हंैसियतले पनि काम गरेकी थिइन्। सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा शान्ति स्थापना अभियानको अध्यक्षलगायत उनले संयुक्त राष्ट्रसंघमा थुप्रै ओहदामा बसेर पनि काम गरिसकेकी छिन्।

राष्ट्रपति बन्नु अघिसम्म उनी अफ्रिकन युनियनका लागि संयुक्त राष्ट्रसंघको प्रतिनिधि रहेकी थिइन्। इथियोपियाको संविधानअनुसार राजनीतिक र कार्यकारी अधिकार सबै प्रधानमन्त्रीमा निहित हुन्छ।

प्रतिक्रिया दिनुहोस्