सन्तानलाई कोक मात्र ख्वाउने रक्स्याहा जेलमा



पेरिस, (एजेन्सी)
फ्रान्समा कोकाकोला मात्र ख्वाएर आफ्ना तीन र चार वर्षका दुईजना छोराको दाँत नै कुहाइदिएको अभियोगमा एकजना पुरुषलाई कारागार संजाय तोकिएको छ। नाम नखुलाईका ती रक्स्याहाले आफ्ना सन्तान र पत्नीलाई समेत हिँसात्मक दुव्र्यवहार गर्ने गरेको न्यायिक सूत्रले जनाएको छ।

लिमोजेस अपराधिक अदालतले उनलाई तीन महिना लामो कैद तोकेको छ। अदालतले सन् २०१६ देखि २०१८ सम्म उनले आफ्नो पिताको उत्तरदायित्व निभाउन असफल भएको जनाएको छ। ती अस्वस्थ अखाद्य पदार्थको निरन्तर प्रयोगका कारण उनका जेठो छोराको सातवटा दाँत झरेको तथा कान्छो छोरा बोल्नै नसक्ने स्थितिमा पुगेको बताइएको छ।

ती दुवै बालकलाई अहिले बाल कल्याण गृहमा राखिएको छ। साथै अहिले तिनीहरूलाई सन्तुलित खाना ख्वाइन थालिएको छ। पीडितहरूको संरक्षण गर्ने संस्था एड एसोसियसन फ्रान्स भिक्टिम्स ८७ का प्रतिनिधि क्यारोल पापोनले पढ्न, लेख्न र गणनासमेत गर्न नसकेका ती व्यक्तिले सम्पूर्ण सरकारी सहयोग भत्ता रक्सीमा खर्चिने गरेको र परिवारका बारेमा केही पनि सोच्ने नगरेको बताएकी छन्।

उनले भनेकी छिन्– ‘उनको परिवारलाई उसले कोकबाहेक केही पनि ख्वाउन दिएको छैन। घरमा फ्रिज र ओढ्ने ब्ल्याङकेट पनि छैनन्। खेल्ने कुनै खेलौना पनि नपाएका ती बच्चाहरू म्याट्रेसमै सुत्ने गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्