सन् २०२२ सम्ममा पाकिस्तानीलाई अन्तरिक्षमा पठाउने



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानका सूचना प्रसारण मन्त्री फवाद चौधरीले सन् २०२२ मा पहिलो पाकिस्तानी अन्तरिक्षमा पुग्ने बताएका छ्न्।

चीनको सरकारी एजेन्सी चाइना मेरिटाइम सेफ्टी एडमिनिस्टेसन (सीएमएसए) र पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपार्का (एसयुपीएआरसीओ)बीच सम्झौता भएको बताउँदै मन्त्री चौधरीले यसलाई अन्तरिक्ष कार्यक्रम तथा विज्ञान प्रविधिको सफलता भएको बताए। पाकिस्तानको यो कार्यक्रमलाई भारतीय अन्तरिक्ष कार्यक्रमसँगको स्पर्धाका रूपमा लिइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा सन् २०२२ सम्ममा भारतले अन्तरिक्षमा मानव पठाउने घोषणा गरेका थिए।

पाकिस्तानको अन्तरिक्ष पुग्ने योजनालाई अक्टोबर २५ मा प्रधानमन्त्री इमरान खानको क्याबिनेटले स्विकृती दिएको छ। अन्तरिक्षमा पाकिस्तानीलाई पठाउने पाकिस्तानको योजनामा चीनको सहयोग हुनेछ। प्रधानमन्त्री इमरान खान आगामी नोभेम्बर ३ मा चीन भ्रमणमा जाँदै छन्।

पाकिस्तानको आर्थिक स्थिति अत्यन्त कमजोर मानिएको हालको स्थितिमा अन्तरिक्षमा मानव पठाउने योजनालाई महत्वाकांक्षी मानिएको छ। प्रधानमन्त्री इमरान खानले देशको आर्थिक स्थितिलाई गति प्रदान गर्न हालै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र साउदी अरेबियासँग मद्दत मागिसकेका छन्। देशलाई आर्थिक संकटबाट माथि उकास्न पाकिस्तानले चाँडै केही महत्वपूर्ण क्षेत्रमा कटौती गर्न सक्ने अनुमान गरिएको छ। यस परिस्थितिमा पाकिस्तानको प्राथमिकतामा ऋण चुक्ता गर्नुपर्नेमा अन्तरिक्ष कार्यक्रम कसरी आयो भन्नेमा धेरैलाई आश्चर्यमा पारेको छ।

सन् २०२२ मा पाकिस्तानको अन्तरिक्ष कार्यक्रमको विषयमा कायदे–ए–आजम युनिभिर्सिटीका प्राध्यापक परवेज हुदभाइले भने– ‘यस्तो गर्न खोजेको हो भने धेरै राम्रो हो। यदि पहिलो पाकिस्तानीलाई अन्तरिक्ष पठाउने हो भने यो सम्भव छ। अन्तरिक्षमा पहिलो अरब जगत्को व्यक्ति पठाइएको थियो, त्यो उसको आफ्नै कुनै क्षमता त होइन। त्यस्तै पाकिस्तानबाट पनि कोही पठाउन सकिन्छ। यो सौख अचानक कसरी आयो, यो अनुमान गर्न कठिन छ। तर यसले कुनै प्रगति देखाउँदैन।’

तर स्पेस टेक्नोलोजीका प्रोफेसर फजिल महमुदको विचार भने फरक देखिएको छ। उनी पाकिस्तानको अन्तरिक्ष कार्यक्रमप्रति आशावादी देखिन्छन्। उनले भने– ‘पाकिस्तानले अन्तरिक्षमा कदम बढाउन शुरू गरेको छ। पाकिस्तानका दुई स्याटलाइट पहिलेनै अन्तरिक्षमा छन्। विज्ञानमा लगानी देशलाई समस्याबाट मुक्त हुने राम्रो उपाय हुनसक्छ। यसले तपाईंलाई लामो समयका लागि समाधान दिन्छ। अन्य देशप्रति निर्भरता पनि कम हुँदै जान्छ। विज्ञानमा लगानी गर्नुमा कुनै समस्या छ भन्ने मलाई लाग्दैन। विज्ञानसँधै एक राम्रो लगानी क्षेत्रमा पर्छ।

प्रतिक्रिया दिनुहोस्