नेपालमै पाइन्छ रोजगारी, सरकारले देख्यो दर्जन क्षेत्रमा सम्भावना



नेपाल समाचारपत्र
काठमाडौं
अहिले चाडपर्वको बेला छ। भारत, खाडी मुुलकलगायतका विदेशी भूमिमा पसिना बगाएकाहरू घर फर्किने धेरै छन्। छोटो छुट्टी हुनेहरू काममा फर्किने चटारो पनि भइसक्यो।

सरकारले अब पाँच वर्षपछि रोजगारीका निम्ति विदेश जान नपर्ने गरी रोजगारीको दीर्घकालीन योजना बनाइरहेको छ। केही सयमअघि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले पनि नेपालमा रोजगारीको विभिन्न एक दर्जन क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख छ। मन्त्रालयका अनुसार देशभरका ९ लाख २२ हजार ४ सय ४५ उद्योग प्रतिष्ठानले हालसम्म ३४ लाख ८ हजार ७ सय ४६ जनालाई रोजगारी दिएका छन्।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा ४३ लाख कामदार विदेशिएका छन्। त्यसमा गत आवमा मात्रै ३ लाख ५२ हजार ८४ जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगारीले कूल गार्हस्थ उत्पादनमा २४ दशमलव २५ प्रतिशत योगदान गरेको छ। मन्त्रालयका अनुसार रोजगारीका लागि योग्य युवामध्ये ३० प्रतिशत अद्र्धबेरोजगार रहेका छन्। यस्तै २ दशमलव ३ प्रतिशत पूर्णरूपमा बेरोजगार रहेका छन् भने ५७ प्रतिशत कृषि क्षेत्रमा आश्रित रहेका छन्।

यस्तै बहुआयमिक गरिबी २८ दशमलव ६ प्रतिशत रहेकोमा ग्रामीण क्षेत्रमा ७८.७ प्रतिशत गरिबी रहेको छ। मन्त्रालयको तथ्यांकअनुसार अहिले कृषि तथा पशु विकास, ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रणमा रोजगारीको प्रशस्त अवसर रहेको छ। त्यस्तै शीत भण्डार निर्माण, परम्परागत र प्लास्टिक पोखरी, कृषि उपज संकलन तथा बेचबिखन केन्द्र निर्माण तथा पर्ती जग्गामा खेती प्रशस्त रोजगारीको अवसर रहेको छ।

कुलो, पैनी, बाँध, नहर निर्माण तथा मर्मत सम्भार, जलविद्युत् आयोजना र नदी नियन्त्रण क्षेत्र उच्च रोजगारी भएका क्षेत्र हुन्। वैदेशिक रोजगारीमा रहेका अदक्ष जनशक्तिका निम्ति यी क्षेत्र उपयुक्त हुने सरोकारवालाको भनाइ छ। न्यून ज्यालाका निम्ति खाडीसम्म पुग्नु्भन्दा स्वदेशकै रोजगारीमा ध्यान दिनपर्ने उनीहरूको सुझाव छ। अहिले नेपालमा नै खानेपानीको मुहान संरक्षण, पाइप बिच्छ्याउने, ट्यांकी निर्माण, धारा निर्माण, सरसफाई, शौचालय निर्माणमा समेत रोजगारीको अवसर रहेको छ।

त्यसबाहेक खालि जग्गामा फलफूलका बिरुवा रोप्ने, सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने, गैरकाष्ठजन्य उत्पादन, व्यावसायिक वन रोपण र जडिबु्टी खेतीमा समेत रोजगारीको अवसर रहेको छ। पदमार्ग निर्माण, तथा होटल रेष्टुरेन्ट व्यवसायको प्रवद्र्धन, पर्यटन मार्गमा सेड निर्माण र मर्मत सम्भारमा समेत रोजगारीको उपयुक्त अवसर रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन्। सडक यातायाततर्फ सडक निर्माण, बसपार्क निर्माण, पुलपुलेसा निर्माण र मर्मत सम्भारका क्षेत्रमा पनि रोजगारी रहेको छ।

त्यस्तै कम्प्युटर शिक्षा, खेल मैदान, कवर्ड हल निर्माण स्टेडियम आदि संरचनाको निर्माण, विद्यालय खेलकूद कार्यक्रम, पुनर्निर्माणमा सार्वजनिक र निजी भवन निर्माण, पुरातात्विक सम्पदाको पुनर्निर्माणमा समेत रोजगारीको ठूलो अवसर रहेको छ।

यस्तै पुस्तकालय, वाचनालय, जेष्ठ नागरिक ब्लक, सामुदायिक भवन तथा मर्मत सम्भार, ठूला तथा राष्ट्रिय गौरवका आयोजना, स्थानीय स्तरमा हुने निर्माण तथा मर्मत सम्भार, माटोको काम, ग्याबिल बाल बनाउने, ढुंगा काटने र नाली बनाउनसमेत जनशक्तिको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्