ओबामा र क्लिन्टनको नाममा विस्फोटक पार्सल, राष्ट्रपति ट्रम्पद्वारा एकताको आह्वान



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशिष्ट गन्तव्यहरूमा संदिग्ध पार्सल पठाइएको घटनालाई लिएर राजनीतिक हिंसाको धम्कीविरुद्ध एकताको आह्वान गरेका छन्।

पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री तथा २०१६ को राष्ट्रपति चुनावमा आफ्ना प्रतिद्वन्द्वी रहेकी हिलारी क्लिन्टनको आवास र सीएनएनको कार्यालयमा संदिग्ध पार्सल पठाइएको घटनामा ट्रम्पले उक्त आह्वान गरेका हुन्।

अमेरिकामा हुने गइरहेको मध्यावधि चुनावअगाडि ट्रम्पको उक्त बयान आएको हो। ओबामा र क्लिन्टनको घरमा पठाइएका दुई आशंकित विस्फोटक पदार्थ पत्ता लागेको र त्यसलाई प्राविधिकले उपयुक्त तरिकाले व्यवस्थापन गरेका थिए।

अमेरिकी गुप्तचर सेवाले अमेरिकी न्युज नेटवर्क सीएनएनलाई पठाइएको सामानमा पनि विस्फोटक पदार्थ फेला पारेका थिए। त्यसपछि च्यानलले न्युयोर्कमा आफ्नो टाइम वार्नर भवन खाली गराएको थियो। उक्त भवनमा सीएनएनको ब्युरो कार्यालय रहेको छ।

यसबीच प्रतिनिधिसभाका सदस्य डेबी वासरम्यान शुल्ज, उदारवादी समाजसेवी जर्ज सोरोस र क्यालिफोर्नियाका डेमोक्र्याट पार्टीकी सांसद म्याक्सिन वाटर्सलाई संदिग्ध सामान पार्सल गरिएका थिए। ती नेताहरुलाई विस्फोटक उपकरण पठाइएको घटनाको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले यस प्रकारको धम्की अमेरिकी लोकतन्त्रमाथि हमला भएको बताए।

विस्कोन्सिनमा एक चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले राजनीतिक हिंसाका कुनै पनि कृत्य वा कुनै पनि त्यस्ता धम्की अमेरिकी लोकतन्त्रमाथिको हमला भएको बताए। उनले भने– ‘सबै पक्ष शान्ति र सद्भाव बनाइराख्नका लागि एकजुट हौं।’

आगामी नोभेम्बर ६ मा अमेरिकी सांसदको तल्लो सदन प्रतिनिधिसभाका ४ सय ३६ सिट र माथिल्लो सदनका सिनेटका कुल १ सय सिटमध्ये ४६ सिटका लागि मतदान हुन गइरहेको छ।

विस्फोटक पार्सल

अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन र पूर्वराष्ट्रपति बाराक ओबामाको घरमा विस्फोटक पदार्थ राखिएका पार्सल पठाइएको अमेरिकी जासुसी एजेन्सीहरुले जानकारी दिएका थिए।
दुई दिनअगाडि चर्चित लगानीकर्ता जर्ज सोरोसको न्युयोर्कस्थित घरमा पनि पार्सल बम पठाइएको थियो। विस्फोटक पदार्थको पहिचान प्राविधिक विज्ञहरुले गरेका हुन्। अहिलेसम्म ती संदिग्ध प्याकेट कहाँबाट पठाइएका हुन् भन्ने स्पष्ट नभएको बताइएको छ।

अमेरिकी गुप्तचर निकायका अनुसार पहिलो प्याकेट अक्टोबर २३ मा हिलारी क्लिन्टनको ठेगानामा पार्सल गरिएको प्याकेट बरामद गरिएको थियो। अक्टोबर २३मै पूर्वराष्ट्रपति बाराक ओबामाको आवासको ठेगानामा रहेको दोस्रो प्याकेट प्राप्त भएको र यसलाई गुप्तचर सेवाका कर्मचारीले बीच बाटोमै पत्ता लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुवै प्याकेट गन्तव्यमा पुग्नुअगाडि नै रोकिएको थियो। ओबामा र हिलारी क्लिन्टनको घरमा तैनाथ सुरक्षाबलसम्म यो संदिग्ध सामान पुग्न पाएन। न्युयोर्कमा एफबीआईले संदिग्ध प्याकेटका विषयमा उसलाई जानकारी रहेको र उसले यसको जाँच गरिरहेको जनाएको छ।

सीएनएनका अनुसार एक संदिग्ध प्याकेट अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा पनि पठाइएको र त्यसलाई वासिङ्टन डीसीमा ज्वाइन्ट बेस बोलिङनजिकै रोकिएको थियो।

ती संदिग्ध प्याकेट सबै समान रहेको सुरक्षाबलले बताएका छन्््। ती विस्फोटक संयन्त्र पूरै विकसित नभएको तर सक्रिय रहेको बताइएको छ।

ओबामाका प्रवक्ताले यसमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। सोरोस लामो समयदेखि दक्षिणपन्थीहरूको निसानामा रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्