चीनले आकाशमा कृत्रिम चन्द्रमा राख्ने



बेइजिङ, (एजेन्सी)
चीनले आफ्नो आकाशमा हरेक रात पूर्णिमाको उज्यालो दिइरहने कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको छ। चीनको एक कम्पनीले खर्चिलो सडक बत्तीको विकल्पमा राति आकाशमा सदाबहार उज्यालो दिइरहने नक्कली चन्द्रमा आफ्नो आकाशमा पठाउने योजना सार्वजनिक गरेको हो।

चेङडुको एक निजी कम्पनी एरोस्पेसका अधिकारीले सन् २०२० सम्ममा पृथ्वीको कक्षमा एक चम्किलो भूउपग्रह पठाउने योजना बनाइरहेको जानकारी दिएको पिपल्स डेलीले जनाएको छ। यसको उज्यालोले स्ट्रिट लाइट लगाउनु आवश्यक नहुने उनीहरूले बताएका छन्। उक्त समाचार बाहिर आएपछि वैज्ञानिकबीच कौतूहलता र आशंका दुवै खालका प्रतिक्रिया आइरहेका छन्। अहिलेसम्म यस योजनाका विषयमा धेरै जानकारी सार्वजनिक भएको छैन र जति जानकारी अगाडि आएका छन्, त्यसका आधारमा कैयौं प्रश्न उठिरहेका छन्।

चेङडु एरोस्पेस साइन्स इन्स्टिच्युटको माइक्रोइलेक्ट्रोनिक सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चेनफेंगले उक्त योजनामा केही वर्षदेखि नै काम भइरहेको र अब यो अन्तिम चरणमा पुगेको बताएका छन्। सन् २०२० सम्ममा उक्त भूउपग्रह प्रक्षेपण गर्ने योजना रहेको पिपुल्स डेलीलाई उनले बताएका छन्। वुलाई उद्धृत गर्दै चाइना डेलीले सन् २०२२ सम्ममा चीन यस प्रकारका थप ती भूउपग्रह पठाउन सक्षम हुने उल्लेख गरको छ। यद्यपि कुनै पनि समाचारमा यस योजनाको पछाडि सरकारी हात रहेको वा नरहेको विषयमा बताइएको छैन।

नक्कली चन्द्रमाले सूर्यको प्रकाश परावर्तन गरी पृथ्वीमा पठाउने एउटा ऐनाले जस्तै काम गर्ने चाइना डेलीले जनाएको छ। यो पृथ्वीबाट ५ सय किलोमिटरको दूरीमा स्थापित हुनेछ। करिब यतिकै दूरीमा अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र पनि रहेको छ। यसको तुलनमा वास्तविक चन्द्रमाको दूरी पृथ्वीवाट ३ लाख ८० हजार किलोमिटर रहेको छ। यो चन्द्रमा कस्तो देखिन्छ भन्ने विषयमा समाचारमा विस्तृत विवरण दिएको छैन, तर यो कृतिम चन्द्रमाको उज्यालो १० किलोमिटरदेखि ८० किलोमिटरको बीचमा फैलिएको र वास्तविक चन्द्रमाको तुलनामा ८ गुणा बढी उज्यालो प्रदान गर्न सक्ने वुले बताएका छन्।

वुका अनुसार यो कृतिम चन्द्रमाको उज्यालो नियन्त्रण पनि गर्न सकिनेछ। चेङडु एरोस्पेसका अधिकारीका अनुसार उक्र नक्कली चन्द्रमाको उद्देश्य पैसा जोगाउनु हो। स्ट्रिट लाइटका लागि अहिले जति खर्च भइरहेको छ त्यसको तुलनामा यो चन्द्रमा सस्तो हुने अधिकारीले बताएका छन्। कृत्रिम चन्द्रमाले ५० वर्ग किलोमिटर इलाकामा उज्यालो छर्नुले प्रत्येक वर्ष बिजुलीमा उठ्ने खर्चमा १ अर्ब २० अर्ब युयान अर्थात् १७ करोड ३० लाख डलर बचाउन सकिने वुले बताएको चाइना डेलीले जनाएको छ।

योबाहेक भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिमा विद्युत् आपूर्ति ठप्प हुँदा ती क्षेत्रमा कृत्रिम चन्द्रमाले उज्यालो दिन सक्छ। ग्लास्गो युनिभर्सिटीमा स्पेस सिस्टम इन्जिनियरिङका प्रवक्ता डाक्टर मेटियो सिरओटीले यो योजनालाई एक लगानीका रूपमा हेरिने बताए। उनले भने– ‘रातिको समय बिजुली अत्यधिक खर्च हुन्छ। यस्तोमा यदि कुनै वस्तु १५ वर्षसम्म एकमुस्ट खर्चमा निःशुल्क बिजुली दिन्छ भने यो आगामी दिनका लागि अत्यन्त सस्तो हुनेछ।’ वैज्ञानिकरूपमा यस्तो गर्न सम्भव भएको पनि डाक्टर सिरिओटीले बताए। यसले राति सक्रिय हुने जीवजन्तुलाई असर पार्नेमा पनि धेरैले चिन्ता व्यक्त गरेका छन्।

यसअघि सन् १९९३ मा रुसका वैज्ञानिकले २० मिटर फराकिलो एक रिफ्लेक्टर मिरर स्पेस स्टेसन पठाएका थिए। उक्त रिफ्लेक्टर २ सयदेखि ४ सय २० किलोमिटरको कक्षमा स्थापित गरिएको थियो। नाम्या २ नामक स्याटलाइट पृथ्वीको ५ किलोमिटरको व्यासमा उज्यालो प्रदान गर्न पठाइएको थियो, तर यो स्याटलाइट जलेर नष्ट भयो। त्यसपछि ९० को दशकको अन्त्यमा नाम्याको एक ठूलो मोडल बनाउने प्रयास पनि असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्