बल्ल लागू हुने भयो मन्ट्रियल महासन्धि, नेपाली हवाई यात्रुले पनि विदेशीसरह क्षतिपूर्ति पाउँदै



दीपेन्द्र थापा, काठमाडौं
नेपाली हवाई यात्रुले पनि अन्य मुलुकका यात्रु सोसरह हवाई बीमा रकम पाउने भएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् १९९९ देखि लागू गरेको मन्ट्रियल महासन्धि नेपालमा बल्ल आगामी मंसिर २९ देखि लागू हुने भएको हो।

यससँगै नेपाली हवाई यात्रुले विदेशी हवाई यात्रुसरह हवाई दुर्घटना भएको खण्डमा समान बीमा रकम पाउने भएका हुन्। नेपाली टोलीले गत असोज ३० (अक्टोबर १६) मात्र आइकाओमा संशोधनसहितको नयाँ भएको महासन्धि दर्ता गराएको थियो। दर्ता भएको ६० दिनपछि सो महासन्धि औपचारिक रूपमा लागू हुने प्रावधान छ।

अब आगामी २९ मंसिरदेखि सो महासन्धि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो। पोखरेलसहित ४ जना नेपाली टोली आईकाओको मुख्यालय क्यानडाको मोन्ट्रियल पुगेर महासन्धि अनुमोदन प्रस्ताव पेश गरेको थियो। प्रतिनिधिसभाको गत भदौ ७ गतेको बैठकले मन्ट्रियल महासन्धिबारे पारित गरेसँगै नेपालले यसबारेको प्रकृया अघि बढाएको हो।

संसद्ले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि (मन्ट्रियल महासन्धि, १९९९)मा सम्मेलन हुने प्रस्ताव पारित गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पेश गर्नुभएको प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। महासन्धि अनुमोदन भएसँगै हवाई यात्रीको मृत्यू वा शारीरिक चोटपटक भएका यात्रीका परिवारले बीमाबापत करिब १ लाख ५७ हजार २ सय ९ अमेरिकी डलर पाउनेछन्। अमेरिकी डलरको पछिल्लो मूल्यसँग तुलना गर्दा सो रकम १ करोड ८५ लाख ५० हजार ६ सय ६२ रुपियाँ हाराहारीको हो।

यो व्यवस्था लागू नभएकाले हाल नेपाली यात्रीले २० हजार अमेरिकी डलर मात्र पाउँदै आएका छन्। अब मन्ट्रियल महासन्धि लागू हुने भएसँगै नेपालमा उडान गर्ने अन्य देशका वायुसेवा कम्पनीले पनि महासन्धिबमोजिमनै नेपाल आउने प्रत्येक यात्रुको दायित्व तय गर्नुपर्ने पर्यटन मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थासँगै कार्गो नोक्सानी, क्षति वा विलम्ब भएका यसअघि प्रतिकिलोग्राम २० डलर रहेकोमा अब भने २६ दशमलव ४१ अमेरिकन डलर क्षतिपूर्ति पाउने छन्।

तोकिएको समयमा उडान नभएर यात्रा विलम्ब भएमा ६ हजार ५ सय २५ डलर र व्यागेजको नोक्सानी क्षति वा भएमा १ हजार ५ सय ७२ डलर क्षति बीमा पाउने पनि महासन्धिले व्यवस्था गरेको छ। आईकाओको सदस्य रहेका १ सय ९१ राष्ट्रमध्ये १ सय ३१ राष्ट्र यो महासन्धिको सदस्य रहेका छन्। छिमेकी मुलुकहरू चीन भारतसँगै सार्क राष्ट्रका पाकिस्तान र माल्दिभ्स मात्र यसअघि महासन्धिको पक्ष राष्ट्र बनेका छन्। यो महासन्धि आन्तरिक उडानमा भने लागू नहुने मन्त्रालयले प्रष्ट्याएको छ।

अन्तर्राष्ट्रिय हवाई परिवहनमा यात्रीहरूको हित संरक्षणको सुनिश्चितताका लागि मन्ट्रियल महासन्धि, सन् १९९९ मे २८ मा जारी भएको थियो। सो महासन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको थियो। भने सन् २००९ मा पुनरावलोकन गरिएको थियो। नेपाल महासन्धिको सदस्य राष्ट्र नबन्दा नेपाली यात्रु बीमाबापत ज्यादै न्यून रकम मात्र पाउने अवस्था थियो।

महासन्धि अनुमोदन गर्न गत साउन २४ गते संसद्मा प्रस्ताव दर्ता भएको थियो। मन्त्रिपरिषद्ले करिब २ महिनाअगाडि ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ मा नेपाल सम्मिलित हुने निर्णय गरिसकेको छ। आइकाओले मन्ट्रियल महासन्धि जारी गरेको १८ वर्षपछि नेपालले सो महासन्धि अनुमोदनको प्रक्रिया अघि बढाएको थियो।

सन् १९२९ अक्टाबर १२ मा जारी भएको सो सन्धिको संशोधित रूप ‘हेग प्रोटोकल’ मा नेपालले सन् १९५५ सेप्टेम्बर १८ मा हस्ताक्षर गरेको थियो। मन्ट्रियल महासन्धिलाई समयसापेक्ष बनाउन आईकाओले प्रत्येक ५÷५ वर्षमा दायित्व सीमा पुनरावलोकन गर्दै आएको छ। महासन्धिको नेपाल पक्ष राष्ट्र हुँदा नेपालले थप आर्थिक दायित्व वहन गर्नु नपर्ने, नेपाल भित्रिने पर्यटक तथा यात्रीको मनोबल उच्च हुने, हवाई उडान दायित्वलाई अझ बढी सुनिश्चित गर्ने वातावरण बन्नेछ।

प्रतिक्रिया दिनुहोस्