राजधानीको नदी सफा बनाउन फोहोर प्रशोधन केन्द्र



सुरेश तामाङ, काठमाडौं
देशको केन्द्रीय राजधानी काठमाडौंमा बहने खोलानाला मानव निर्मित संरचनाको कारण जोखिममा परेका छन्। खोलानाला प्रदूषित हुँदा वातावरणमा समेत नकारात्मक असर गरेको छ। राजधानीका मुख्य नदी र खोलाहरू दिनप्रतिदिन प्रदूषित बन्दै गएपछि सफा बनाउन पनि केही वर्षयता निरन्तर चल्दै आएको छ।

नदी किनाराका स्थानीयवासीको बेवास्ता र मानव निर्मित संरचनाका कारण प्रदूषित बनेका नदी तथा खोलामा अहिले पानीभन्दा पनि फोहोर मात्र देखिने गरेको छ।

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा, नख्खु देशको केन्द्रीय राजधानीअन्तर्गतका मुख्य नदी तथा खोलानाला हुन्। यी नदी तथा खोलानालाको नाम लिनेबित्तिकै स्वच्छ पानी सलल बगेको याद आउँछ। तर यहाँका यी नदी तथा खोलानालाको कथा भिन्नै छ।

नदी छेउ पुगेर पानीसँग खेल्ने, रमाउनेको कुरै छोडौं, छेउसम्म पर्ने आँट गर्दैनन् जोकोही पनि। नदी तथा खोलामा बढेको प्रदूषणकै कारण यस्तो परिणाम भोग्नुपरेको हो।

नदी तथा खोला छेउमै सडकको वैकल्पिक व्यवस्था गरेकैले पनि राजधानीबासी डुङडुङ्ती गनाउने गन्धलाई बेवास्ता गर्दै यात्रा गर्न बाध्य छन्। बढ्दो शहरीकरणसँगैको चापले यी नदी तथा खोलानालाको हविगत यस्तो बनेको जानकारहरू बताउँछन्। घर, कार्यालय, होटल, कलकारखानालगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सिधै यी नदी तथा खोलानाला मिसाउनु यसको मुख्य कारण हो।

यसैलाई मध्यनजर गर्दै आयोजना कार्यान्वयन निर्देशनालयले त्यी फोहोर अप्रशोधित पानीलाई सीधै नदी तथा खोला नालामा नमिसाई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि मात्रै नदी तथा खोलानालामा छोड्ने व्यवस्था मिलाउन लागेको छ।

यसका लागि निर्देशनालयले उपत्यकाको तीन स्थानमा पानी प्रशोधन केन्द्र निर्माण गर्ने कामसमेत थालिसकेको छ। भक्तपुरको सल्लाघारी, कोड्कु र धोबिघाटमा फोहार पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले बताउनुभयो।

‘फोहोर पानी प्रशोधन गर्दै नदी तथा खोलामा मिसाउने तयारीका साथ प्रशोधन केन्द्र निर्माण हुँदै छ,’ उहाँले भन्नुभयो– ‘ठेक्कापट्टा भएर पनि ठेकेदार पक्ष काममा लागिसकेको छ।’
उहाँका अनुसार तीन स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बनाउन चाइनिज कम्पनी सांघाई सफबोन वाटर सर्भिसलाई ठेक्का दिइसकेको छ। कम्पनीले दशैंलगत्तै निर्माणको काम थाल्ने निर्देशनालयका प्रवक्ता ढकालले बताउनुभयो। निर्माण थालेको २ वर्षभित्र काम सम्पन्न गर्ने योजना रहेको उहाँको दाबी छ।

मेलम्चीबाट पानीको आपूर्ति भएपछि फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राख्दै फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम थालेको हो।

फोहोर प्रशोधन केन्द्रको निर्माणमार्फत नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ वातावरणको प्रत्याभूति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुनेलगायतका फाइदाहरू लिन पाउने प्रवक्ता ढकालले दाबी गर्नुभयो।

गुह्येश्वरस्थित फोहोर प्रशोधन केन्द्रलाई थप अभिवृद्धि गर्दै भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोबिघाटमा नयाँ र आधुनिक केन्द्रका रूपमा निर्माण गरी उपत्यकालाई सफा, सुन्दर र गन्धरहितका बनाउन काम थालिसकेको छ। कुल ६ करोड ८० लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना निर्देशनालयले लिएको छ।

निर्माणपछि गुह्येश्वरीमा ३२ करोड लिटर, सल्लाघारीमा १४ करोड लिटर, बालकुमारीमा १७ करोड र धोबिघाटमा ३७ करोड लिटर पानी दैनिक प्रशोधन गर्नेछ। गुह्येश्वरी केन्द्रलाई थप अभिवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको निर्देशनालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्