पूर्वाधारको अभाव हुँदाहुँदै पनि चार पांग्रे सवारीप्रति लगाव बढिरहेको छ



सवारी साधनलाई कतिपयले विलासिता र अनुत्पादक क्षेत्रका रूपमा परिभाषित गर्ने गरेको भए पनि समाजको विकास क्रमसँगै सवारी साधन विलासिता र अनुत्पादक होइन मानिसको दैनिकीसँग जोडिएको आवश्यकता बन्दै गएको छ। पछिल्लो समयमा नेपालमा अटो मोबाइल्स क्षेत्रको व्यवसाय के छ, यस क्षेत्रको अवसर र चुनौती के छ भन्नेलगायत समसामयिक विषयमा नेपालका लागि भारतीय गाडी उत्पादक कम्पनी टाटा मोर्टसको आधिकारिक बिक्रेता एवम् अटोमोबाइल्स क्षेत्रमा नेपालकै अग्रणी कम्पनीमध्येको एक सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजनबाबु श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानी ः

पछिल्लो समयमा नेपालको गाडी बजारको अवस्था यहाँ कस्तो पाउनु भएको छ ?
अहिले तुलनात्मक रूपमा व्यावसायिक सवारी साधनको बजार कमजोर छ। गत वर्षको तुलनामा २८ देखि ३० प्रतिशतले कमी आएको छ। तर, यात्रुबाहक सवारी साधनमा भने बजार केही सकारात्मक नै छ। जब माग नै कम छ भने आयात कम हुने नै भयो।

समग्रमा भन्नुपर्दा केही समययता सबैखाले सवारी साधनको आयात तुलनात्मक रूपमा पहिलेको भन्दा कम भएको देखिएको छ। सरकारको नीतिका कारण व्यावसायिक सवारी साधनका उपभोक्ताहरू दुविधामा छन्। पहिले अस्तित्वमा रहेका यातायात समितिहरू भंग भएपछि निजी कम्पनी दर्ता गरेर चलाउने र बीमालगायत विभिन्न कुराले उनीहरू दुविधामा परेको मैले पाएको छु।

सरकारले यसबारेमा ठोस नीति ल्याइदियो भने व्यावसायिक सवारी साधनको बजार राम्रो हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको बैंक तथा वित्तीय संस्थामार्फत् प्रवाह हुने सवारी कर्जामा राष्ट्र बैंकले अवलम्बन गरेको नीतिका कारण पनि केही समस्या सिर्जना भएको छ। बैंकिङ कारोबार गर्दा सहज कर्जाको समस्या देखिएपछि सवारी आयातमा त्यसको प्रत्यक्ष असर देखिएको हामीले अनुभव गरेका छौं।

त्यसबाहेक नारायाणघाट–मुग्लिन सडकखण्ड बेला–बेला अवरोध हुँदा पनि यसको बजारमा कमी आएको छ। बाटो नराम्रो हुने बित्तिकै सवारी साधन बिग्रिने र मर्मत खर्च बढ्न जान्छ। सवारीसाधन राम्रोसँग चल्न नपाएपछि यसमा गरिने लगानी पनि स्वतः कम हुने नै भयो। तर, अब सडक राम्रो बन्ने क्रम चलिरहेको छ। विगतको घाटा पनि पूर्ति गर्नुपर्ने छ। यसकारण, समग्रमा सबै खालका सवारी साधनको बजार बढ्नेमा हामी आशावादी छौं।

अहिले हरेक मानिसका लागि गाडी आवश्यकता नै भइसक्यो। जसरी पनि गाडी लिनुपर्ने सोचको विकास भएको छ। त्यसैले मानिसहरू ऋण लिएर हुन्छ वा अन्य खर्च कटाएर भए पनि गाडी लिने गरेका छन्।

यहाँको बुझाइमा ग्राहकको इच्छा अनुसारका सवारी साधन नेपाली बजारमा उपलब्ध छ कि छैनन् ?

हामीले टाटाको कुरा गर्दा निकै विविधता पाउन सक्छौं। सबै सेग्मेन्टका गाडीमा फरक–फरक खालका विशेषता भएका सवारी अहिले बजारमा सजिलै उपलब्ध छन्। ग्राहकको माग र चाहनाबमोजिमका सवारी दिन सक्ने अवस्था छ। हामीले उपलब्ध पनि गराइरहेका छौ। प्राविधिक हिसाबले पनि नेपाली बजारमा सबै खालका सवारी उपलब्ध छन्।

चारपांग्रे गाडीमा एक हजार सीसी भन्दामाथि बढी कर लगाउने सरकारले नीतिले त्यस क्षेत्रमा कस्तो असर पारेको छ ?
ठूलो सीसी भएका गाडीमा असर परेको भए पनि सानो सीसीका सवारीमा असर परेको छैन। हामीसँग १२ सय सीसीभन्दा माथिको गाडी पनि छन्। अहिले हरेक मानिसका लागि गाडी आवश्यता नै भइसक्यो। जसरी पनि गाडी लिनुपर्ने सोचको विकास भएको छ। त्यसैले मानिसहरू ऋण लिएर हुन्छ, वा अन्य खर्च कटाएर भए पनि गाडी लिने गरेका छन्। धुलो धुवाँलगायतका कारणले मानिस मोटरसाइकलमा हिँड्न रुचाउँदैनन्। मोटरसाइकलमा यात्रा गर्नेहरू सम्भव भएसम्म कारमा अपग्रेड हुन खोजिरहेको देखिन्छ।

सरकारले पर्याप्त पूर्वाधारको विकास गर्दै चार्जिङ स्टेसन निर्माण गरिदिएको खण्डमा विद्युतीय सवारीको प्रयोगमा तीव्रता आउन सक्छ। विद्युतीय सवारीको प्रयोग भएको खण्डमा इन्धन आयातबाट चुलिएको व्यापारघाटामा कमी आउँछ। साथसाथै वातावरण पनि संरक्षण र राम्रो भएर जान्छ। सरकारी तवरबाट विद्युतीय सवारीको विस्तारमा आवश्यक योजना ल्याएको खण्डमा नेपालजस्तो राष्ट्रले ठूलो लाभ लिन सक्छ।

 

यातायात क्षेत्रमा मानिसको रुची बढ्दै गएको स्थितिमा सवारीको चापअनुसारको सडकलगायत अन्य पूर्वाधारको अवस्था कस्तो पाउनु भएको छ ?
नेपालमा जनसंख्या र सवारी साधनको संख्याको अनुपातमा ज्यादै कमजोर पूर्वाधार रहेको छ। काठमाडौंमै हेर्ने हो भने अहिले पनि सडकको अवस्था निकै नाजुक छ। सडक विस्तार र प्रभावकारी ट्राफिक व्यवस्थापन नभएका कारणले पनि थप समस्या निम्तिएको हो।

युरोपमा साना–साना बाटोमा पनि कति धेरै सवारी गुडिरहेका हुन्छन्। यो सबै व्यवस्थापनका कराणले भएको हो। राम्रो सडक, सडकमा हुने सबैखाले पूर्वाधारको व्यवस्था गर्ने हो भने सवारी साधन धेरै नै सहज हुन्छ, अर्को कुरा जुनसुकै सवारीका चालकको अनुशासन पनि सवारी व्यवस्थापनमा निर्भर हुन्छ। पूर्वाधार, ट्राफिक व्यवस्थापन र चालकको अनुशासन यातायात क्षेत्रका महत्वपूर्ण पक्ष हुन्।

 

अहिले चाडपर्वको सिजन पनि छ, दशैं तिहारको बेला अटोमोबाइल्स क्षेत्रको व्यवसाय कसरी अगाडि बढेको छ ?
सबैतिर जस्तै चाडपर्व नजिकिँदै गर्दा अटोमोबाइल्स क्षेत्रको व्यापारमा पनि चहल–पहल भइरहेको छ, विभिन्न कम्पनीहरूले अकार्षक योजनासहित बजारमा प्रतिस्पर्धा गर्न आएका छन्। दशैंको शुरूवातसँगै भेहिकलको मार्केट बढ्दै गएको छ, अचेल सवारी साधनको दशैंमा धेरै व्यापार हुने गरेको छ। विगतका वर्षको तुलनामा हिजोआज अटो मोबाइल्सको बजार क्रमशः विस्तारै अगाडि बढिरहेको छ।ं

पूर्वाधारको अभाव हुँदाहुँदै पनि मानिसको चार पांग्रे सवारी लगाव बढिरहेको छ। सडकको धुलोबाट बच्न, सुरक्षित यात्राको लागि पनि यस्ता सवारी साधन प्रयोगकर्ताले अन्य क्षेत्रमा खर्च कटाएर खरिद गर्ने परिपाटी बढेर गएको छ। बजारको विस्तारसँगै हामीलाई चुनौती थपिएका छन्, सरकारले यस क्षेत्रमा भारी मात्रमा कर लगाएका कारण केही चुनौती देखिएका हुन्।

हालै सम्पन्न नाडा अटो शो २०१८ लाई यहाँ कसरी हेर्नु भएको छ ?
नाडा शो अत्यन्तै सकरात्मक रह्यो, सरकारले सीसीका आधारमा सवारी साधनको मूल्य निर्भारण गरेको भए पनि ग्राहकको सवारीप्रतिको आकर्षण घटेको नभएर बढेको नै हामीले पाएका छौं।

नाडा शोका क्रममा धेरै सवारी साधन बुक भए, सवारी साधनप्रति आकर्षण भएका व्यक्तिको सहभागिता उल्लेख्य रहेको हामीले पायौं। समग्रमा नाडा शोमार्फत् प्रयोगकर्ता र कम्पनीबीच नयाँ उत्पादन र प्रविधिका बारेमा छलफल गर्ने जानकारी दिन सहज हुँदै आएको छ।

 

त्यसो त सिप्रदी ट्रेडिङ अटो मोबाइल्स क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको छ। तथापी, यहाँ आफैंले सिप्रदी ट्रेडिङलाई कसरी मूल्यांकन गर्नुहुन्छ, कम्पनीको समग्र अवस्था कस्तो रहेको छ ?
अन्य देशको तुलनामा नेपाल सानो बजार भएर पनि हाम्रो कम्पनीले यहाँ राम्रो स्थानमा रहेर व्यवसाय गरिरहेको अवस्था छ। भविष्यमा आउने टाटा कम्पनीको उत्पादनले हाम्रो कम्पनीको स्थान अझ उच्च पार्ने विश्वास हामीले लिएका छौं।

टाटाले डिजेल गाडीलाई प्राथमिकतामा दिएर उत्पादन गर्ने गरेको छ। कम्पनीले वर्कसप, शोरुम, स्पेयर्सलगायतका क्षेत्रमा सेवा विस्तार गरिरहेको छ। नेपालभर ५६ वटा सिप्रदीले आफ्नै अत्याधुनिक वर्कसपमार्फत सेवा प्रदान गरिरहेको छ। नेपालको सबै क्षेत्र तथा प्रमुख शहरमा सिप्रदीको आधिकारिक डिलरहरू स्थापना गरी सेवा प्रदान गरिरहेका छौं।

विभिन्न कम्पनीका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ, प्रतिस्पर्धाका बीचमा पनि प्यासेन्जर भेहिकलमा हामी तेस्रो स्थानमा रहेका छौैं। भारतमा टाटाको माग बढेर गएसँगै नेपालमा पनि यसको माग बढेको छ। हाम्रो सेवाबाट प्रयोगकर्ता एकदमै खुशी भएको पाएका छौं। सिप्रदीको मुख्य उद्देश्य नै ग्राहककोे सन्तुष्टि हो।ग्राहकका लागि सेवा पु¥याउनको लागि हामीले माबाइल भ्यानमार्फत् पनि मर्मत सेवा दिँदै आएका छौं।

 

अहिले विद्युतीय सवारी साधनको चर्चा विश्वभरी नै चलेको छ। नेपालको सन्दर्भमा यहाँले विद्युतीय सवारी साधनको बजार कस्तो देख्नु भएको छ, तपाईंको कम्पनीको यस विषया आगामी योजना के छ ?

नेपाल जलस्रोतको भण्डार रहेको देश हो भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो। नेपालमा जलविद्युत्को पर्याप्त सम्भावन हुने रहेकै कारण नेपालको चुलिँदो व्यापारघाटामा कमी ल्याउनको लागि विद्युतीय सवारी साधनले ठूलो भूमिका निर्वाह गर्न सक्छन्। यसतर्फ सरकारले गम्भीर भएर ध्यान दिन जरुरी रहेको देखिन्छ।

सरकारले पर्याप्त पूर्वाधारको विकास गर्दै चार्जिङ स्टेसन निर्माण गरिदिएको खण्डमा विद्युतीय सवारीको प्रयोगमा तीव्रता आउन सक्छ। विद्युतीय सवारीको प्रयोग भएको खण्डमा इन्धन आयातबाट चुलिएको व्यापारघाटामा कमी आउँछ। साथसाथै वातावरण पनि संरक्षण र राम्रो भएर जान्छ। सरकारी तवरबाट विद्युतीय सवारीको विस्तारमा आवश्यक योजना ल्याएको खण्डमा नेपालजस्तो राष्ट्रले ठूलो लाभ लिन सक्छ।

टाटा कम्पनीले अहिले इलेक्ट्रिक बसको परीक्षण गरिरहेको छ। टाटाले विद्युतीय सवारीको लागि विशेष रूपमा काम गरिरहेको छ। विद्युतीय सवारी महंँगो भए पनि वातावरणमैत्री रहेको छ। विद्युतीय सवारीमा नेपालको भविष्य उज्जवल रहेको छ।

 

टाटाको प्लान्ट नेपालमा विस्तार गर्ने सन्दर्भमा कम्पनीको योजना के छ ?

हामी अध्ययन अनुसान्धानकै क्रममा रहेका छौं। सरकारले लिएको आर्थिक विकासको लक्ष्य पूरा गर्नको लागि देशमा नै उद्योगधन्दा खुल्नैपर्छ, सरकारले यसको लागि सहज वातावरण बनाउनु प¥यो। यस सम्बन्धमा सरकारले सहजीकरण गर्ने किसिमबाट कुनै ठोस नीति अगाडि सारेको अवस्था छैन। यसकारण कम्पनीले नेपालमै प्लान्ट राख्ने सम्बन्धमा तत्काल कुनै योजना बनाएको छैन। सरकारले यसरी भित्रिने प्लान्टलाई सहजीकरण गरेको खण्डमा नेपालमा प्लान्ट स्थापना गर्नको लागि टाटा सकरात्मक रहेको पाएका छौं।

प्रतिक्रिया दिनुहोस्