समयमै उपचार गर्दा बाथ रोगीको आयु बढ्न सक्छ



नेपाल समाचारपत्र, काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल ¥याली कार्यक्रम गरेर मनाएको छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापीरुपमा मनाइन्छ । नर्भिकको बाथरोग विभागले विशेष मोटरसाइकल ¥याली कार्यक्रम आयोजना गरी जनचेतना अभिबृद्धि गर्ने कार्य गरेको हो ।

बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नर्भिक प्राङ्गगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो वानेश्वर, ववरमहल हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित सहभागिता रहेकोे थियो ।

नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ ।

धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए ।

बाथरोग सम्बन्धीे जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।

यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ । यसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्दछ ।

प्रतिक्रिया दिनुहोस्